|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म फूलमाला र टीका ग्रहण नगर्ने र मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरे। गत जेठ १६ मा शपथ ग्रहण गरेर कार्यभार सम्हाल्दै गर्दा उनले यस्तो घोषणा गरेका थिए। 

८५ दिन बित्यो तर उनले अझै टीका माला लगाउन पाएका छैनन्। कारण उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई लिएर उनी पटकपटक ‘ल्याण्डफिल साइट’ पुगे। स्थानीय बासिन्दासँग छलफल गरे। पटकपटक सम्झौता गरे पनि समस्या समाधान हुन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौतीको चाङ देखिएसँगै मेयर साहले आफ्नो कार्यकालमा टीका माला लगाउन पाउलान् कि नपाउलान् चासोको विषय बनेको छ।  

महानगरपालिकाको जिम्मेवारी सम्हालेसँगै उनले फुटपाथ हटाउने, कल सेन्टर स्थापना, पार्किङ व्यवस्थापनको प्रयास, पूर्वाधार एम्बुलेन्स सञ्चालन लगायतका काम भने गरेका छन्।  

त्यसो त फोहोरको समस्या बालेन आएपछिको होइन। वर्षौँदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको थिएन। स्थानीय  निर्वाचनको अन्तिम मत परिणाम आउनुअघि नै उनी फोहोर विसर्जन केन्द्र सिसडोल, बञ्चरेडाँडा पुगेका थिए तर ८५ दिनसम्म पनि फोहोर व्यवस्थापन हुन सकेको छैन। 

यतिवेला काठमाडौं उपत्यकाका सडक, चोक–चोकमा फोहोरको डंगुर थुप्रिएको छ। नुवाकोट सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर फ्याँक्न नदिएसँगै उपत्यकामा फोहोर थुप्रिएको हो। स्थानीयको आन्दोलन, सडकको अवस्था, फोहोर फ्याँक्ने ठाउँ अभावका कारण यसअघि पनि फोहोर व्यवस्थापनमा समस्या देखिने गरेको थियो। यसपटक निर्वाचनको समयभन्दा अगाडि अर्थात् करिब एक महिनादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन। यसले गर्दा उपत्यका दुर्गन्धित भइसकेको छ।

लामो समयदेखि काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको चुनौती देखिएको छ। तथापि उपत्यकाको फोहोर व्यवस्थापनमा मेयर बालेनले चासो नदेखाएका भने होइनन्। स्वतन्त्रबाट निर्वाचित मेयर साहले सो समस्यालाई पहिलो चरणमा व्यवस्थापन गर्नका लागि निकै प्रयास गरेका छन्। उनी विभिन्न राजनीतिक दलका शीर्ष नेता, प्रधानसेनापति, शहरी विकासमन्त्री लगायतसँग भेटघाट गरिरहेका छन् तर कुनै निकास निस्किएको छैन।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकाको फोहेर धमाधम ल्यान्डफिल साइटमा लगिएको छ। दैनिक ३ सय टिप  फोहोर बञ्चरेडाँडा पुर्‍याइएको काठमाडौँ महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्। लामो समयदेखि समस्या आएको फोहोर केही दिनदेखि निरन्तर ल्यान्डफिल साइट लगिएको छ। 

राजनीतिक दलको असहयोग?

लामो समयदेखि स्थानीयले  फोहोर विसर्जन गर्न  दिएका छैनन्।  विभिन्न बहानामा  फोहोर बोकेका गाडी सडकमै अलपत्र परे। फोहोर व्यवस्थापनका लागि कुनै राजनीतिक दलका  नेता तथा कार्यकर्ताले पहल गरेनन्। उपत्यकामा विकराल बनेको फाेहोर व्यवस्थापन गर्न बालेन एक्लैले प्रयास गर्दै आएका छन्। 

स्थानीय बासिन्दाले अवरोध गरेको भन्ने तर महानगरपालिकालाई चेतावनी स्वरूप आएको पत्रमा मुख्य राजनीतिक दलको हस्ताक्षर गरिएको पत्र आउने गरेको महानगरपालिकाले जनाएको छ। मेयर बालेनले समेत राजनीतिक दलले काम गर्न सहयोग नगरेको संकेत आफ्नो सामाजिक सञ्जालमार्फत व्यक्त गरेका थिए। 

यसरी हेर्दा राजनीतिक दलले असहयोग गरेको देखिन्छ। त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर साथै काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा नगरपालिकाले  फाहोर  सोही स्थानमा व्यवस्थापन गर्दै आएका छन् तर हाल देखिएको समस्यामा कसैले चासो देखाएका छैनन्। स्वतन्त्र जनप्रतिनिधिले केही गर्न सक्दैन भन्ने पार्नका लागि राजनीतिक दलले सहयोग नगरेको जानकारहरु बताउँछन्।

यी हुन् बालेनका मुख्य काम 

काठमाडौ महानगरपालिकाभित्र अन्डरग्राउण्डमा सञ्चालन गरिएक पसल लगायतका संरचना खाली गराउन थालेको छ। सोमबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको नेतृत्वमा सो संरचना हटाइयो।

मेयर साह निर्वाचित भएर आएसँगै नगर कार्यपालिकाको पहिलो बैठकमै पार्किङ व्यवस्थापन गर्ने बताएका थिए। सोही अनुसार कम्पलेक्स, मलको पार्किङलाई खाली गरी व्यवस्थित गर्न लागिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

नयाँ बानेश्वरबाट सो कार्यको सुरुवात गरिएको छ। उपत्यकामा देखिएको सवारी जाम र पार्किङको समस्या समाधान गर्ने उदेश्यले अन्डर ग्राउन्ड खाली गरिएको महानगरपालिकाले जनाएको छ। शहरमा सवारी पार्क गर्ने ठाउँ नहुँदा सडक पेटीमा पार्किङ गर्ने गरिन्थ्यो।  

त्यसैगरी काठमाडौँ महानगरपालिकामा जनताको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरेको थियो। सो कल सेन्टरमा महानगरपालिका सम्बन्धी गुनासो आए तत्काल सम्बोधन गर्ने तयारी गरिएको थियो। 

त्यसैगरी महानगर क्षेत्रभित्र देखिएका सडकका खाल्डाखुल्डी पुर्नका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइयो। यसले महानगर क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्दै आएको छ। महानगरका पुरानो गाडी मर्मत गरी एम्बुलेन्स बनाई काम गर्दै आएको महानगरपालिका पूर्वाधार विभागीय प्रमुख रामबहादुर थापाले जानकारी दिए। महानगरको कल सेन्टरमार्फत तथा आफैँले फिल्डमा देखेको समस्या तत्काल समाधान गर्दै आएको उनको भनाइ छ। 

त्यसैगरी महानगरपालिकाले सार्वजनिक जग्गामा नक्सा पासबिना नर्भिक अस्पतालले बनाएको संरचना हटाउने लगायतका विषयमा काम गरेको छ। मेयर बालेनले सडकपेटीमा रहेका फुटपाथ व्यवसाय हटाउने, सार्वजनिक जग्गा संरक्षण गर्ने लगायतका काम गरिसकेका छन्। काठमाडौँ महानगरपालिकामा मेयर बालेन आएसँगै धेरै परिवर्तनका काम भएको मेयर बालेनका स्वकीय सचिव भूपदेव साहले बताए। 

यति नै काम भयो भन्न सकिन्न तर महानगरपालिकाले यो ८५ दिनमा धेरै नयाँ कामको सुरुवात गरेको छ। महानगरपालिकाले बनाएको नीति कार्यक्रमअनुसार काम गर्दै आएको  उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.