|

बैतडी : सुर्नया गाउँपालिका-३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ।  

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। 

शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी, क्याप्टेन नवराज फुँयालको नेतृत्वमा बम डिस्पोजल टोली खटिएको र शंकास्पद वस्तु डिस्पोजल गर्ने तयारी गरिरहेको छ।

यसअघि मंगलबार बिहान दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको  सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएका थिए। 

ती शंकास्पद वस्तुलाई सेनाको टोलीले नै निष्क्रिय पारेको थियो। निष्क्रिय  पारिएका शंकास्पद वस्तु बम नरहेको सेनाले जनाएको छ। 

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ।  बन्दका कारण बैतडीमा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्थामा पनि यसको प्रभाव परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.