जननायक बी.पी. कोइरालाको अवसानपछि नेपाली कांग्रेसले कठघरमा उभिनु पर्ने धेरै कारण रहेका छन्। बीपीको विरासत बिर्सँदा र त्यसलाई समूल समाप्त पार्न खोज्दा जनताले कांग्रेसलाई कठघरामा उभ्याउनु पर्ने अवस्था अवस्था देखिएको हो। यसमा न्यायालयको ठाडो आदेशमा विदेशी शक्ति अनुकूलको वा कन्फर्टेबल सरकार र यसका समग्र क्रियाकलापहरु आलोच्य रहेको छ।
बीपीले पनि नेपालमा अब जे गर्छ भारतले गर्छ भन्नु भएको थियो। यस खालको चरम निराशा कांग्रेस पार्टीका उहाँको कुनै भर नभएको अनुभव हुन्छ। तपाईँ जत्तिको राष्ट्रवादी नेता नहुँदा देशको के अवस्था होला भनी बी.पी समक्ष गणेशराज शर्माले प्रश्न गरेका थिए। यही प्रश्नको उत्तरमा कोइरालाबाट उक्त जवाफ आएको थियो।
समाजवादी नेता जयप्रकाश नारायण बाहेक सबै भारतीय नेताहरुले बारबार हेलाहोचा गरेको तिक्त विरक्त अनुभूति बीपीलाई थियो। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका नाताले पनि कोइराला भारतीय नेता र शाषकको हेलाहोचोमा पर्नु भयो। अझ नेपालप्रति गरिएको उपेक्षा उहाँलाई पटक्कै मन परेन।
जवाहरलाल नेहरु लगायत भातीय नेताले नेपालको स्वाधीनता र स्वतन्त्रतामा दखलअन्दाजी गर्न खोजेका थिए। यसलाई कोइरालाले कुटनैतिक तथा शालीनताका साथ प्रतिवाद गर्नुभएको हो। यसवापत कोइरालाले अनेक हण्डर र ठक्कर भोग्नुपर्यो।
बीपीलाई भारतीय शासकले प्रधानमन्त्री र नेपालको राष्ट्रपति नै पनि बनाइदिन्छौँ समेत भनेका थिए। र उनीहरुले भने अनुसार चल्न कोइराला असहमत हुनु भयो। यस्ता फुस्ल्याहटमा परेर नेपालको अस्तित्व सिक्किम जस्तै समाप्त हुन्छ भन्ने बीपीले महसुस गर्नु भयो। यसले गर्दा चर्को बोली नबोली व्यवहारबाटै राष्ट्रविरोधी शक्तिसित उहाँले असहमति जाहेर गर्नुभयो।
बीपीले देशको गौरवशाली स्वाधीनता, स्वतन्त्रता र अखण्डतालाई सत्ता र शक्तिसित सौदाबाजी गर्नु भएन। सौदाबाजी गर्ने लेन्डुप दोर्जेको दुर्दशा पनि उहाँले देख्नु भएकै थियो। फाँसीको फन्दामा डुण्डिनु परे पनि तयार भई मेलमिलाप नीति कोइरालाले लिनु भयो। नेपाल राष्ट्रलाई सिक्किम झैँ हडप्न नदिनका लागि उहाँ अन्तिम दमसम्म लड्नु भएको हो।
लेन्डुप हुन आतुर र व्यग्र एकाध नेपाली नेतालाई सिक्किमे लेन्डुप महत्वपूर्ण शिक्षा हुन्। तर नेपाली लेन्डुपलाई मात्र होइन तिनका प्रमुख मतियारहरुलाई पनि छाड्न हुन्न र देशबाट भाग्न दिनुहुन्न।
बी.पीले अन्तिम अवस्थाका निराशाका भावनाहरु आफ्नै पार्टीका कतिपय बिकाउ नेताका प्रवृत्तिप्रति लक्षित देखिन्छ। कम्युनिस्ट पार्टी र यसका नेताप्रति नकारात्मक धारणा राख्ने कोइरालाले नेपालमा देशभक्त प्रगतिशील शक्ति, पार्टी र नेता हुँदाहुँदै पनि देख्न सक्नु भएन र नाम उल्लेख गर्नु भएन।
तर पुष्पलाल र उहाँको सही कम्युनिस्ट विरासत बहन गरेको कम्युनिस्ट पार्टी जत्तिको लोकतान्त्रिक पार्टी नेपालमा नै छैन। उतिबेला कम्युनिस्ट पार्टीप्रति अझ चरम दुराग्रह राख्ने नेकाको दुईतिहाइ बहुमतको विघटित संसद् पुनः स्थापनाको माग गर्ने पुष्पलालको लोकतान्त्रिक आदर्श व्यक्तित्व हुनुहुन्छ ।
पुष्पलालको विरासद् र उहाँको विचार वाहक एमाले पार्टी भिन्न सैद्धान्तिक पार्टीलाई तथा नाम गर्दैन र भन्दैन पनि। लोकतान्त्रिक आदर्श चरित्र यही पार्टीमा मात्र विद्यमान छ। त्यसैले अहिले पनि ने.क.पा. एमाले र ओली जत्तिको राजनीतिक नैतिकता कायम गर्ने पार्टी अरु कुनै छैन भन्दा हुन्छ।
तर टाउका गनेकै भरमा संसदीय लोकतान्त्रिक प्रणालीका विकृतिहरु विरुद्ध रहेको छ। दीर्घकालीन र विश्वाससिलो राजनीति गर्ने एमाले बहुदलीय प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्न चाहन्छ। तर कतिपय प्रजातन्त्रिक तथा प्रगतिशील भन्ने बुद्धिजीवीहरु एमाले पार्टीको जनताको बहुदलीय जनवाद नामको सैद्धान्तिक अध्ययन सामग्री पढ्दैन पढी अँध्यारामा झट्टी हुन्छन्।
तर नेकाका केही युवा नेताहरु एमाले पार्टीका राष्ट्रवादी नेतासित कथित युद्धका नाममा जन र धनको अपार क्षति गर्ने पार्टी र नेतासित तुलना गर्ने दुस्साहस गर्छन्। कसैले नचाहे पनि एमाले जस्तो लोकतान्त्रिक कम्युनिस्ट पार्टी आधारभूत तहदेखि नै सबल रहेको छ।
यो कुरा स्थानीय निर्वाचनमा सबै भन्दा बढी लोकप्रिय मत ल्याउनु होइन र चुनावमा नाङ्गो रुपमा जतिसुकै धाँधली पनि बजुरा जिल्लाको बुढगंगा नगर पालिकामा सुरुमा नग्न धाँधली गरियो तर पुनः स्वच्छ र स्वतन्त्र निर्वाचान मार्फत् एमालेले बहुमतका साथ सानदार रुपमा जित्यो । आगामी मंसीर ४ गते हुने निर्वाचनमा एमाले एक्लै संघ र प्रदेशमा एकल बहुमत ल्याउने निश्चित देखिन्छ।
डा. चन्द्र भण्डारी,एन.पी. साउद्, धनराज गुरुङ जस्ता लोकतान्त्रिक देशभक्त संस्कार नेकाको सम्पत्ति हुन् । सम्पत्तिले नै सम्पत्ति कमाउँछ। सही मित्र शक्ति छनौट गर्न नजान्दा दुःख पाइन्छ। मुखका र कामका नेपाली कम्युनिस्टहरु बिलकुल फरक छन्।
सिद्धान्त र व्यवहारको समन्वयबाट मात्र पार्टी पहिचान गर्न सकिन्छ। दीर्घ कालीन सोच र समझले मात्र देशको राजनीतिले सही दिशा र दृष्टि दिनसक्छ। पूर्व माले वा एमाले राजनीतिक, कार्यक्रमिक र व्यवहारिक दृष्टिले मात्र भरपर्दो शक्ति हो भन्ने कांग्रेसीहरुले जानेबुझेकै कुरा हो।
तत्कालको न्यानोमा एकछिन रमाएर हुँदैन। बाह्य शक्तिहरुका आदेश र इसारामा क्षणिक स्वार्थका लागि गठबन्धन गर्नु देशलाई नै भड्खालोमा हाल्न खोज्नु हो। हालै डा. बाबुराम भट्टराई एमाले पार्टीमा स:शर्त प्रवेश गर्न खोजे पनि पाएनन्। एमाले टाउका मात्र बटुलेर त्यसमा मात्र भर पर्ने पार्टी होइन।
बहुमतका लागि भए भरका भाइरस जम्मा गरेर पार्टी कति दिन टिक्ला र ? पार्टीमा शुद्धि,बुद्धि र गिदी चाहिँदैन भने कुरो अर्कै हो। त्यसैले उम्दा उमेर भविष्य भएका गगन थापा र विश्वप्रकाश शर्मा, डा. डिला संग्रौलाहरुले लोकतान्त्रिक तथा देशभक्त चिन्तन र चरित्रमा खिया नपारुन्। संग्रौलाले जस्तै एमाले नेतृहरुले अखवारी लेखन मार्फत् बौद्धिक पहिचान दिए नजाती हुने थिएन। बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ। पार्टीको शुद्धीकरण पार्टी भित्रैबाट गर्नु पर्छ र पहिले आर्फैँबाट सुरु गर्नुपर्छ।
देशको पुरानो र गौरवशाली छवि निर्माण गरेको नेपाली कांग्रेस पहिचान विहीन हुँदैछ। यो पार्टी अहिले लेन्डुप पथमा दौडिन खोजेको दुःखद् अवस्था देखिन्छ। नेता शेखर कोइराला कम्तीमा देउवा प्रवृत्ति विरुद्ध सक्रिय देखिन्छन्। यस समूहले कम्तीमा कांग्रेसको विगत विरासद् र छवि बचाउन देशव्यापी सशक्त अभियान सञ्चालन गरेर नेकाको शक्ति सन्तुलनमा फेरबदल ल्याउन सक्नुपर्छ र पार्टीलाई बचाउनुपर्छ।
देखादेखी पार्टीलाई रागेभीरबाट खसालेको हेरिरहन मिल्दैन। किनभने देश रहे पार्टी नेता र नेतृत्व रहने हो। पुष्पकमल दाहाल जस्ता अत्यन्त संदिग्ध चरित्रको बुईमा बोकिएर लतारिँदा देश नै डुब्ने खतरा टड्कारो छ। किनभने दाहालले त जनयुद्धताका भारतका विरुद्ध हामी कुनै र केही पनि काम गर्ने छैनौँ भनेर तमसुक नै गरेको छन् । हेग जाने डरले यिनले देशका विरुद्ध जे गर्न पनि तयार हुन्छन्। पार्टी अध्यक्ष गिरिजा प्रसाद कोइरालालाई प्रथम राष्ट्रपतिको ललिपप देखाएर हुनसम्मको छली र कपटी काम एमाले र ओली कुनै हालतमा गर्दैनन्।
भारतीय मूलका मानिसलाई काठमाडौँमा उतिबेला घरघडेरी किन्न नदिने बीपी विरासद् कांग्रेसमा अब कहाँ खोज्ने हो। जे जति भए पनि देश र जनताको स्वाभिमान कायम गर्ने बीपी कांग्रेस अहिले पूरै ओझेल परेको छ। के अहिलेको जस्तै कांग्रेस बनाउन बीपीले खोज्नु र सोच्नु भएको थियो ?
बिदेशीको इसारा र लहैलहैमा लागेर कुन पार्टी दीर्घजीवी बन्न सक्छ र ? भारतीय दवाव र प्रभावमा परेको भए नेपालको संविधान सदनबाट पारित हुन्थ्यो ? चट्टानी अडान नराखेको भए नाकाबन्दी हट्थ्यो ? चीनसित वाणिज्य र पारवहन सन्धी गर्ने कसैको हिम्मत हुन्थ्यो ? बसौँदेखि नबनेको हुलाकी राजमार्ग किन कसले गर्दा बन्यो ?
हेलाहोचो र अपमान विरुद्ध सिंहमेव जयते भन्ने हिम्मत कसले गर्यो ? हामी कसैका भाइ होइनौँ हामी स्वाभिमानी र समान सार्वभौम सत्तायुक्त मित्र हौँ कसैले भन्न सक्यो ? बेलाको रिस र आक्रोषमा पनि सौन्दर्य हुन्छ विराटनगरमा लामो समय देखि अड्डा जमाएर बसेको भारतीय सैनिक टुकडी कसले हटायो ? जति भाग्यो उति लुते कुकुरले पनि खेद्छ। नडराउनु तर डर राखेर काम गर्नु। दृढ अडान र निडर मानिसका अगाडि बाघ पनि सतर्क हुन्छ। बाघलाई पनि डर लाग्छ। कतै मानिसले नै आफूलाई सिध्याउँछ कि भन्ने बाघलाई भित्रभित्रै डर लाग्छ। सत्ता, शक्ति, सम्पत्ति र निकृष्ट स्वार्थलाई केन्द्र विन्दुमा राखेर अहिलेसम्म कुन पार्टी,सिद्धान्त,सरकार र सत्ता टिकेको छ ?
बीपी भएको भए दातृराष्ट्रहरुले उपहार स्वरुप प्रदान गरेका दर्जनौँ उद्योगहरु माटाका भाउमा बेचिँदैन थिए होलान्। अहिले जस्तो कांग्रेसी रमित पनि नेपाली जनताले भोग्नु पर्ने थिएन होला। फुटेज काण्ड जस्ता चरम र सरम लाग्दा कुरुप दृश्य पनि देख्नु पर्ने थिएन होला।
टाउका गनेकै भरमा सिक्किम भारतमा बिलय भएको हो। नेपालमा पनि शुद्धिबुद्धिले होइन टाउका गनेर नागरिकता विधेयक पुनः पारित गर्न कांग्रेस नेतृत्व गर्दैछ। आखिरमा नेपाल र पुष्पकमल दाहालले भोलिका दिनमा सबै दोष कांग्रेसकै थाप्लामा हाल्नेछ।
यति हुतिहारा, जनतामारा र देशघात उद्यत कांग्रेस पहिले कहिल्यै देखिएन। नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने कांग्रेस ओली विरुद्ध खनिएको देख्दा उदेक लाग्छ। आफ्नो आङको भैँसी नदेखेर केही कांग्रेसी बुद्धिजीवी समेत रत्यौली रमित देखाइरहेका छन्।
के.पी. ओली जस्ता लोकप्रिय र प्रखर राष्ट्रवादी नेतालाई पछिल्लो अवधिमा सदा धारेहात लगाउने साध्य बहादुरहरु देश र जनताको यो दुर्दशामा मौनमख्ख छन्। नेपाली जनताका मूच्छित सपनाहरु ब्युँझाउने ओली प्रयत्नलाई फुटेका आँखाले देखि नसहने प्रवृत्ति देशका लागि नै घातक छ। निराशा र चरम निराशा छर्ने कथित एकाध बौद्धिकहरुले प्रा.डा. पदकै बेइज्जत गरिरहेका छन्।
नेपाली कांग्रेसलाई समेत बचाउन एमालेको अहं भूमिका थियो,छ र रहनेछ। तर खोलो धाएर हुँदैन। मधौरुले नै माड खानुपर्छ। आफ्नै घर जलाउनेले अर्काको घर बाँकी राख्छ ? संगत गुनाको फल भनेझैँ एमालेको संगतले नेकाको कहिल्यै कुभलो भएको छैन र हुने पनि छैन।
२०४६ पछिका घटनाक्रम हेर्दा हुन्छ। यी दुई पार्टी नमिली र न्यूनतम सहमति नगरी यस देशको भलो हुँदैन। यो आजको र भोलिको यथार्थ सत्य हो तर यसमा नेकाले बेवास्ता गरे केही समयपछि कांग्रेस कांग्रेस रहने छैन। यो पार्टी सुकेर सुकेधारो हुनेछ र एमाले मात्र यस देशको एक्लो सबल पार्टी हुने सुनिश्चित छ। आखिर एउटाको बनिवास भएपछि अर्को ह्वात्ते अघि बढ्छ।
पूर्व माले र एमालेले जननेता मदन भण्डारी सहितले बेलाबेला राखेका देश र जनहितका मुद्दालाई कांग्रेसले स्वीकार गरेको भए सबैको भलो हुन्थ्यो र अझ देशको भलो हुन्थ्यो। देश र जनता हितका सही कुरा कांग्रेसले नमान्दा देश ओरालोतिर लागेको हो। यी सबको उत्तर अब कठघरामा उभिएर नेकाले दिनुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।