|

बागलुङ : निसीखोला गाउँपालिकामा पर्यटकीय सम्भवना भएका थुप्रै स्थल छन्। निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संगम स्थलमा पर्ने टाकुरामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

वरपर रुख र बीचमा खाली समथर मैदानले धेरैलाई आकर्षित गर्छ। अझ वर्षातको बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ। ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा ‘पिकनिक स्पट’का लागि निकै उपयुक्त स्थान मानिन्छ। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्।

पश्चिम बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङदेखि नजिक रहेको हुँदा शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिकहरु यहाँ घुम्न जाने गरेका छन्। नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भीमगिठेदेखि करिब तीन किलोमिटर रहेको टाकुरामा बागलुङ लगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन्।

तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा भविष्यमा पर्यटकीय हब हुन सक्ने स्थानीय बताउँछन्। भिमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सिधै पुग्न सकिन्छ। यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन तर गोरेटो बाटो हुँदा अहिले पर्यटक त्यहाँ पुग्ने गरेका छन्। सडक सञ्जालले जोड्न सके धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिने देखिन्छ।

निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोट र टाकुरालाई विकास गर्न सके पर्यटकबाटै राम्रो आम्दानी गर्न सक्ने देखिन्छ। टाकुराबाट देखिने अगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ। 

यसको विकासका लागि वडा कार्यालय तदारुक रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष दिपक कुवँर (दीपु)ले बताए। अध्यक्ष कुँवरले नरसिंकोट फोक्सिङदेखि टाकोरा जोड्नका लागि मोटरबाटो निर्माण गर्ने योजना बनाएको बताए। उनले नरसिंहकोट र टाकुरालाई जोडेर विकास गर्ने भन्दै अब यी दुवै ठाउँमा पर्यटन पूर्वाधार निर्माण गर्ने बताए।

‘टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएको छैन, तर पनि आन्तरिक पर्यटकको चाप निकै छ। नरसिंहकोटमा आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्, त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, त्यहाँसम्म पुग्ने सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ,’ अध्यक्ष कुवँरले भने ‘पालिका, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर नरसिंहकोट र टाकुराको विकास गर्न योजना बनाएको छु यो वर्ष पनि केही काम सुरु हुने छ भने अर्को वर्षसम्म यहाँ पूर्वाधार निर्माण गर्ने वातावरण मिलाउने छौँ।’

टाकुरासम्म जोड्नका लागि बडिगाड गाउँपालिका ९ मालारानी तिरबाट पनि सडक सञ्जालले जोड्ने काम भइरहेको उनको भनाइ छ। निसीखोला गाउँपालिकाले पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर यहाँसम्म सडक पुर्‍याउने अध्यक्ष कुवँरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.