|

रौतहट : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्र नं–१ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चुनाव लड्ने चर्चा बढ्दै गएको छ।

उनी रौतहट क्षेत्र नं—१ बाट चुनाव लड्ने तयारीमा रहेको एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले  बताउन थालेका छन्।

नेपालले पार्टीको निर्णय जहाँबाट हुन्छ त्यहीँबाट संसदीय चुनावमा उम्मेदवार बन्ने बताउँदै आए पनि रौतहटको सदरमुकाम गौरमा घर रहेकोले नेपाल यहीँबाट उम्मेदवार बन्ने करिब निश्चित रहेको समाचार स्रोतहरूले जनाएका छन्। 

यता, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाटै दोहोरिन चाहेका छन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण यादवलाई हराउँदै सांसद निर्वाचित भएका उनी यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने मनस्थितिमा रहेका छन्।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता अनिल कुमार झाले भने, 'म अरू नेताजस्तो पार्टी र क्षेत्र बदल्ने नेता होइन। आजसम्म म एउटै क्षेत्रबाट चुनाव लड्दै आएको मान्छे हुँ, यसपटक पनि यसै क्षेत्रबाट चुनाव लड्नेछु।'

रौतहट क्षेत्र नं–१ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि निर्वाचन क्षेत्र हो। उनी पछिल्लोपटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए। २०७४ सालमा भने उनी काठमाडौं–२ बाट निर्वाचित भएका थिए। तर, मंसिर ४ गते हुने निर्वाचनमा उनी रौतहटबाट उठ्ने तयारीमा रहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन्।

अनिल झा रौतहट–१ बाट २०७४ सालको निर्वाचनमा २१ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए।

यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका अजय गुप्ता पनि चुनाव लडदैछन्। पहिलो संविधासभा निर्वाचनमा गुप्ता नेपालसँग करिब तीन सय मतले पराजित भएका थिए। उनलाई टिकट दिएर चुनाव जिताउनका लागि एमालेका नेता कार्यकर्ताहरू कम्मर कसेर लागेका छन्। रौतहट १ मा गुप्ता, नेपाल र झाबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.