|

दाङ :  थारू समुदायको दोस्रो ठूलो पर्व अटवारी आइतबार (आज)  मनाइँदै छ।

दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारू समुदायको बसोबास रहेका जिल्लाका थारू समुदायमा कुशे औँशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ। सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ।

यो पर्वमा पुरुषहरू मात्र व्रत बस्ने गर्दछन्। उनीहरूले गएराती दर पकाएर खाने र   दिउँसो अनदी चामलको रोटी सहित ७ परिकार बनाउने गर्दछन्। त्यो परिकार ९ भोलि (सोमबार) को दिन दिदीबहिनी, छोरी चेलीहरूको घरमा लगेर दिने गर्दछन्। तर, पछिल्लो समय आधुनिकता बढेसँगै यो परम्परा लोप हुँदै गएको  तुलसीपुर उपमहानगरपालिका  १८ का मनपति चौधरीले बताए।  

उनका अनुसार पछिल्लो समय कला संस्कृति तर्फ भन्दा पनि अन्य कुरामा ध्यान दिने गर्दा लोप हुँदै गएको हो। उनले भने,‘  पहिला हामी सँधै छोरी चेलीहरूको घरमा जाने पर्दथ्यौ। तर, विगत ५ वर्षदेखि गएको छैन्। उनीहरूले नै अब यो चलन हटाउनु पर्छ, भन्छन्। त्यो भएर जान छाडेका छौँ। अहिले कला संस्कृति भन्दा पनि मोबाइल तर्फ नै बढि ध्यान हुन्छ।’ अटवारी पर्वमा ५ देखि ७ परिकारहरू बनाउने गरेको र त्यो नै छोरी चेलीहरूको घरमा लैजाने परम्परा रहेको पनि उनले बताए।

 उनले यो पर्वका कुनै चिज नकाट्ने र घरका कुनै  पशु चौपाया मरेपछि नमनाउने गरेको पनि बताए। उनले यो पर्वमा माघी पर्वको जस्तो मासु काटेर नखाने गरेको पनि बताए। उनले भने,‘ हामीले केही पनि काट्दैनौँ। आजको घरमा पशुचौपाया, कुखुरा केही मरे भने यो पर्व मनाउँदैनौँ। तर, पशुचौपाया कुखुराले आजको दिन बच्चा जन्माएमा यो पर्व सफल भएको र घरमा राम्रो हुने भन्ने चलन रहेको छ।’

तुलसीपुर ७ मोतिपुरका ६३ वर्षीय विज्री लाल चौधरीलाई पनि पछिल्लो समय आफ्नो धर्म संस्कृति हराउँदै गएको बताए। उनले थारू समुदायले आफ्नो पर्व  मात्र नभइ, तिज ,दशैँ, तिहार मनाउने गरेको भएयता पनि  आफ्ना कला संस्कृति हराउन थालेको बताए।  उनका अनुसार यो पर्वमा पुरुषहरू मात्र व्रत बस्ने र रातमा दर पकाउने र बिहान नै नुहाएर दिउँसो आफैले रोटी पकाउ चलन रहेको छ। रोटी तथा परिकारहरू पुरुषहरूले नै बनाउने र त्यो छोरी चेलीहरूको घरमा लैजाने गरेको बताए।

 उनले छोरी चेलीहरूको घर जति टाढा भएपनि सोमबारको दिन ति परिकारले अग्रासन गर्नु पर्ने पनि बताए। उनले भने,‘ छोरी चेली हाम्रो घरमा आउँदैनन्। यो पर्व मनाउने हाम्रो परम्परा नै हो। तर, पछिल्लो समय थारू समुदायले तिज, दशैँ, तिहार जस्ता चाडपर्व मनाउ थालेका छन्। हाम्री छोरी चेलीहरू तिजको दिन व्रत बस्ने गरेका छन्। पहिला हाम्रो यस्तो चलन थिए। तिहारमा  हामीले फुलको माला लगाउँदैन्थ्यौ। तर, अहिले त्यो चलन पनि चलेको छ। जमाना परिवर्तन भएसँगै सबै कुरामा परिवर्तन भइरहेको छ। ’

यस्तै उनले  चाडपर्व  मनाउने कुरामा परिवर्तन भइरहेको अवस्थामा आफ्ना मौलिक बाजाहरू हराउँदै गएको पनि गुनासो गरे। उनले अहिलेका युवा पुस्ताहरुले थारू जातिहरूको मौलिक बाजा भन्दा साउण्ड सिस्टम प्रयोग गर्न थाले पनि हराउँदै गएको बताए। उनले त्यसलाई संरक्षण गर्नको लागि सबैले ध्यान दिनु पर्छ। ‘पहिला हामीले मादल बजाएर नाचगान गर्ने गर्थ्यौँ। तर, अहिलेकाले डान्स साउण्ड सिस्टमबाट गर्दछन्,’उनले भने।​ अटवारी पर्वलाई महाभारतको कथासँग जोडेको भएपनि गहन अध्ययन छैन्।

अटवारी पर्वलाई महाभारतको कथासँग जोडेको भएयता पनि  थारू बुद्धिजीवीहरूले भने यसको गहन अध्ययन अनुसन्धान बाँकी रहेको बताउँछन्।  अहिले परम्परा मान्ने गरी मनाउन खोजेको जस्तो देखिएको घोराही उपमहानगर १२ का डाक्टर जर्मन चौधरीको भनाइ छ। उनले यसका बारेमा अग्रजहरूलाई सोध्दा पनि अहिलेसम्म स्पष्ट अनुसन्धान भएको आफूले नपाएको उल्लेख गरे।  उनले यो पर्वलाई यो वा त्यो रुपमा प्रसङ्ग जोड्न क्रम धेरै रहेको भएयता पनि वास्तविक यही नै  हो रु भन्ने बारेमा कसैलाई थाहा नभएको पनि बताए।

उनका अनुसार कुनै पनि चाडपर्वको धार्मिक र सामाजिक महत्व हुन्छ। अटवारी पर्व थारू समुदायमा परम्परादेखि चल्दै आएको हो। उनले यसलाई धार्मिक महत्वका रुपमा भन्दा सामाजिक महत्वका रुपमा लिन सकिने पनि बताए। उनले पछिल्लो समय  आफ्नो संस्कार, संस्कृति, पहिचान गर्ने सोच चेतना बढेको भएयता पनि अझै भने जस्तो नभएको पनि बताए।

कुशेऔंसीदेखि दशैँसम्म प्रत्येक आइतबार व्रत बस्ने  चलन भएपनि   हराउँदै

लमही नगरपालिका   ५ दाङका थारू साहित्यकार छविलाल कोपिलाका अनुसार अटवारी पर्व पुराना पुस्ताहरूमा कुशेऔंसी देखि दशैँ सम्मका प्रत्येक आइतबार व्रत बसेर मनाउने चलन भएपनि अहिलेका युवा पीढीहरूमा यो परम्परा लोप हुँदै गएको छ।  

विशेष गरी जल, जङ्गल र जमिन सहित सूर्यको पूजासँगै तिन मुख्य मान्यताका साथै यो पर्व मनाउने चलन रहेको उनको भनाइ छ। उनले भने,‘ कहिँले काहीँ १५ पटक सम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो। भदौ महिनादेखि दशैँसम्मको आइतबार बस्नु पर्ने चलन थियो। कहिले काहीँ दशैँ कात्तिक महिनामा परेको खण्डमा १५ पटक सम्म व्रत बस्नु पर्ने हुन्थ्यो। अहिले त्यो सबै हरायो। अब  एक दिन कुशे औँसीको पहिलो आइतबार मात्र बस्ने चलन रहेको छ।’

 उनका अनुसार कुशे औँसीको शुरुको आइतबारलाई बर्का अटवारी भन्ने चलन रहेको छ। त्यस्तै दशैँसम्मका आइतबारलाई छुट्टी अटवारी भन्ने चलन रहेको थियो। यस्तै उनले यो पर्व महाभारतसँग जोडिएको हुँदा आफूहरूले भीमको पुजा गर्ने चलन रहेको पनि बताए। भीम जस्तै बलियो हुनको लागि पुजा गर्ने चलन रहेको बताए।

 भीम जस्तै बलवान हुने कामनाका साथ व्रत बस्ने चलन

घोराही उपमहानगरपालिका  ७ दाङका बिरीलाल चौधरीले  महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवसँग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आइतबार दिनभरी थारू समुदायका पुरुषहरू व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा चलन रहेको बताए।

उनले सोमबारको दिन आफूहरूले बनाएको परिकारहरू छोरी चेलीहरूको घरमा लैजाने र त्यहाँ खानपिन गरी रमाइलो पर्व मनाउन चलन रहेको पनि बताए।
 

जिल्लाका  ४  स्थानीय तहमा सार्वजनिक बिदा  

थारु समुदायको पर्व अटवारीका अवसरमा जिल्लाका  ४  स्थानीय तहले  सार्वजनिक बिदा  दिएका छन्।  स्थानीय बिदामा मिलान हुने गरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा यही भदौ आइतबार सार्वजनिक बिदा दिएका छन्।

यस्तै  लुम्बिनी प्रदेश सरकारले पनि थारू जातिको अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।  प्रदेश सरकारले  दाङ, बाँके र बर्दिया जिल्लामा अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.