|

हेटौंडा : देश संघीयतामा गएपछि आगामी मंसिर ४ गते दोस्रोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ। पाँच वर्षअघि भएको निर्वाचनपछि देशमा सातवटा प्रदेश सरकार बन्यो। यो पाँच वर्षमा प्रदेश सरकारले नागरिकले महशुस गर्नेगरी काम गर्न सकेको छैन। 

बागमती प्रदेश सांसद दोहोराएर प्रदेशमै बस्न चाहना कमैमा छ। कोहीले त प्रदेशको संरचना नै खारेज गर्नुपर्छ भन्ने माग राखिसकेका छन् भने धरैजसो सांसदले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारी थालेका छन्। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री र अहिलेका बहालवाला मुख्यमन्त्री नै मंसिर ४ गते हुने चुनाबमा संघमा उठ्ने तयारी गरिरहेका छन्। प्रदेशका केही पूर्व मन्त्री र बहालवाला मन्त्री पनि प्रदेशसभा छाडेर प्रतिनीधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य तथा वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि प्रतिनीधिसभातर्फ नै उम्मेदवारी दिने तयारीमा जुटेका छन्। नेपाली राजनीतिमा एउटा उचाइ प्राप्त गरिसकेका शाक्य र पाण्डे यसअघि पनि संघीय सांसद बनिसकेका व्यक्ति हुन्। तर,देश संघीयतामा गएपछि मुख्यमन्त्री बन्ने चाहाना बोकेर उनीहरू प्रदेश ओर्लेेका थिए। 

पाँच वर्ष प्रदेशसभा र सरकारको समेत अनुभव गरिसकेका उनीहरू अब फेरि संघीय सांसद बन्नेतर्फ नै लागिरहेका छन्। मुख्यमन्त्री बन्ने आशमा प्रदेशमा झरेका राजेन्द्र पाण्डे लामो समय सत्तामा जान समेत पाएनन्। जब एमाले फुटेर एकीकृत समाजवादी बन्यो, पाण्डेको हातमा बागमती प्रदेश सरकारको बागडोर आइपुग्यो। 
११ कात्तिक २०७८ मुख्यमन्त्री बनेका उनी आगामी निर्वाचनमा प्रदेशमा बस्न चाहँदैनन्। ‘एउटा वातावरणले धकेलेर प्रदेशमा पुर्‍यायो, आगामी चुनावमा संघमै उठ्छु’, मुख्यमन्त्री पाण्डेले भने।

उनी मात्र होइनन्। बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल यसपटक कुनै पनि चुनाव लड्ने पक्षमा छैनन्। बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका पौडेल पनि प्रतिनीधिसभाको नै उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो। तर, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै पौडेलले आगामी निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। युवा पुुस्तालाई स्थान दिन आफूले बिदा लिन चाहेको उनले बताए। ‘म चुनाव लड्दिनँ’, पौडेलले भने, ‘युवा पुस्तालाई दिनुपर्‍यो नि!, सधैँभरि हामीले कति लडिरहने ?’ चुनाव नलडेर पुस्तान्तरणमा सहयोग गर्न खोजेको उनको भनाइ छ। ​

पूर्वमुख्यमन्त्री शाक्य पनि चुनाव लड्नै परे संघमा चुनाव लड्ने उनी बताउँछिन्। बागमती प्रदेशका अहिलेका बहालवाला मन्त्रीहरू र पूर्वमन्त्रीहरू समेत प्रदेशमा चुनाव नलड्ने र प्रतिनिधिसभामा आफ्नो पक्षमा टिकट लिन ‘लबिङ’ सुरु गरेका छन्। प्रदेशका पूर्व र अहिलेका समेत गरी १० भन्दा बढी मन्त्रीले संघमा चुनाव लड्ने तयारी थालेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ पनि संघमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ। प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे र बानियाँले ६\६ महिना प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने लिखित सहमति हुँदासमेत शान्त बनेर बानियाँले मुख्यमन्त्रीका लागि मरिहत्ते गरेनन्। बानियाँलाई राम्रै ठाउँ दिने केन्द्रकै निर्णयअनुसार उनी साम्य भएको केहीअघि चर्चासमेत थियो। 

२०७४ सालको प्रदेशसभामा जित हासिल गर्दै पार्टीको साख जोगाउन सफल भएका उनी अब प्रतिनिधिसभामा आकांक्षी रहेको चर्चा छ। 

नेकपा माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचन जित्दै आएकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको दाउ प्रतिनिधिसभाको टिकटतिर केन्द्रित हुन थालेको छ। आगामी निर्वाचनमा मोक्तानको दाबी संघीय निर्वाचनमा रहने चर्चा चलेको हो। 

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बन्दा मोक्तानले प्रतिनिधिसभाको टिकट गुमाएकी थिइन्। उनले विरोध खतिवडालाई प्रतिनिधिसभा छोडेर आफू प्रदेशसभामा उम्मेदवार बनेकी थिइन्।

आगामी निर्वाचनमा भने मोक्तान कुनै पनि हालतमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने होडमा लागिपरेकी छिन्। उनले पनि प्रतिनिधिसभाको सोही क्षेत्रबाट चुनाव लड्ने चर्चा चल्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.