|

बागलुङ : तमानखोला गाउँपालिका-६ नर्जाखानीका मिनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनका ८ दशकमा उनले कैयौँ दुःख कष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्। झन् अहिले गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्ने बताउँछन्।

‘अहिले गाउँमा मोटरगाडी आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन। यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानु पर्थ्यो। बिहान उठेर बजार गयो भने मध्यरातमा आइपुगिन्थ्यो,’ छन्त्यालले भने‚ ‘आजभोलि त बजार जान पनि पर्दैन सबैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ।’

एक दशक अघिसम्म पनि तमानखोलाका गाउँमा पुग्ने फराकिला गोरेटा बाटा थिएनन्। स्थानीय साँघुरै बाटोमा उकालीओराली गर्थे। त्यही गोरेटोमै पशुचौपाया ओहोरदोहोर गराउँथे। तर अहिले ति उकालीओराली गर्ने गोरेटा फेरिएका छन्। गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ‚ तन फेरिएको छ र जीवनशैली नै फेरिएको छ।

कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन्। यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयले कल्पनासमेत गरेका थिएनन्। तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दंग छन्। सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ।

‘गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरै जस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिएन,’ छन्त्याल भन्छन्‚ ‘हामी तनिकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता (सुविधा) देला भन्ने लागेको थिएन तर अहिले यसरी घरैअगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ।’

उनले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पुर्‍याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्नु नपर्ने बताउँछन्। ‘हाम्रो पालामा कोही मान्छे बिरामी भयो भने डोकोमा बोकेर अस्पताल लैजानु पर्थ्यो, बाटोघाटो गतिलो थिएन। त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्नासाथ गाडी बोलायो, गाडीमा हालेर उत्तिखेरै अस्पताल पुराउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ।’

तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ वटा बस्तीमा सडक पुगेको छ। यसले स्थानीयलाई खुशी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ। जीवनशैली फेरिदिएको छ। अब उनीहरूलाई पहिलेजस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन। सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धमाधम निर्माण भइरहेका छन्।

तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष भए। उहाँ पनि गाउँमा सडक आएपछि निकै खुशी छन्। विसं २०१८ सालदेखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आएका छन्त्याल अहिले आफ्नै घरअगाडि ती सामान पाउँदा दङ्ग छन्।

सडक नहुँदा गाउँलेले कैयन समस्या सामना गर्दै आएको र अब भने दुःखका दिन गएको छन्त्यालले बताए। गाउँमा घाँस दाउराभन्दा औषधी उपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै कुरा सहज भएको उनको भनाइ छ।

आफूले धेरै पटक बुटवलबाट नुन लिएर उपभोग गरेको सुनाउँदै अहिले घरछेउकै दोकानबाट नुन तेल र चाहिएजति सामान ल्याउने गरेको बताउँछन्। ‘घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर खसौली बटौली जान्थ्यौँ, बाटोमै खाना पकाएर खान्थ्यौँ, बाटोमै सुत्थ्यौँ, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि,’ उनले भने‚  ‘अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुःख सुनाउँदा उनीहरूलाई कथा जस्तो लाग्छ रे! बटौलीबाट नुन बोकेर खाएका हौँ भन्दा पत्याउँदैनन्।’

आफूले मोटरगाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताए। आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको र अब उत्पादन बढी भएको वस्तु बजारसम्म लैजान सहजसमेत बनेको बताउँछन् उनी।

‘मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खरबाङ, बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ,’ उनले भने‚ ‘पहिले उत्पादन भएका आलु, सिमी गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यहीँ गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ।’

आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ। ५ वर्ष अघिसम्म यहाँ उत्पादित सामग्री बाहिर जाँदैनथे। सडक थिएन। स्थानीयले बोकेर बजारसम्म लैजान गाह्रो थियो। जब गाउँहरु मोटरबाटोले जोडिए‚ तब वस्तुले पनि बजार पाउन थाले। कृषकको पनि जीवनशैली सहज बन्दै गयो।

मोटरबाटोले गाउँ जोडिएपछि गाउँलेको जनजीवन फेरिएको तमानखोला गाउँपालिका वडा नम्बर २ का भीमबहादुर घर्ती मगरले बताए। उनले सडकले गाउँ जोडिनुका साथै तमानखोलामा विकासको ढोका खुलेको बताउँछन्। सडकका कारण गाउँमा विस्तारै साना उद्योग संचालनमा आउन थालेको र रोजगारीको सिर्जना समेत हुन थालेको घर्तीको भनाई छ।

‘मोटरबाटोले गाउँ मात्रै जोडिएन, यसले त सिंगो तमानाखोलाको विकासको ढोका खोल्यो, अब यहाँ धेरै विकास हुनेछ, कतिपय विकासका काम त शुरु भइसके, ठाउँ–ठाउँमा पुल बने, सडक बने, खानेपानीका धारा बने, कतिपय ठाउँमा बन्दैछन्, विकास भन्ने यही त हो नि! हामीले चाहेको खोजेको पनि यही हो,’ घर्ती मगरले भने‚ ‘अहिले त गाउँगाउँका साना उद्योग पनि संचालन भइरहेका छन्, यहाँ थोरैले भए पनि रोजगारी पाएका छन्।’

तमानखोलामा पहिले दुईवटा बस्ती मात्र मोटरबाटोले जोडिएका थिए। अहिले ६ वटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ। गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नम्बर ३ को तमान गाउँ पहिले मोटरबाटोले जोडिएका थिए।

म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै संभावना बोकेको छ। चर्चित सोलेडाँडा, बराहताललगायत पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक बनाएको छ। सडकका कारण पर्यटकीय स्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन्।

पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउला लगायतका ठाउँमा वर्षातको समयमा सीधा यातायात संचालन हुन सकेको छैन।

यी ठाउँमा सीधा यातायात संचालनका लागि बोङ्गादोभानमा मोटरेबल पुल निर्माण हुँदै छ। यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सीधा यातायात हुनेछ। गत वर्षसम्म बुर्तिबाङ बजारदेखि पालिकाको केन्द्रसम्म पनि वर्षातको समयमा सीधा यातायात हुँदैनथ्यो।

ढोरपाटन नगरपालिका वडा नम्बर ३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नम्बर १ बालिभाङमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सीधा यातायात संचालन हुन्छ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताए। भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उनी बताउँछन्।

‘तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुद पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्,’ अध्यक्ष बुढा मगरले भने‚ ‘पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौँ, अब ति सडकलाई बाह्रै महिना संचालन गर्ने गरि विकास गर्नु पर्नेछ, हामी त्योअनुसार लागि परिरहेका छौँ।’

सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पुगेको उनले बताए। सडकले किसानलाई समेत ठूलो राहत भएको अध्यक्ष बुढा मगरको भनाई छ। उनले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताउँछन्।

‘सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलु खेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषकहरु खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्,’ उनले भने‚ ‘अझ पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायत गन्तव्यहरूमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद बर्खा जहिले पनि मान्छेहरु आइरहन्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.