|
प्रतीकात्मक तस्विर

बागलुङ : ‘उतिवेला दिदीबहिनीसँग वर्ष दिनमा भेट हुन्थ्यो। माइती आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो। अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका।’

ढोरपाटन नगरपालिका–२ की ६६ वर्षीया सीता शर्मालाई अहिलेको तीज पटक्कै मन पर्न छोड्यो। उनलाई तीज मन नपर्नुको कारण हो मौलिकता हराउनु। ‘अहिले मौलिकता भन्ने छँदै छैन। गीत पनि विदेशी। पहिरन पनि विदेशी। ’, उनी भन्छिन्, ‘पहिले तीज आउँदा कति धेरै रमाइलो हुन्थ्यो, अहिलेका मान्छेले धर्मकर्म, संस्कार र परम्परा सबै बिर्सिए।’

शर्माले संस्कार, संस्कृति र परम्परा पनि मेटिन थालेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने चलन रहेको बताइन्। अहिले दर खाने नाममा होटलमा महँगा परिकार खाने चलन चलेको उनलाई पटक्कै मन परेको छैन।

‘हाम्रो पालामा दर खाने त माइत गएर हो, माइत पनि तीजको दुई दिन अगाडि गइन्थ्यो, अहिले त तीज आउन एक महिना बाँकी छँदै दरखाने भनेर ठूला ठूला होटल धाउँछन्, हामी त माइत जाँदा आमाले केरा, दही मिसाएर दर बनाउनुहुन्थ्यो, गोठमा रहेका गाईभैँसी दुहेर खिर बनाउनुहुन्थ्यो, हाम्ले त्यसलाई दर भनेर खान्थ्यौँ’, उनले भनिन् ‘अहिले त दर खान तीज आउनु महिना दिनअघि सुरु गर्छन्।’

महिलाले घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदना पोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्त्वपूर्ण उत्सवका रुपमा लिइन्छ तीजलाई। पछिल्लो समय तीजका अवसरमा एक महिना अगाडिदेखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रम गर्ने क्रम बढ्दो छ। यसले मौलिक परम्परालाई चटक्कै भुलेको छ।

केही समय यता तीज पर्व हिन्दु संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको बुढापाका बताउँछन्। तीज पर्वले महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढंगले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनु पर्ने उनीहरुको भनाइ छ।

तीज पर्वको मौलिकता हराउँदै गएकोमा बडिगाड गाउँपालिका–५ की ममता खत्री पनि चिन्तित छिन्। उनले पछिल्ला दिनमा देखिएका केही विकृत सोच, पात्र र प्रवृत्तिले तीज पर्व पनि विकृत र बदनाम बन्न थालेको बताइन्। अहिले दर खाने र खुवाउने नाममा तामसी पदार्थ खाने र खर्चिला भड्किला गतिविधि गर्ने ग र्दा संस्कृतिको अवमूल्यन भएको उनको भनाइ छ।

‘बजारमा केही वर्षदेखि भड्किलो पर्व बनाउने संस्कार बसेको थियो, अहिले त गाउँमा समेत भित्रिन थाल्यो, बढ्दो आधुनिकताले गर्दा पनि होला पहिले गाउँमा मादल, खैजडी, बाँसुरी बजाएर नाचिन्थ्यो भने अहिले ठूला ‘साउण्ड बक्स’ बजाएर नाच छन्, पुराना मौलिक गीत त झन् सुन्नै पाइँदैन’, उनले भनिन्, ‘कतिपय तीज गीत छाडा देखिन्छन्।’

खत्रीले यस्ता गलत गतिविधिले चाडपर्व लाई नै विकृत बनाइदिएको बताइन्। संस्कृतिलाई समय सापेक्ष संस्कृतिकै रुपमा मनाउनुपर्ने बताइन्। समयलाई बहाना बनाएर भड्किला गतिविधि गर्न नहुने उनको भनाइ छ।

‘चाडपर्वलाई मौलिक रूपमै मनाउनु पर्छ, दरका नाममा खर्चिलो र भड्किलो रूपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ। चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्छ, उनले भनिन्, ‘यदि चाडपर्वलाई यसरी नै भड्किलो बन्दै गयो भने पछिल्लो पुस्ताले मौलिक संस्कृतिको अनुभव गर्न पाउने छैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.