|

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि चुनावी सरगर्मी बढेको छ। विशेष चर्चामा छ– क्षेत्र नम्बर ५। प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले चुनाव लड्ने भएकाले यो क्षेत्रको चर्चा चुलिएको छ।

गत निर्वाचनमा पराजित भएकी आरजुले फेरि पनि यतैबाट चुनाव लड्ने इच्छा व्यक्त गरेकी हुन्। अघिल्लो निर्वाचनमा हराउन भूमिका खेलेको आरोप लागेका पार्टीका नेता पुस्करनाथ ओझा पुनः उनकै लागि बाधक हुने देखिएका छन्।

२०७० सालको उपनिर्वाचनमा विजयी ओझा २०७४ सालको निर्वाचनमा कैलाली ५ बाट आरजुलाई टिकट दिएपछि रुष्ट भएका थिए। उनी पाँच वर्षदेखि राजनीतिमा सक्रिय थिएनन्। तर चुनाव घोषणा भएसँगै उनले राजनीतिक गतिविधि बढाएका छन्।

ओझाले स्वतन्त्र उम्मेदवारी दिए, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। नेपाली काँग्रेसबाट आरजु राणा देउवा, नेकपा एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट पुष्करनाथ ओझाबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

ओझा, कैलाली तथा काँग्रेस वृत्तमा परिचित नाम हो। ओझा पार्टीको अनुशासन मिचेको भन्दै कारबाहीमा परेका थिए। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस नेतृ आरजु राणा देउवालाई हराउन भूमिका खेलको भन्दै उनलाई कारबाही गरिएको थियो।

मन्त्रीसमेत भइसकेका ओझाले अहिले  कैलाली ५ का लागि का‌ंग्रेसबाट टिकट पाउने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने चर्चा सुरु भएको छ। ओझा टिकटको लविङमा जुटेका छन्। ‘उहाँ चुनाव लड्नुहुन्छ। पार्टीबाटै चुनाव लड्ने उहाँको चाहना छ’,उनी निकटस्थ एक नेताले भने, ‘पार्टीले टिकट दिएन भने स्वतन्त्र पनि चुनाव लड्नु हुन्छ।’

 कारबाही फुकुवा गर्दै टिकट दिएमा पार्टीको चुनाव चिह्न र नभए स्वतन्त्र उम्मेदवारी दिने दाउमा ओझा देखिएका हुन्। उनले आफू समर्थक नेता–कार्यकर्तासँग छलफल पनि थालेका छन्।

तर कैलाली कांग्रेसलाई भने कारबाही फुकुवा र टिकटका लागि कुनै समन्वय नगर्न उनले आग्रह गरेका छन्। कांग्रेस कैलालीले केन्द्रमा सिफारिस नगरेमा ओझामाथिको कारबाही फुकुवा हुने सम्भावना न्यून देखिएको छ। कारबाही फुकुवा नभए उनी स्वतन्त्रको हैसियतबाटै प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिने छन्। 

फेरि नारदमुनि नै प्रतिस्पर्धी 

आरजुलाई गत निर्वाचनमा हराएका एमाले कैलालीका इन्चार्ज समेत रहेका नेता नारदमुनि रानाले पनि फेरि चुनाव लड्ने जनाएका छन्। पूर्वमन्त्री रानाले पार्टीले अझै निर्णय नगरेको बताए। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको साथ भएकालाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी हुन सहज हुने आँकनल गर्न थालिएको छ।

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार तथा सर्मथनले पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचनमा प्रभाव पार्ने देखिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण थारुले चुनाव लड्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.