|

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा ठेकेदारले पानी सफा गर्न हालेको विषादीले दुर्गन्ध फैलिँदा स्थानीय प्रभावित भएका छन्।

तालको पानी फोहोर भएको भन्दै ठेकेदारले करिब दुई साताअघि विषादी हालेका थिए। त्यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको छ। तालको एक किलोमिटर वरपरसम्म डुङडुङ्ती गन्ध आइरहेको स्थानीयवासीले बताएका छन्।

खान, बस्न र हिँडडुल गर्न समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन्।

त्यही दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ। चन्द्रनगर गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई ६ करोड २९ लाख रुपियाँमा पाँच वर्षकाे ठेक्का दिएको छ।

सो ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिँदै छ। तालको माछा ठेक्का लिएका ठेकेदार दुलार मुखियाले पानी फोहोर भएपछि सफा गर्नका लागि विषादी हालेको स्वीकार गरेका छन्।

विषादी हालेदेखि निरन्तर टन्टलापुर घाम लागेको र राम्रोसँग पानी पर्न नसक्दा दुर्गन्ध फैलिएको उनले बताए। उनले जनकपुर, वीरगञ्जलगायत भारतका विभिन्न स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएको बताए।

गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा रक्सी खाएर बोतल जथाभावी फाल्दा माछा मार्न खटिने आफ्ना कामदारको खुट्टा काट्ने गरेको, बाढी आएर माछा बगाउने गरेको, कहिलेकाँही माछा नै चोरी हुने गरेको जस्ता कारणले आफू अन्यायमा परिरहेको मुखियाले गुनासो गरे।

ठेकेदारले विषादीको गन्ध विस्तारै कम हुँदै गएको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.