राष्ट्रियताको मुद्दामा प्रचण्ड-माधव भन्दा लिङ्देन र थापासँग मत मिल्याे

|

सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रणनीति बनाउन सबै दलहरू सक्रिय छन्। 

सत्ता गठबन्धनसँग वैशाख भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रमुख प्रतिपक्षी दल पनि निर्वाचन विशेष रणनीति बनाउन केन्द्रित भएको छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनबाट जान सिट बाँडफाँडको गृहकार्यमा जुटिरहेका छन्। तर, सिट मिलाउन सकस छ। 

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबाट धक्का खाएपछि एमालेका केही नेताहरूले ०७४ सालमा झैँ वामपन्थीहरूबीच तालमेल गर्नुपर्ने कुरालाई जोड दिएका छन्। आगामी निर्वाचनमा एमालेको रणनीति, वाम गठबन्धन, संघीयता र प्रदेश सरकारमाथि उठेका प्रश्न लगायत विषयमा केन्द्रित रहेर एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानीः   

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीका लागि पार्टीले कसरी काम गरिरहेको छ? 

हामीले ४५१ जनाको चुनाव परिचालन कमिटी गठन गरेको छौँ। अस्ति त्यसको पहिलो बैठक पनि बसिसकेको छ। त्यसमा पार्टी केन्द्रीय कमिटी सदस्य, पार्टी प्रदेश समितिका अध्यक्षहरू, पार्टी केन्द्रीय विभागका सचिवहरू, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिवहरूसहितको कमिटी बनेको छ। केपी ओलीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति बनेको छ। त्यसले पनि काम गरिरहेको छ।

निर्वाचन परिचालन कमिटी प्रदेश, जिल्ला र पालिकामा पनि बनाउने तयारी गरिरहेका छौँ। हामी युवाहरूको ‘बुथ’ समिति बनाउँदैछौँ। बुथ सुरक्षित गर्ने कमिटी हुन्छ। त्यसमा विद्यार्थी र युवासहितको टिम त्यसमा हुन्छ। हामीले एकल बहुमत ल्याउनुपर्छ भनेर यस्ता तयारीका काम गरिरहेका छौँ। बीचमै छाड्नुपर्छ एमालेले अघि सारेका धेरै कामहरूबीचमा अवरूद्ध भएको छ। त्यसकारण एमालेको एकल बहुमतको सरकारले मात्रै यो मुलुकलाई समृद्ध बनाउने अभियान चलाउन सक्छ। स्वाधिनताको मुद्दलाई अगाडि बढाएर राष्ट्रिय सुरक्षा गर्नसक्छ।

एमालेले मात्रै सुशासनको आधार तयार गर्नसक्ने भन्ने प्रमाणित भइसकेको छ। हामीले स्थानीय तहको निर्वाचनमा ३४ लाख मत प्राप्त गरेर पहिलो पार्टी बनेका छौँ। कांग्रेस ३३ लाख ल्याएको छ दोस्रो पार्टी हो। त्यसकारणले गर्दा हामीले आगामी निर्वाचनबाट ५० लाख मत पुर्‍याउने अभियान थालिसकेका छौँ।

माओवादी कांग्रेसलाई कुनै हालतमा एकल बहुमत दिन तयार छैन। त्यहाँ भित्रको अन्तर्विरोध र एकतामा सुदृढ रहेको लोकप्रिय पार्टी भएकाले हामीले एकल बहुमत गरेका छौँ।

अहिले ८ लाख ५५ हजार पार्टी सदस्य छन्। हामीले ८ लाखलाई मात्रै मानेर एउटा पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने अभियान थालेका छौँ। त्यसले १६ लाख बढाउँछ। पुराना ५ मत पार्टी सदस्यले जोगाउनुपर्ने अर्को अभियान पनि हुन्छ। त्यसले गर्दा हाम्रो ५६ लाख हाम्रो मत आउने अनुमान गरेका छौँ। त्यो रणनीति अनुसार काम गरिरहेका छौँ। 

तपाईँहरूको एमालेको बहुमतसहित एक सरकार बनाउने भन्नुभयो। एमालेविरूद्ध त सत्ता गठबन्धन लागेको छ। त्यो कसरी सम्भव हुन्छ? 

गठबन्धन आफ्नो ठाउँमा लागिराख्छ। स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचनमा धेरै फरक हुन्छ। स्थानीय तहमा परिवार भेग, टोल र जातको कुराले प्रभाव पारेको हुन्छ। प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव आम चुनाव भएकाले नाता र भेग भन्दा पनि मुलुकको राजनीति, विचार, नीति र कार्यक्रमको लडाइँ हुन्छ। कार्यक्रम र लोकप्रियको हिसाबले पनि हामी अगाडि छौँ।

गठबन्धन मिलिसकेको छैन। त्यहाँभित्र ठूलो अन्तर्विरोध छ। कांग्रेस कम्युनिष्टलाई टेकेर एकल बहुमत ल्याउन चाहन्छ। त्यसकारण १६५ सिटमा आफूले १०० सिट राखेर अरूलाई ६५ सिट मात्रै दिन खोजिरहेको छ। अरू पार्टीले पनि अपमान भएर कांग्रेससँगको गठबन्धनमा बस्दैनौँ अर्को गठबन्धन गछौँ भनेर भनिसकेका छन्। त्यो कुरा प्रचण्ड र माधव नेपालले नै बोलिसकेका छन्। गठबन्धनमा कांग्रेसको दाउ एकल बहुमत ल्याउने हो।

माओवादी पनि कांग्रेसलाई कुनै हालतमा एकल बहुमत दिन तयार छैन। त्यहाँ भित्रको अन्तर्विरोध र एकतामा सुदृढ रहेको लोकप्रिय पार्टी भएकाले हामीले एकल बहुमत गरेका छौँ। कुनै गुटबन्दी र अन्तर्विरोधलाई अन्त्य गरेर निर्वाचनमा होमिएका छौँ। 

गठबन्धनमा भागबण्डालाई लिएर चर्किएको अन्तर्विरोधको मौकामा वाम गठबन्धनको सम्भावना कतिको देख्नुहुन्छ। तपाईंले पार्टीमा कुरा उठाइराख्नुभएको छ? 

राजनीतिमा असम्भव भन्ने कुरा केही छैन। आजको दिनसम्म हेर्दा सम्भावना प्रकट भएको छैन। तर, सिद्धान्त निष्ठ गठबन्धनको लागि हाम्रो पार्टीको ढोका खुला नै छ। हामीले अवसरवादी र लोभलालचको गठबन्धन नगरौँ भन्ने मात्रै हो। यो राष्ट्रिय स्वाधिनताको सुरक्षा गर्नुपर्‍यो यो गठबन्धन भएन भनेर आउँछ भनेर हामी तयार नै छौँ। हामीले सुशासन र भ्रष्टाचार नियन्त्रणको लागि एमाले नेतृत्व चाहिन्छ भन्नेलाई स्वागत गछौँ। 

भनेपछि अहिले पनि चुनावी तालमेलको लागि माओवादीका दोस्रो तहका नेताहरूबीच तपाईँहरूको छलफल भइरहेको छ? 

हामीसँग दोस्रो तहको नेताहरू त निरन्तर छलफलमा हुनुहुन्छ। तर, हामीसँग गठबन्धन होला कि भनेर प्रचण्डले कांग्रेससँग नै जोड दिइरहेको कारणले वातावरण बनिसकेको छैन। अहिले हामीसँग सम्मान रूपमा पछिल्लो समय वार्ता भएको छैन। तर, निरन्तर छलफलमा छौँ। 

वाम गठबन्धनको वातावरण नबन्नुको मुख्य जिम्मेवार ओली कि प्रचण्ड–माधव? 

हामीले वाम गठबन्धनको वातावरण बनाउन नसक्ने भनेका छैनौँ। तर, गठबन्धन के को लागि गर्ने भन्ने हुन्छ? हामीले वाम गठबन्धन गरौँ भन्नुको अर्थ प्रचण्डले माओवादी र माधव नेपालले एकीकृत समाजवादीको तर्फबाट उहाँहरू पहिले एउटै पार्टी हुनुहुन्थ्यो।

उहाँले ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्र नै पार्टी विभाजनको मुल कारण थियो। त्यो कुरामा उहाँहरूले आत्मसमीक्षा गर्नुभयो भने वाम गठबन्धनको ढोका खुल्छ। हामी पद र सरकार गठबन्धनको लागि मात्रै गठबन्धन गर्दैनौँ। राष्ट्रिय स्वाधीनताको मुद्दा छ। अमेरिकी सेनाको सक्रियता बढेको छ। विदेशीको चलखेल बढिसकेको छ। यस्तो स्थितीमा देशभक्तिपूर्ण आन्दोलन अगाडि बढ्न हिजोको कुरा बिर्सन तयार हुनुपर्छ। 

तपाईँहरूले १९ पन्ने पत्रलाई देखाउने प्रचण्ड–माधव संसद् विघटनलाई देखाउने यसरी त कसरी गठबन्धनको ढोका खुल्छ त? 

संसद् विघटन गलत थियो भनेर सर्वोच्च अदालतले भनेपछि उहाँले भनेको सरकार बनिसकेको छ। त्यसैले अब त्यतातिर फर्केर हुँदैन। हामीले वाम गठबन्धनको मिलनबिन्दुलाई १९ पन्ने आरोप पत्रलाई नै भनेका छैनौँ। तर गठबन्धन वैचारिक र कार्यक्रममा स्पष्ट भएमा आवश्यकता पनि भएपछि सम्भव हुन्छ पनि। 

ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्र नै पार्टी विभाजनको मुल कारण थियो। त्यो कुरामा उहाँहरूले आत्मसमीक्षा गर्नुभयो भने वाम गठबन्धनको ढोका खुल्छ।

विचार मिल्नेसँग तालमेल हुन्छ भन्नुहुन्छ। तर, राजावादी दल राप्रपा र कमल थापासँग छलफल गरिराख्नुभएको छ। भनेपछि उहाँहरूसँग विचार मिल्यो?

उनीहरू राजावादी हुन्। तर, राष्ट्रियताको मुद्दामा राजेन्द्र लिङ्देन र कमल थापा प्रचण्ड-माधव भन्दा अगाडि देखिए। देशभक्तिपूर्ण आन्दोलनको मुद्दा उहाँहरूले मिल्यो। अहिलेको चुनाव राजा ल्याउने कि नल्याउने भन्ने त होइन नि!

एमालेले एकल बहुमतको दाबी गर्दै गर्दा फेरि केपी ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि किन अघि सार्नुभयो? 

सुशासन र समृद्धिको अभियानको नायक केपी ओली नै हो। वैचारिक र संगठािनक नेता पनि केपी ओली नै हो। ओलीले राष्ट्रिय स्वाधीनताको मुद्दा अघि सार्ने पनि उहाँ नै हो। हाम्रो अतिक्रमित भू–भाग हामीले पाउनुपर्छ भनेर दावा गर्ने उहाँले आँट गर्नुभयो। उहाँले चालेको कदम बिचमा रोकिएका छन्।

हामीले चुच्चे नक्सा प्रकाशन गर्‍यौँ। लडाइँ लड्ने भनेका छैनौँ। तर, आफ्नो भू–भागको विषयमा कुटनीतिक पहल हुनुपर्छ भनेका हौँ हामीले। राष्ट्रिय स्वाधीनताको मुद्दा ओलीकै अभावमा ओझेल परेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले जुट ढंगले अघि बढाएका थियौँ। त्यो अहिले हुन सकेको छैन। हामीले सात मन्त्रीले नै प्रदेश सरकारलाई प्रभावकारी ढंगले चलाइरहेका थियौँ।

तर, हाम्रो सरकार गिरेर गठबन्धनको सरकार बनेपछि प्रदेश सरकार मागिखाने र लुटिखाने भाँडो बनाएका छन्। १७\१८ जना मन्त्री नै बनाएका छन्। कुनै काम गरेको छैन। उनीहरूको गतल क्रियाकलापकै कारणले संघीयता र प्रदेश सरकारमाथि प्रश्न उठेको छ। त्यसकारण संघीयताको औचित्य पुष्टि गरेर संविधानको मर्म अनुसार काम गर्न ओली नेतृत्वको सरकार चाहिएको छ। त्यसैले हामीले उहाँलाई अघि सारेका हौँ। अहिलेलाई ओली नै हाम्रो नेता र भावी प्रधानमन्त्री हो। 

तपाईँले मुख्यमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभयो। अहिले संघीयता र प्रदेश सरकारमाथि नै प्रश्न उठ्नुको जिम्मेवार कसलाई देख्नुहुन्छ? 

त्यसको मुख्य जिम्मेवार नै सत्ता गठबन्धन हो। त्यसमा पनि मुख्य जिम्मेवार माओवादी, कांग्रेस र एकीकृत समाजवादी हो। उनीहरूले नेतृत्व गरिरहेको ठाउँमा भद्रगोल भएको छ। प्रदेश २ मा जसपाको नेतृत्वमा थियो अहिले पनि त्यही छ। अन्यमा एमालेलाई नेतृत्वबाट हटाएर उहाँहरूले लिएपछि प्रदेश सरकारको बदनाम बनाएका छन्।

प्रदेशको क्षमता वृद्धि गर्नुपर्ने, प्रदेश सरकार विकास निर्माणको मुख्य केन्द्रको रूपमा स्थापित गराउन छाडेर सत्ताको लुछाचुँडीमा लागे। ‘संघीयता मागिखाने भाँडो हो, काम छैन’ भन्ने उहाँहरूको गतिविधिले देखाएको छ। संघीयता भएन भने मुलुक बन्दै भन्ने नेताहरूका मुख्यमन्त्रीहरूले नै आज संघीयता र प्रदेश सरकारमाथि प्रश्न उठ्ने ठाउँमा पुर्‍याएका हुन्। त्यसैले एमाले नेतृत्वको प्रदेश सरकार बनाउनुपर्छ भनेर हामी चुनावमा लागेका छौँ।

संविधान र संघीयताको मर्मअनुसार काम गर्न एमाले नै नेतृत्वमा चाहिन्छ। नत्र, उहाँहरूको लुटिखाने भाँडो मात्रै बन्छ। त्यसका लागि सत्ता गठबन्धनले जसरी पनि हार्नुपर्छ र एमालेले जित्नुपर्छ भन्ने म यहीबाट आह्वान पनि गर्छु।  

त्यसो त माओवादीले संघीयतालाई आफ्नो एजेण्डाको रूपमा दाबी आइरहेको छ नि! 

माओवादीले संघीयतालाई आफ्नो एजेण्डा भनेर दाबी गरेर मात्रै हुँदैन। त्यो व्यवहारमा देखिनुपर्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीबाट बनेका छन्। त्यहाँ हेर्नुस् त, काम कसरी भएका छन्! संघीयता बलियो बनाउने काम भएको छ कि बदनाम? गणतन्त्र बलियो बनाउने काम भएको छ कि बदनाम? जनताको आधारभूत आवश्यकता पुरा गर्न केही काम भएका छैनन्। सुशासन अन्त्य भएको छैन। मुखले भ्रष्टाचारको विरोध गर्ने व्यवहारमा अर्काे भइरहेको छ। 

राष्ट्रियताको मुद्धामा राजेन्द्र लिङ्देन र कमल थापा प्रचण्ड-माधव भन्दा अगाडि देखिए। देशभक्तिपूर्ण आन्दोलनको मुद्धा उहाँहरूले मिल्यो।

तर, माओवादीले एमालेलाई संघीयता र संविधान विरोधी भएको भन्दै आइरहेको छ त?

उनीहरूले संघीयता विरोध भनेको पार्टीले नै अहिले संघीयतालाई कार्यान्वयन गरेर यहाँसम्म ल्याएको हो। तर, प्रचण्डजी संघीयतालाई आफ्नो नारा भन्नुहुन्छ। उहाँले कहाँ चाहिँ संघीयतालाई सही ढंगले कार्यान्वयन गर्नुभयो त? उहाँलाई अहिले संघीयताको चिन्ता छैन। त्यो चिन्ता उहाँले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सरकारबाट प्रकट गराउन सक्नुहुथ्यो। त्यो अनुसारको व्यवहार हुनुपर्‍यो। त्यही कहीँ देखिएको छैन। त्यो त कार्यकर्ता व्यवस्थापनको थलो मात्रै बनाएको छ। 

तपाईँले एमालेलाई राष्ट्रवादी पार्टीको रूपमा चित्रण गर्नुभयो। अबको निर्वाचन यो एजेण्डाले कति सिट ल्याउने आँकलन गर्नुभएको छ? 

हामीले एकल बहुमत भनेका छौँ। आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन गर्ने निर्णय गर्ने भएकाले बहुमतको लक्ष्यअनुसारको रणनीतिमा अघि बढिरहेका छौँ। 

०७४ सालमा वाम गठबन्धन गरेर स्थिर सरकारको एजेण्डा लिएर जनताको बिचमा गएको थियो। तर, त्यो सफल भएन अब एमालेले कस्ता एजेण्डा लिएर जान्छ?

हाम्रो मुख्य नारा भनेकै स्थिर सरकार नै हो। त्यतिखेर हामीले बहुमत दिनुस् भनेका थियौँ। गठबन्धनको बहुमत भयो। तर, एमालेको एकल बहुमत भएन। एमालेको बहुमत नआएकै कारण अहिले मुलुकले क्षति व्यहोर्न बाध्य भएको छ। त्यसकारण हामी ‘अस्थिरतावादी शक्तिलाई भोट नदिनुस्। एमालेलाई एकल बहुमत दिनुस्’ भनेर जान्छौँ।

कांग्रेसको एकल सरकार पनि देखियो। वामहरूको सरकार पनि स्थिर बन्न सकेन। माओवादीको बहुमत आकाशको तारा खसालेजस्तो मात्रै हो सम्भावना छैन। त्यसैले एमालेको एकल बहुमत भयो भने स्थिर सरकार बन्छ। लोकतन्त्र सुदृढ गर्न, संघीयता कार्यान्वयन गर्न, संविधानको रक्षा गर्न, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि, समृद्धिको अभियान पूरा गर्ने नारा लिएर जान्छौँ।  

तपाईँहरूको दाबीअनुसार पछिल्लो समय एमालेको लोकप्रियता बढेको आधार के छ?

त्यो त स्थानीय तहको निर्वाचनमै देखिसक्यौँ नि! हाम्रो ३४ प्रतिशत आयो। कांग्रेसको ३३ प्रतिशत आएको छ। उनीहरूले सत्ता दुरूपयोग गरेर प्रहरी र कर्मचारी ‘सेटिङ’ गर्दा पनि, सबै ठाउँमा घेराबन्दी हुँदा पनि पहिला दल बन्नु ठट्टा होइन नि!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.