|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद गरिएको सो घुम्ती शौचालयको मर्मतसम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएका हुन्।

घुम्ती शौचालय प्रयोगमा नआएपछि चन्द्रनिगाहपुर आउने यात्री र बटुवालाई समस्या हुन थालेको छ। पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकाले चन्द्रनिगाहपुर आउने यात्रीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीयको बताउँछन्।

नगरपालिकाले ३ वर्षअघि करिब १५ लाख रूपैयाँ लागतमा दुईवटा घुम्ती शौचालय खरिद गरेको थियो। अहिले दुवै घुम्ती शौचालय प्रयोगविहीन भएका छन्। एउटा शौचालय चन्द्रपुर नगरपालिका अगाडि थन्किएको छ भने अर्को चन्द्रपुर–६ मा रहेको शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा प्रयोगविहीन छ।

सामान्य मर्मत गर्दा प्रयोगमा ल्याउन सकिने दुवै शौचालय मर्मतसम्भार नभएर अलपत्र परेका छन्। पछिल्लो समय विभिन्न खेल प्रतियोगितामा सहभागी हुने खेलाडी र दर्शक लक्षित गरी खेल मैदानमा राखिएको शौचालय लथालिङ्ग अवस्थामा थन्किएको छ। रेखदेख नभएपछि उक्त शौचालयको पछाडिका दुवै पाङग्रा चोरिएका छन्।

बसका यात्रीदेखि सवारीधनी र चालकको खाना खाने स्थलका रुपमा चन्द्रनिगाहपुर परिचित छ। तर सार्वजनिक शौचालय नभएका कारण यात्रु शौच गर्नकै लागि चिया, नास्ता र खाना खान होटेल छिर्नुपर्ने बाध्यता रहेको छ।

चन्द्रनिगाहपुर चोकमा सार्वजनिक शौचालय नहुँदा बसका यात्रुले समस्या भोग्दै आएका छन्। रौतहट बस व्यवसायी सघंका अध्यक्ष रामाशंकर गिरीले भने, ‘शौच गर्नकै लागि बाध्य भएर यात्रीहरू होटलमा चिया, नास्ता वा खाना खानुपर्ने अवस्था छ।’

जिल्लाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको चन्द्रनिगाहपुर बजारमा सार्वजनिक शौचालय नहुँदा व्यापारी तथा उपभोक्तासमेत शौचको लागि समस्यामा पर्ने गरेका छन्। चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र सापकोटाले सार्वजनिक शौचालयको अति नै समस्या रहेको बताएका छन्। नगरपालिकासँग रहेको घुम्ती शौचालय मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउनसमेत आफू पहल गरिसकेको बताएका छन्।

चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय काफ्लेले प्रयोगविहीन घुम्ती शौचालय आवश्यकताअनुसार सञ्चालनमा ल्याउने बताए छन्। नगरपालिका प्रमुख काफ्लेले तत्काल घुम्ती शौचालय मर्मत गराउने पक्षमा देखिएका छैनन्। उनका अनुसार नगरपालिका क्षेत्रका होटलले नै सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिनेछन्। मेला, हाटबजार खेलकुद जस्ता स्थानमा आवश्यकताअनुसार घुम्ती शौचालय प्रयोग गर्ने दाबी उनले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.