|
पुथा उत्तरगंगा–१० तक गाउँ ।

रुकुम पूर्व : पुथा उत्तरगङ्गा गाउँपालिका–११ माथिल्लो सेराका रामकुमार बुढा मगरले ३ दशक अघिदेखि पालेका सबै भेडा दुई वर्ष अघि बेचिदिए।

बुढेसकाल लाग्यो, खर्कका भेडा हेर्ने कोही भएनन्। उमेर ढल्किँदै जाँदा उनले पुर्ख्यौली पेशा धान्न सकेनन्।  ‘भेडा बेच्ने मन थिएन’, उनले भने, ‘उमेर ढल्किँदै गएसँगै एक्लै पाल्न नसकिने रहेछ।’

रामकुमार मात्र होइन, यो क्षेत्रमा पहिलेझैँ भेडापालक छैनन्। एकाध पाका पुस्ताले भेडापालनलाई निरन्तरता दिए पनि युवापुस्ताले चासो देखाएका छैनन्। गाउँपालिका–१० र ११ सँगै अधिकांश वडामा एक दशक अघिसम्म घरैपिच्छे भेडा पालन व्यवसायमा थिए। अहिले यी वडामा थोरै मात्र व्यावसायिक भेडापालनमा छन्। 

‘लेकबेँसी गराउँदै व्यवसाय फस्टाउने पेशा हो, भेडापालन’ पुथाउत्तरगङ्गा–११ का कार्यवाहक वडाध्यक्ष लयन बुढा मगरले भने,‘पहिले घरैपिच्छे भेडापालन गर्दै आएको व्यवसाय लोप हुँदै गएको छ। अहिले कमै मात्रैले भेडा पालन गरिराख्नु भएको छ।’ 

भेडापालनका लागि जाडो (हिउँद) यामको ६ महिना बेँसी र गर्मी (वर्षा)यामको ६ महिना लेकका ठाउँठाउँमा गोठ बनाएर बस्नुपर्छ। व्यावसायिक भेडापालक गर्मीयाममा चरिचरनका लागि तिब्बती सीमासम्म पुग्छन् भने जाडो याममा भेडादाङसम्म पुर्‍याउँछन्।  

विदेश पलायनले भेडापालन घट्दो

पुर्खाले अँगालेको पेशा व्यवसाय भन्दा नयाँ पुस्तामा विदेश पलायन भइरहेकाले भेडा पालनमा कमी आएको छ। एक दशक अघिसम्म युवा पुस्ता विदेश पलायन प्रचलन थिएनन्। ७\८ वर्ष यता देखि युवा पुस्तामा विदेश पलायन हुने क्रम बढेपछि भेडापालन पेशा घट्दै आएको स्थानीय बताउँछन्  

विगतमा रोजगारका लागि साना देशमा जाने गरेका थिए, अहिले भने अमेरिका, जापान लगायत ठूला देशमा जाने नयाँ पुस्तामा प्रतिस्पर्धा भएकाले पनि गाउँमा पशु पालन गर्नेको संख्या घटेको पुथाउत्तरगङ्गा–११ का आयुष बुढा मगरले बताए।

भेडापालन व्यवसायको महत्त्व नबुझेकै कारण लाखौँ रुपैयाँ लगानी गरी नयाँ पुस्ता विदेश पलायन भइरहेको बुढा मगरले बताए । १००\२०० सय भेडाबाट वार्षिक कम्तीमा पनि तीन\चार लाख रुपैयाँ आम्दानी गरिराखेको बुढा मगरले जानकारी दिए । भेडा, भेडाको ऊन र ऊनबाट तयार गरिएको सामग्री बिक्रीबाट कृषकले राम्रो आम्दानी गर्ने गरेका छन्। 

पुर्खाले भेडापालन गरेर नगदको मुख्य आयस्रोत भेडा बिक्रीवापतको पैसा नै हुने गरेको पुथाउत्तरगंगा–१० तकका दयाधन घर्ती मगरले बताए । घुम्ती गोठ प्रणाली भएकाले भेडापालन व्यवसाय हराउँदै गएको घर्ती मगरले सुनाए। दुःख बढी हुने हुँदा नयाँ पुस्ताले भेडापालनलाई व्यावसायिकता दिन नसकेको उनको भनाइ छ।

कृषकलाई प्रोत्साहन 

भेडापालक कृषक विदेशिने क्रम बढेपछि लाई प्रोत्साहनस्वरूप सरकारले विभिन्न कार्यक्रम ल्याएको छ। संघ, प्रदेश र गाउँपालिका गरी तीन तहका सरकारले भेडापालक कृषकलाई प्रोत्साहनमा जोड दिँदै आएको गाउँपालिकाका पशु शाखा प्रमुख भीमप्रकाश केसीले बताए। 

गएका आर्थिक वर्षहरूमा संघीय सरकारको ऊन विकासका लागि भेडा प्रवर्धन कार्यक्रम, लागत साझेदारीमा भेडा संरक्षण कार्यक्रम, ऊन मिसन अन्तर्गत भेडा प्रवर्धन कार्यक्रम, प्रदेश सरकारको भेडा प्रजनन केन्द्र कार्यक्रम साथसाथै गाउँपालिकाले औषधि उपचार, गोठ सुधार एवं कृषकलाई तालिम तथा परामर्श कार्यक्रम समेत सञ्चालन गरिएको केसीले जानकारी दिए ।  

३०० घरधुरी हाराहारीमा भेडापालक कृषकसँग करिब २१ हजार भेडा गाउँपालिकामा रहेको केसीले बताए। कृषकलाई प्रोत्साहनका लागि तीन तहकै सरकारबाट रहेक आर्थिक वर्षमा अनुदानका कार्यक्रम मार्फत लगानी गरिराखेको केसीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.