|

बागलुङ : मंगलबार अर्थात तिजको दिन मध्यान्नतिर बागलुङ बजारको चिप्लेटी बसपार्कमा धुमधामका साथ स्थानीयले तिज मनाइरहेका थिए। कोही नाच्दै कोही गीत गाउँदै थिए। उनीहरुमा निकै खुशी छाएको थियो।

तर त्यही बागलुङ बजारभन्दा केही तल मालढुङ्गा कालीगण्डकी किनारमा भने तीनजना मजदुर गिट्टी कुटिरहेका थिए। मुहारमा निराशा, निधारभरि पसिनाका धार बगिरहेका ती मजदुरलाई तिजको रमझमले छोएको थिएन। उनीहरूलाई तिजको कुनै परवाह नै थिएन।

शरीरमा पुराना उध्रिएका र तुनिएका कपडा लगाएर चर्को घाम गिट्टी कुट्दै गरेका उनीहरूलाई न चाडबाडले छुन्छ, न रमझमले। उनीहरूलाई छुन्छ त केवल साँझ बिहानको छाक कसरी टार्ने भन्ने पिरले।

कालीगण्डकी छेउमा गिट्टी कुट्ने उनीहरूको दैनिकी नै हो। नारीहरूको महान चाड मानिने हरितालिका तिजमा रमाउने उनीहरूको नभएको त कहाँ हो र?, परिवारको आर्थिक अवस्था र अनेकौँ बाध्यताले गर्दा उनीहरूलाई जितको दिन पनि यसरी गिट्टी कुट्नु परेको हो।

‘अहिले काम गरिएन भने साँझ के खाने? तिजको मेला हेरेर बेलुकी खाना खान नपर्ने भए पो, पेटले खाना खोज्छ, केटाकेटीले खान खोज्छन्‚’ गिट्टी कुट्दै गरेकी मीना तामाङले भनिन्‚ ‘साना–साना केटाकेटी छन्, उनीहरु मेला हेर्न जान्छौँ भन्दै माथि बजारतिर गएका छन्, मलाई पनि जान त मन थियो, फेरि यता काम छ, काम छोडेर जाने कुरा पनि भएन। आज दिउँसोभरी अलिकति भए पनि गिट्टी तयार भयो भने त ३/४ दिनमा पैसा आइहाल्छ, मेला हेर्न गए यही पनि कमाइँदैन, त्यही भएर गइनँ।’

धादिङ घर भई बागलुङ नगरपालिका-१ मालढुङ्गामा बस्दै आएकी तामाङका दुई छोरी र एक छोरा छन्। परिवारको आर्थिक अवस्था निकै कमजोर हुुँदा उनीहरूलाई पढाउन पनि सकेकी छैनन् तामाङले। ७ र ६ वर्षका दुई छोरी र ५ वर्षका एक छोरा पनि तामाङसँगै गिट्टी कुट्ने गर्छन्। आज भने छिमेकी छोराछोरीहरू मेला हेर्न जाँदा उनीहरू पनि सँगै गए।

तामाङले अरुका लागि चाडपर्व आए पनि आफ्ना लागि भने कहिल्यै नआउने बताइन्। ‘अरुलाई चाडपर्व आएको छ, रङ्गरमाइलो छ। मलाई भने यो चाडपर्व कहिल्यै आउँदैन, यो वेला झन् मलाई समस्या पर्ने गर्छ। सबैका छोराछोरीले नयाँ नयाँ लुगा लगाउँछन्, मेरो आर्थिक अवस्थाले यी तीनै भाइबहिनीलाई नयाँ लुगा किनीदिन सक्दिनँ, मिठो मसिनो खान खोज्छन्‚’ उनले भनिन्‚ ‘आज त जसोतसो आधा किलो मासु किनेर खुवाएँ, केटाकेटी हुन् राम्रो लाउने, मिठो खाने भनेर झगडा गर्छन्।’

उनले आफ्ना पतिका बारेमा भने बताउन चाहिनन्। छोराछोरीलाई आफूबाहेक लालनपालन गर्ने अरु कोही मान्छे नभएको बताइन्।

तामाङले गिट्टी कुट्ने ठाउँभन्दा अलि पर एकजना कपाल र दाह्रीजुँगा सबै फुलेका वृद्ध पनि गिट्टी कुटिरहेका थिए। उनले यसरी गिट्टी कुट्न थालेको २० वर्षभन्दा बढी भयो। यसरी गिट्टी कुट्नु उनको पनि रहर होइन।

७६ वर्षीय पिताम्र कुमाल पनि कालीगण्डकी छेउमा बस्दै आएको बताए। दुईजनाको परिवार भए पनि खाना लाउनको निकै दुःख रहेको कुमाल बताउँछन्।

‘घरमा श्रीमती छिन्, उनी अलिक बिरामी भएको हुँदा आज काम गर्न आइनन्, नत्र सधैँ आउँथिन्। हिँजो साँझ भोलि त मेला हेर्न जान्छु भन्दै थिइन्, राति ज्वरो आएर सुतिन्,’ उनले भने‚ ‘दुईजना भएर के गर्ने काम नगरेसम्म खानै पुग्दैन। घरमा यतिकै बस्नभन्दा यहाँ आएर एकछिन् गिट्टी बनाइयो भने चामल, दाल त आउँछ। मैले गिट्टी कुट्न थालेको त २० औँ वर्ष भयो।’

मालढुङ्गाको केही तल पर्वतकी पार्वती विक र उनी बहिनी निसा विकले बालुवा बोकिरहेका थिए। यसपालि उनीहरूको तिज रहेनछ। गत फागुनमा बाबा बितेको हुँदा तिज नमनाएका उनीहरूलाई मेला हेर्ने भने रहर थियो।

बिहानदेखि दिउँसो १ बजेसम्म बालुवा बोकेर मेला हेर्न बागलुङ बजारमा जाने सोच बनाएका उनीहरू धमाधम बालुवाका बोरा ओसारिरहेका थिए। आधा दिनको काम सकेर मेला हेर्न जाने दिदी पार्वतीले बताइन्। बिहानै मेला शुरु नहुने भएपछि दिउँसो जाने योजना भनाएको उनले बताइन्।

‘बहिनीले बिहान गएर मेला हेरम्, २ बजेतिर आएर बालुवा बोकम्ला भनेकी थिई। बिहानै मेला शुरु हुन्न दिउँसो १ बजे जाम्ला, १ बजेसम्म बालुवा बोकम भनेर ७ बजेदेखि बालुवा ओसारिरहेका छौँ‚’ पार्वतीले भनिन्‚ ‘यत्ति बालुवा बोकियो, यत्ति बालुवाको १२ सय जति पर्ला, अर्को दिन बोकेर २ हजार पुर्‍याउनु पर्ला।’

उनले २ दिनको वर्षाले गर्दा काम गर्न नपाएको भन्दै खर्च व्यवस्थापनमा समस्या भएको सुनाइन्।

‘अस्ति दुई दिन पानी परेर काम गर्न पाइएन, त्यसले गर्दा चामल, नुन सकिएको थियो। अहिले पैंचो गरेर चलाएका छौँ, आज तिज भएर के गर्ने आधा दिनको काम गरेर भए पनि अलिकति पैसा आउँछ। मेला हेर्न गएपछि १/२ सय खर्च भईहाल्छ,’ पार्वतीले भनिन्‚ ‘त्यही भएर आज बिहानैदेखि बालुवा ओसारेको, आज खाना खाइएन, चाउमिन खाएका हौँ। पानी पर्ला जस्तो भएको छ, पानी पर्‍यो भने काम गर्न नदिने होला!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.