सिट बाँडफाँटमा शीर्ष तह र कार्यदलको प्रयास निरन्तर असफल

|

काठमाडौं : ‘तीन पटकमा राँगा त छिन्छ भन्छन्, राम्रो हिसाबकिताब गरेर मात्रै झापा १ मा यसपटकको निर्वाचनमा उम्मेदवार बन्छु। गठबन्धनको भागबण्डामा माओवादीलाई पर्नसक्छ। पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ। यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु।’

यो माथिको अभिव्यक्ति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको हो। उनी अहिले सत्ता गठबन्धनका तर्फबाट झापाबाटै चुनाव लड्ने घोषणा गरेर तयारीमा लागिसकेका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँटमा गर्ने मुस्किल परिरहेको वेलामा उनले आफू झापाको निर्वाचन क्षेत्र १ नछाड्ने अडान लिएका हुन्। 

महामन्त्री शर्मा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए। ०७४ सालमा एमालेसँग गठबन्धनमा रहेको माओवादी अहिले कांग्रेससँग सहकार्यमा छ। वाम गठबन्धनका तर्फबाट कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत मात्रै ल्याएका थिए। 

शर्मा र कार्की दुवैको दाबीले झापा १ मा गठबन्धनलाई सहमति जुटाउन मुश्किल पर्ने देखिन्छ। त्यसो त संविधानसभाको निर्वाचनमा पनि एमाले नेता रविन कोइरालाले शर्मालाई पराजित भएका थिए। निरन्तर हार बेहोरेका शर्मा यसपटक सत्ता गठबन्धनको आडमा सफल हुने प्रयासमा छन्। 

सिन्धुपाल्चोक २ मा अग्नि र मोहनको प्रतिस्पर्धा

झापा १ झैं सिन्धुपाल्चोक १ मा पनि हेविवेट नेताहरूको आकांक्षाले सहमति जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ। सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतको आकांक्षाले सिन्धुपाल्चोकमा गठबन्धन नै टुट्ने अवस्थामा छ। 

०७४ को निर्वाचन वाम गठबन्धनका तर्फबाट अहिलेका सभामुख अग्निप्रसाद सापकोटा विजयी भएका थिए। अहिले फेरि उनी आकांक्षी देखिएका छन्। 

सापकोटा ४० हजार ५०४ मत ल्याउँदा कांग्रेसका मोहन बस्नेतले २९ हजार ७९८ मत मात्रै ल्याएका थिए। सो क्षेत्रमा अहिले गठबन्धनको तर्फबाट दुवै आकांक्षी छन्। 
सिन्धुपाल्चोक १ मा आफूहरूको बलियो पकड भएकाले माओवादीलाई छाड्न नसक्ने बस्नेत बताउँछन्। 

उनी भन्छन्, ‘स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा पनि हामी पहिलो पार्टी छौँ। माओवादी तेस्रो हो। हामी एक्लै जित्न सक्ने ठाउँमा माओवादीलाई छाड्न सकिँदैन। मैले शीर्ष नेताहरूको बैठकमा पनि भनिसकेको छु।’

त्यसो त उनले कांग्रेस केन्द्रीय समितिको बैठकमै आफूले टिकट नपाए विद्रोह गर्ने चेतावनी दिएका थिए। नेता बस्नेत कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर निकट मानिन्छन्। 

यता, गठबन्धनको तर्फबाट आकांक्षी सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका मानिन्छन्। उनी गठबन्धनमा सहमति बन्न नसके दोस्रो पुस्तालाई अघि सार्नुपर्ने पक्षमा देखिएका छन्। 

दोस्रो पुस्ताबाट माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ बलियो दाबेदार हुन्। उनी पनि पछिल्लो समय जिल्लामै केन्द्रित छन्। 

तनहुँमा रामचन्द्र पौडेललाई सकस 

त्यसो त तनहुँ १ मा पनि गठबन्धनलाई भागबण्डा गर्न सकस परेको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दुवैले आकांक्षा व्यक्त गरेपछि गठबन्धनलाई समस्या परेको हो।

०७४ मा कांग्रेस वरिष्ठ नेता पौडेल वाम गठबन्धनका उम्मेदवार श्रेष्ठसँग पराजित भएका थिए। अहिले पौडेल र श्रेष्ठ दुवै सत्ता गठबन्धनमा छन्।

यसअघि नेता पौडेलले पनि तनहुँ १ बाट आफू चुनाव लड्ने बताइसकेका छन्। दुई नेताको आकांक्षाले गठबन्धनमा भागबण्डा मिलाउन सकस परिरहेको छ। 
०७४ मा वाम गठबन्धनका तर्फबाट श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा  पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए। 

नेता श्रेष्ठ तनहुँ १ मा आफ्नो दाबी स्वाभाविक रहेको बताउँछन्। 

उनले गत मंगलबार तनहुँ पुगेर भनेका थिए, ‘राजनीतिक दलबीच पहिला भएको सहमतिअनुसार ज–जसले जहाँबाट जितेको छ‚ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वाभाविक हो।’

आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने उनले बताए। ‘पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु‚’ उनले भने, ‘धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानु छ।’

डोटीमा आलेलाई टिकटको नै दुःख 

गठबन्धनलाई भागबण्डाका लागि मुस्किल पर्ने ठाउँमध्ये डोटी पनि एक हो। 

एउटा मात्र निर्वाचन क्षेत्र भएको डोटीमा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, पूर्वमन्त्री तथा एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेमबहादुर आले र सुदूरपश्चिमका मुख्यमन्त्री तथा नेकपा माओवादीका नेता त्रिलोचन भट्टबीच रस्साकस्सी चलिरहेको छ। गठबन्धनमा तीनैजना नेताले आफ्नो आकांक्षा प्रस्तुत गरिसकेका छन्। 

डोटीमा एकीकृत समाजवादीले आलेलाई उम्मेदवार बनाउने भनेर सिफारिशसमेत गरिसकेको छ। अरुले आन्तरिक रुपमा गृहकार्य गरिसकेका छन्। तर त्यहाँ आलेको सम्भावना बलियो देखिन्छ। 

०७४ को निर्वाचनमा कांग्रेसका बलायरलाई हराएर वाम गठबन्धनका तर्फबाट आले विजयी बनेका थिए। आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत ल्याएका थिए। तर‍ आफूहरूले टिकट नपाएर भोट होल्ड गर्ने चेतावनी कांग्रेसले दिइसकेको छ। 

प्युठानमा वामदेवले ताकेपछि दुर्गालाई अफ्ठ्यारो 

त्यसो त गठबन्धनभित्रै सिट बाँडफाँडको सकस परिरहेको वेलामा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक पनि माओवादीकै चिह्नबाट उठ्ने भएपछि थप जटिल बनेको छ। उनले राष्ट्रिय जनमोर्चाले एकमात्र सिट जितेको प्युठानमा दाबी गरेका छन्। प्युठानमा जनमोर्चाको पकड छ। शुरुदेखि नै गठबन्धनमा सामेल रहेको जनमोर्चाले प्युठान दाबी गर्नु स्वाभाविक हो। 

तर एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरेर माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चिह्नमा लड्ने तयारी गरेका गौतमले पनि त्यहीँ नजर लगाएका छन्। ०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार डा. गोविन्दराज पोखरेललाई पराजित गरेर जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजय भएकी थिइन्। 

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत मात्रै ल्याएका थिए। तर अहिले कांग्रेसबाट पोखरेलले पनि आकांक्षा व्यक्त गरिरहेका छन्। 

नेता गौतम गत चुनावमा बर्दिया–१ बाट पराजित भएका थिए। बर्दियामा फेरि जित्ने सम्भावना नभएकै कारणले उनले प्युठान फर्किने तयारी गरेको बुझिएको छ।  

अन्त पनि उस्तै

गठबन्धनमा भागबण्डाको रस्साकस्सी मकवानपुर २ पनि उस्तै छ। एकीकृत समाजवादीका प्रभावशाली नेता तथा पूर्वमन्त्री विरोध खतिवडा, कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय, माओवादीको तर्फबाट राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारीले दाबी गरिरहेका छन्। 

०७४ को निर्वाचनमा उपाध्यायलाई वाम गठबन्धनका खतिवडाले पराजित गरेका थिए। खतिवडाले ४४ हजार ७४४ मत ल्याउँदा डिनाले ३२ हजार ६८५ मत मात्रै ल्याएकी थिइन्।

मकवानपुर २ खतिवडाले निरन्तर जितिरहेको क्षेत्र हो। एमालेबाट एकीकृत समाजवादीमा लागेका नेता खतिवडा अहिले गठबन्धनले सिट भागबण्डा टुंगो नलगाउँदै चुनाव प्रचारप्रसारमा जुटिसकेका छन्। 

त्यसो त माओवादीका तर्फबाट बिडारीले पनि आफ्नो दाबी छाडेका छैनन्। वरिष्ठ अधिवक्तासमेत रहेका बिडारी प्रचण्डका नजिकका नेता मानिन्छन्। 

यस्तै, नुवाकोट १ मा पनि उस्तै प्रतिस्पर्धा छ। ०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट माओवादीका हितबहादुर तामाङले जितेको ठाउँमा अहिले कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दाबी गरेका छन्। 

देउवाको विश्वासपात्र रहेका महतको दाबीले नुवाकोटमा टिकटमै उस्तै टक्कर पर्ने देखिएको छ। गत चुनावमा कांग्रेसका रामशरण महत त्यहाँ पराजित भएका थिए।

गठबन्धनमा टिकट वितरणमा सकस परिरहेको मात्रै होइन सिट बाँडफाँट गर्नसमेत सकेको छैन। सिट बाँडफाँटको विषयमा पटक पटक बसेको कार्यदलको बैठक समेत निष्कर्षविहीन बन्दै आएको छ। 

प्रतिनिधिसभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्। कार्यदल र शीर्ष नेताले समेत अझै सिट बाँडफाँटको मापदण्डसमेत बनाउन सकेका छैनन्। 

तर माओवादीका महासचिव देव गुरुङ भने सिट बाँडफाँट केही दिनमा टुंगो लाग्ने बताउँछन्। 

उनी भन्छन्, ‘नेताहरूले आफ्नो क्षेत्रमा आकांक्षा व्यक्त गर्नु स्वाभाविक हो। तर अब मापदण्ड बनेपछि हामीले टुंग्याउँछौँ। सिट बाँडफाँटका लागि बाहिर चर्चा भएजस्तो समस्या छैन। हामी सहमतिनजिक पुगिसकेका छौँ।’

मापदण्डको आधारमा सिट विभाजन हुने भएकाले कुनै विवाद नहुने उनको भनाइ छ। गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनिरहेको वेलामा एउटै क्षेत्रमा परेको हेविवेट नेता व्यवस्थापनमा उस्तै चुनौती गठबन्धनलाई परेको छ। सिट भागबण्डामा मतभेद कायमै रहे निर्वाचनमा अन्तर्घात हुनसक्ने भय पनि गठबन्धनका दलहरूमा उत्तिकै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.