राष्ट्रियताको मुद्दा देखाएर एमालेबाट ओली सर्वसम्मत

|

काठमाडौं : ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बित्यो। दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले साँच्चै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाई त्यसमा गर्व छ’ असार १० को काठमाडौंमा आयाजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए। 

सत्ता गठबन्धनको आडमा पार्टीलाई चुनावमा हेलाउने प्रयत्न गरिरहेका प्रचण्ड फेरि प्रधानमन्त्रीको दौडमा लागिसकेका छन्। तेस्रो शक्तिको रूपमा सधैं स्थापित भइरहेको मौकालाई सदुपयोग गरेर कहिले कांग्रेस, कहिले एमालेसँग बार्गेनिङ गरेर दुईपटक प्रधानमन्त्री बनिसके। तेस्रोपटक सत्ताको बागडोर सम्हाल्ने रहर उनको मरेको छैन। 

‘अर्कोपटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रूपमा देशमा देखा परेका यी तमाम विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ’‚ प्रचण्डको भनाइ थियो। 

०७४ सालको निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा एमालेसँग सहकार्य गरेका प्रचण्ड अहिले कांग्रेसको कित्तामा छन्। नेकपामा ओलीले आलोपालो सहमति तोडेपछि प्रचण्डले २३ सिटमा खुम्चिएको दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ताको चाबी बुझाए। 

अहिले देउवा सत्ता र प्रचण्डसहित गठबन्धनको आडमा कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रूपमा स्थापित गराउन सफल भइसके। आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा पनि कांग्रेसले गठबन्धनलाई प्रयोग गरेर एकल बहुमत ल्याउने रणनीति बनाएको छ। 

गठबन्धन निर्माणमा निर्णायक भूमिका खेलेका प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई एकल बहुमत ल्याउन रोक्न सक्रिय छन्।

प्रतिनिधिसभाका १६५ सिटमध्ये कांग्रेसले १ सय सिटबाट तल नझर्ने अडान लिएपछि गठबन्धनमा भागबण्डाकै सकस परेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेका छन्। 

दलहरूले आफ्नो सिट दाबीअनुसार पछि हट्न नसक्ने अडान लिएपछि सिट बाँडफाँडका लागि जुट्ने कार्यदलको बैठक दिनहुँ निष्कर्षविहीन हुने गरेको छ। 
गठबन्धनमा सिट बाँडफाँडकै गाँठो फुकाउन नसकेका वेला पावर सेयरिङको विषयमा पनि छलफल हुन थालेको छ। 

प्रचण्डले सार्वजनिक रूपमै प्रधानमन्त्रीको इच्छा व्यक्त गरेपछि गठबन्धनमा पावर सेयरिङको विषयले प्रवेश पाएको छ। नेकपा (माओवादी केन्द्र)का नेताहरूले चुनावपछि प्रचण्ड नेतृत्वको सरकार बन्ने दाबी गरिरहेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै गर्दा गठबन्धनबाट को ? भन्ने आमचासोको विषय बनेको छ। 

तर, गठबन्धनभित्र अनौपचारिक रूपमा छलफल सुरु भए पनि त्यसले औपचारिकता पाएको छैन। कांग्रेसले यसअघि नै चुनावपछि आफ्नै नेतृत्वको सरकार गठन गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीको विषयमा बोलेको छैन। 

कांग्रेसबाट अहिलेसम्म महामन्त्री गगन थापाले आफू प्रधानमन्त्रीको दाबी गर्ने सार्वजनिक रूपमा बताइसकेका छन्। गगनले प्रधानमन्त्रीको दाबी गरे अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने बताइसकेका छन्। गगनबाहेक कांग्रेसमा देउवापत्नि आरजू राणा देउवाको प्रधानमन्त्रीको चर्चा हुने गरेको छ। 

देउवा र प्रचण्डमध्ये को? 

आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने भए पनि भावी प्रधानमन्त्री देउवा नै हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत बताउँछन्। 

उनले भने, ‘प्रधानमन्त्रीको विषयमा पार्टी र गठबन्धनमा धेरै अप्ठ्यारो पर्छ जस्तो लाग्दैन। त्यसैले भावी प्रधानमन्त्री सभापतिज्यू नै हुनुहुन्छ।’

उनले गठबन्धनमा पावर सेयरिङको विषयमा छलफल नभएको समेत बताए। अहिले गठबन्धनको ध्यान चुनाव केन्द्रित मात्रै भएकाले सिट बाँडफाँडमा लागेको उनको भनाइ छ। उनी प्रचण्डले प्रधानमन्त्रीको इच्छा व्यक्त गर्नुलाई अनर्थ लगाउन नहुने उनको बुझाइ छ। 

त्यसो त गठबन्धनबाट प्रचण्डले चुनावपछि प्रधानमन्त्रीको रूपमा इच्छा व्यक्त गर्नु स्वभाविक भएको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल बताउँछन्।

उनी भन्छन्, ‘गठबन्धनबाटै निर्वाचनमा गएपछि उहाँको दाबी स्वाभाविक हुन आउँछ। त्यसबारे गठबन्धनमा अनौपचारिक छलफल चलेको भए पनि अहिलेसम्म कुनै निर्णय भएको भने होइन।’

गठबन्धनले देउवालाई अहिले प्रधानमन्त्री बनाएको हुनाले अब चुनावपछि आलोपालो सहमति गर्दा प्रचण्डको पालो पहिला आउने माओवादी नेताहरूको बुझाइ छ। गठबन्धनमा देउवा या प्रचण्ड बाहेक तेस्रो व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छैन। 

यसकारण एमालेबाट ओली

गठबन्धनमा भागबण्डाकै कुरा मिल्न नसकेका वेला प्रमुख प्रतिपक्षी दल सम्पूर्ण रूपले चुनाव केन्द्रित भएर गाउँगाउँमा होमिइसकेको छ। एमालेले भावी प्रधानमन्त्रीको रूपमा ओलीलाई अघि सारेको छ। 

सुशासन र समृद्धिको अभियानका नायक केपी ओली भएकाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन्। 

उनले थाहाखबरसँगको अन्तर्वार्तामा भनेका थिए, ‘राष्ट्रिय स्वाधीनताको मुद्दा अघि सार्ने पनि उहाँ नै हो। हाम्रो अतिक्रमित भू-भाग हामीले पाउनुपर्छ भनेर दावा गर्ने उहाँले आँट गर्नुभयो। उहाँले चालेका कदम बीचमा रोकिएका छन्। उहाँको नेतृत्वमा चुच्चे नक्सा प्रकाशन गर्‍यौँ तर आफ्नो भू-भागको विषयमा कूटनीतिक पहल हुन सकेको छैन।’ 

राष्ट्रिय स्वाधीनताको मुद्दा ओलीकै अभावमा ओझेल परेकाले फेरि प्रधानमन्त्री हुन आवश्यक रहेको उनकाे बुझाइ छ। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले जुट ढंगले अघि बढाएका थियौँ। त्यो अहिले हुन सकेको छैन। हामीले सात मन्त्रीले नै प्रदेश सरकारलाई प्रभावकारी ढंगले चलाइरहेका थियौँ तर हाम्रो सरकार गिरेर गठबन्धनको सरकार बनेपछि प्रदेश सरकार मागी खाने र लुटी खाने भाँडो बनाएका छन्’ ‚ उनको भनाइ छ। 

संघीयताको औचित्य पुष्टि गरेर संविधानको मर्मअनुसार काम गर्न ओली नेतृत्वको सरकार चाहिएको उनको दाबी छ। ओली नेतृत्वको सरकारले देशलाई समृद्धितर्फ लगेपछि गठबन्धन सरकारले सबै काम रोकेको उनको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.