|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

सुर्खेतमा बिहीबार बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन बीमा समितिलाई निर्देशन दिएका हुन्।

कर्णालीका अधिकांश नागरिक बीमाको पहुँचबाहिर रहेको भन्दै उनले बीमाको सेवा विस्तार गर्न आग्रह गरे। नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको बताए।

बीमा सेवा सहर-बजारमामात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उनको भनाइ थियो। बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो आफूले सुनेको भन्दै उनले बीमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिएका छन्।

लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्‍याउने लक्ष्य सरकारले लिएको बताए। बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बिमितहरूको सुरक्षा, बीमा साक्षरता, बिमक बिमितका समस्या समाधान गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.