|

काठमाडौं : गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो।

धेरै कलाकारहरू आफ्नो  आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम शाही लगायतका कलाकार कांग्रेस प्रवेश गरे।

स्थानीय तह निर्वाचन २०७९ को मिति तोकिएसँगै राजनीतिक गतिविधि थप बढ्दै गयो। कलाकारहरू पनि आफ्ना आफ्ना पार्टीको प्रचार प्रसारमा खुलेर लागे।

धेरै कलाकारले चुनावमा उम्मेद्वारी पनि दिए, केहीले ऐतिहासिक नतिजा निकाले भने केहीको नाम प्रतिस्पर्धीमा मात्रै सीमित रह्यो। 

स्थानीय तह निर्वाचन २०७९ मा ऐतिहासिक नतिजा निकाल्ने कलाकारमा र्‍यापर बालेन साहलाई लिन सकिन्छ। काठमाडौं महानगरमा स्वतन्त्र तर्फबाट मेयर पदको लागि उम्मेदवारी दिएका बालेनले ठूलो मतान्तरका साथ जित निकाले। एमाले, कांग्रेस जस्ता ठूला पार्टीका उम्मेदवारलाई हराउँदै बालेन मेयर बने। 

स्थानीय तहको निर्वाचनपछि देशमा फेरि संघीय चुनावको माहोल सुरु भएको छ। मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा देशमा फेरि चुनावी माहोल बन्दै गएको हो। आगामी निर्वाचनका लागि राजनीतिक पार्टीहरूले तयारी सुरु गरिसकेका छन्। योपटक उल्लेख्य रुपमा स्वतन्त्र उम्मेद्वारहरू उठ्ने देखिइरहेका बेला केही कलाकारहरूले पनि चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने कलाकर्मीमा फिल्म निर्देशक मनोज पण्डितको नाम सबैभन्दा अगाडि आउँछ। स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि नै पण्डितले आफू काभ्रे २ बाट संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

एमाले नेता गोकुल बास्कोटाको क्षेत्र रहेकै कारण आफू त्यहाँबाट चुनाव लड्न लागेको उनले बताउँदै आएका छन्। 

स्वतन्त्र तर्फबाट चुनावमा उठ्ने तयारीमा रहेका पण्डित 'दासढुंगा', 'ग्रेटर नेपाल', 'बधशाला' जस्ता फिल्मका निर्देशक हुन्। 

त्यस्तै, चर्चित हाँस्य टेलिशृंखला 'सक्किगोनि'का दुईजना कलाकार पनि यो चुनावमा उठ्ने तयारीमा छन्। बिहीबार मात्रै सितेबा को नामले चिनिने मधुसूदन पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। स्वतन्त्र तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेका पाठक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्र रोजेका हुन्। 

जिग्रीका नामले चर्चित अर्का कलाकार कुमार कट्टेल पनि चुनावमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिने तयारीमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा ४ बाट उम्मेदवारी दिने तयारीमा रहेका कट्टेलको औपचारिक घोषणा भने बाँकी छ। 

त्यस्तै, अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन्। गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी थापालाई पार्टीले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस गरेको हो।

मोरङ क्षेत्र नम्बर ३ सँगै क्षेत्र नम्बर ६ बाट पनि उठ्ने सम्भावना रहेको बताइएको छ। मोरङ आफ्नो घर रहेको र पार्टीले जुन क्षेत्रबाट उठाए पनि आफू तयार रहेको उनले बताएकी छन्। 

चुनावका लागि साढे दुई महिना बाँकी रहँदा उम्मेदवारी दिन इच्छुक कलाकारहरू अझै थपिने देखिन्छ। यस्तोमा कुन कलाकार कुन पार्टीबाट उठ्छन् अथवा स्वतन्त्रबाट उठ्छन् र त्यसले जनतामा कत्तिको उत्साह थप्छ त्यो भने हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.