|

बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेबल पुल निर्माण थालिएको ६ वर्ष भयो। ६ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुन सकेको छैन। पुलको दुईतिर पिलर उठाएको वर्षौं भए पनि अरु कुनै काम भएको छैन।

निर्माण शुरु भएको लामो समयसम्म पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। भूजीखोलामाथि पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको हो। हिउँदमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्खामा ठप्प हुने गरेको छ।

मोटरेबल पुल निर्माणका लागि वाइटी रफिना जेबी कन्ट्रक्सनले २०७३ असोज ४ गते सडक डिभिजन कार्यलय बागलुङसँग सम्झौता गरेको थियो। १६ महिनामा सक्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशत मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले जानकारी दिए।

कार्यालयले पटक–पटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरेपछि गत वर्ष पुस १ गते ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको उनको भनाई छ। सूचनापछि निर्माण कम्पनीका प्रमुख काम सक्छौँ भनेर आएको र काम नगरी गत असारदेखि निर्माण कम्पनीका प्रमुख नै आफ्नो सम्पर्कमा नभएको उनले बताए।

‘गत वर्ष पुसको १ गते सम्झौता तोड्ने भनेर हामीले सूचना प्रकाशन गरेपछि ठेकेदार कम्पनीका प्रमुख काम गर्छौँ भनेर सम्पर्कमा आउनु भयो, तर उहाँले असारसम्म कुनै पनि काम गर्नु भएन, असारपछि उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्न‚’ कार्यालय प्रमुख मल्लले भने। कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाईसकेको प्रमुख मल्लको भनाई छ।

उनले पेश्की जमानतसमेत जफत गरेको भन्दै अब नयाँ सम्झौता गर्ने बताए। उक्त कम्पनीले हालसम्म ४० प्रतिशत मात्रै काम गरेको सडक डिभिजन कार्यालयले जनाएको छ। निर्माण कम्पनीले सडक भिडिजन कार्यालयसँग ३ करोड ५० लाख रुपैयाँमा सम्झौता गरेको थियो। पुलको दुवैतिर निर्माण गरेको पर्खाल भूजीखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ।

अधिकारीचौरका अधिकांश स्थानीय व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। बर्खामा गाडी खोला नतर्ने भएपछि उनीहरूले उत्पादन गरेको तरकारी बारीमै कुहिएर नष्ट हुने गरेको छ।

‘गाउँ मोटरबाटोले जोडियो, पुल पनि बन्न थाल्यो भनेर कृषिमा लगानी गरियो, अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेँडा, बन्दा सबै बारीमा कुहिएर नष्ट भएका छन्। पुल बन्न थालेको ६ वर्ष बिति सक्यो, अहिलेसम्म दुईतिर पिल्लर मात्रै उठाएको छ, अरु कामै गरेको छैन‚’ स्थानीय शिवराज कँडेलले भने‚ ‘पुल नबन्दा बजारमा तरकारी, फलफूल लैजान निकै गाह्रो भएको छ, यो समय त गाडी चल्दैन, त्यसले गर्दा हामी निकै मारमा परेका छौँ, हाम्रो माग कसैले सुनेन।’

भूजीखोला बढेपछि गत असार पहिलो सातादेखि गाडी ठप्प भएको कँडेलको भनाई छ। उनले ठेकेदार कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण यतिका वर्ष बितीसक्दा पनि पुल बन्न नसकेको गुनासो गरे। समयमै पुल नबन्दा स्थानीयले दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य भएको कँडेल बताउँछन्।

‘पुल बन्थ्यो भने बारीबाट पारी सडकमा पुग्न २ मिनेट पनि लाग्दैन, तर अहिले हामी एक घण्टा लगाएर पारी तर्ने गछौँ, बजारबाट सामान ल्याउन दिनैभरि लाग्छ, गाउँले मिलेर पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरायौँ, तर कुनै सुनुवाई भएन‚’ उनले भने‚ ‘गाउँमा कोही बिरामी भयो भने तत्काल अस्पताल लैजान सक्ने अवस्था छैन, गाउँमा सडक छ तर पुल नहुँदा गाडी चल्दैन। त्यसले गर्दा हाम्ले दुःख भोग्नु परेको छ, अझै कति समय लाग्ने हो यो पुल बन्न?’

पुल अलपत्र पार्ने निर्माण कम्पनी र ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन्। तोकिएको समयमा पुल नबन्दा बारीमा उत्पादन भएका फलफूल र तरकारी कुहिँदा लाखौँको नोक्सानी बेहोर्नु परेको स्थानीय कृषक कृष्णलाल कँडेलले दुखेसो पोखे।

‘वर्षौं भयो पुल बन्न थालेको खै अहिलेसम्म बनेको?, त्यस्ता ठेकेदारलाई कारबाही हुनुपर्छ, यो पुल त सिंगो गाउँलेको भविष्यसँग जोडिएको छ,’ उनले भने।

मोटरबाटोले गाउँ नजोडिँदा हिउँदको समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरिया लगाएर बुर्तिबाङ बजार लैजाने गरेको भन्दै मोटरबाटोले गाउँ जोडिएपछि तरकारी लिन घरमै पनि गाडी पुग्ने गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.