|

जुम्ला : जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ। विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउ बिक्रीबाट हुने आम्दानी बढ्ने आँकलन गरिएको छ।

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिक टन उत्पादन हुने आँकलन कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताए।

उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड रूपैयाँभन्दा बढी आम्दानी हुने सम्भावना छ। जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ।’

गत वर्ष ५ क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका-५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १० क्विन्टल उत्पादन गरेका छन्। स्याउ खेतीबाटै मनग्गे आम्दानी हुने सम्भावना रहेकोले रोजगारी खोज्न कालापहाड जानु नपर्ने उनी बताउँछन्। उनी भन्छन्‚ ‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ। तर व्यवस्थापकिय कमजोरीले भने बजारीकरणमा समस्या छ।’

ग्रेडिङ‚ लेवलिङ‚ प्याकेजिङ जस्ता कुरामा सरकारी तबरबाट ध्यान दिन जरुरी रहेको जुम्लाका किसान रामकृष्ण बुढ्थापाले बताए। उनले भने‚ ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँदै पनि मूल्य पाउन सकेको छैन।’

कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरण लगायतको व्यवस्थापकिय पाटोमा राज्यले ध्यान दिनु आवश्यक रहेको स्याउ उत्पादक किसान बताउँछन्।

जुम्लाको ४१ सय २० हेक्टरमा स्याउखेती हुँदा २९ सय हेक्टरमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालय जुम्लाका निमित्त  प्रमुख अधिकारीले बताए।

उनले भने, ‘पालिकामध्ये सबैभन्दा बढी करिब ४ हजार मेट्रिक टन गुठिचौरमा फलेको छ। समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा स्याउ उत्पादन बढेको छ।’

यस वर्ष स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेका कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमित्त  प्रमुख अधिकारीले बताए।

जुम्लाको पहिचानसँगै आर्थिक समृद्धिसँग जोडिएको स्याउको उत्पादन वृद्धि, सहज बजारीकरण तथा किसानले नै मूल्य निर्धारण गर्न पाउने ठोस नीति निर्माणमा राज्यको ध्यानकेन्द्रित हुन आवश्यक रहेको किसानहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.