कांग्रेस-समाजवादीको उम्मेदवार सिफारिस, एमाले र माओवादी गृहकार्यमा

|

सुर्खेत : सत्तासीन राजनीतिक दलहरू शीर्ष नेताहरूले भागबण्डा टुंगो नलगाउदै भकाभक उम्मेदवार सिफारिस गर्न थालेका छन्। कर्णालीका सबै जिल्लामा सत्तासीन दलभित्रको नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा सिट बाँडफाँटका कुरा मिलिनसक्दै उम्मेदवार सिफारिस गर्न थालेका हुन्। 

यता, गठबन्धनको अर्को घटक माओवादी केन्द्र भने भागबण्डा मिलिसकेपछि मात्रै उम्मेदवार छनोट गर्ने मनस्थितमा देखिएको छ। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि उम्मेदवार छान्नेबारे आन्तरिक गृहकार्यमा केन्द्रित भएको छ। 

केही नेताहरूलाई समर्थन गर्ने कार्यकर्ताहरूले नामै सामाजिक सञ्जालमा राख्दै टिकट पाउनुपर्ने दबाब दिँदै आएका छन्। तत्कालीन नेकपाभित्र रहेर पार्टी विभाजनपछि माधव नेपालसँग लागेर बीचमा नेकपा एमालेमा मिसिएका नेताहरूले आफ्नो पक्षमा माहोल बनाउन लागिरहेका छन्। 

सामािजक सञ्जालमा अत्यन्तै लोकप्रिय, बौद्धिक, जनमत भएको लगायतका शब्दहरू प्रयोग भएका नेताहरूको तस्वीर राखेर दबाब बढाइरहेका छन्। माओवादीभित्र पनि तत्कालिन वैद्य समुहमा रहेर माओवादीमा प्रवेश गरेका केही नेताहरूको पनि प्रचार प्रक्रिया उस्तै छ। 

कर्णालीमा मन्त्री परिवर्तन गर्दासमेत आफ्नो भाग खोज्दै आएको उक्त समूह माओवादीमा सम्मिलित भए पनि छुट्टै गुटको भाग खौज्दै आएको माओवादी वृतमा चर्चा छ। संस्थापन भनिएको माओवादीभित्रको अर्कोे समूहले आफूहरूले कठिन स्थितिमा समेत पार्टी जोगाएको भन्दै गुटगत मानसिकता त्यागेर सबै मिल्न पार्टीभित्र दबाब दिँदै आएको स्रोतको दाबी छ। 

सानो समूह त्यसमा गुट गरेर भाग बढी मागिरहेको भन्दै वैद्य समूहबाट फुटेर आएको टोलीमाथि अर्को टिमले दबाब दिँदै आएको छ। कर्णाली पछिल्लो समय मन्त्री मण्डल हेरफेरमा समेत विवाद देखिएको छ। 

संस्थापन पक्षका विन्धमान विष्ट र गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर संस्थापन पक्षकै रातो कामीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्री र तत्कालिन वैद्य पक्षबाट फुटेर आएको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहलाई भाग लगाएर चित्त बुझाएको छ। 

प्रचण्डको असन्तुष्टि

त्यति मात्र होइन, प्रदेश समितिदेखि केन्द्रीय समिति हुँदै प्रेस सेन्टरसम्म भागबण्डा गरेर मिलाउन सकस परेको माओवादी नेताहरू बताउँछन्। 
नाम नलेख्‍ने शर्तमा माओवादीका एक नेताले भने, ‘भाग लगाउँदा, लगाउँदा हैरान भइयो यो तरिकाले कसरी चल्छ पार्टी? नेतृत्वलाई हामीले यही कुरा राख्‍ने हो। अब उहाँहरूले नै मिलाउनुहुन्छ।’

शुक्रबार सुर्खेतमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सधैँ गुटमा रमाएर स्वार्थ सिद्ध मात्र गर्ने हो भने माओवादी पार्टी किन चाहियो? भन्दै नेताहरूलाई प्रश्न गरेका थिए।

‘पार्टीभित्र विचार समूह त एउटै छ, महाधिवेशनले, केन्द्रीय समितिले एउटै नेतृत्वलाई सर्वसम्मतरूपले चयन पनि गरेको छ। प्रचण्डको नेतृत्वमा कहीँकतै विमति छैन भनिएको छ। औपचारिक रूपमा छैन पनि। विचार पनि एउटै छ, नेतृत्व पनि एउटै छ। तर हामीसँग गुटहरू चाहिँ थुप्रै छ’ प्रचण्डको भनाइ छ। 

आफ्नो पद, प्रतिष्ठा, आर्थिक लाभ र स्वार्थको निम्ति पार्टीमा गुटैगुट बनेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए। 

उनले भने, ‘अझ यसलाई गुट पनि भन्नु पनि ठूलो शब्द जस्तो लाग्छ। गुट होइन, स्वार्थ समूह। स्वार्थको निम्ति भएको गठजोड गर्ने र त्यो स्वार्थपूर्ति गर्नका लागि बढीभन्दा मान्छेलाई आफ्नो स्वार्थ समूहमा आबद्ध गर्न खोज्ने। आफ्नो पद, प्रतिष्ठा, आर्थिक लाभ र स्वार्थको निम्ति भन्ने समूह धेरै भएका छन्।’

नेताहरू स्वार्थ समूह बनाउनतिर लागेकै कारणले धेरै ठाउँमा चुनाव हारेको प्रचण्डले दाबी गरे। 

‘अझ धेरै त पहाडमा भन्दा हामीले मधेश र तराईमा हारियो। पहाडमा पनि यही कारणले हारियो। माओवादी कमजोर हुनुको कारण गुटबन्दी नै हो। यही स्वार्थ समूह नै हो। तपाईं कर्णालीका कार्यकर्तालाई गुट रोक्नका लागि पहल गर्न सक्नुहुन्छ? स्वार्थ समूहका स्वार्थ पूर्ति हुन नदिनको निम्ति तपाईंहरूले झण्डा उठाउन सक्नुहुन्छ?’ प्रचण्डले प्रश्न गर्दै असन्तुष्टि पोखेका थिए।

धमाधम सिफारिस

गठबन्धनमा भागबण्डाको प्रयास भइरहेको बेलामा कांग्रेस धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाबाट उम्मेदवार छनोट भएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभका लागि सिफारिस भएका छन्। 

समाजवादी उपमहासचिव तथा कर्णालीका इन्चार्ज प्रकाश ज्वालालाइ सल्यानबाट प्रतिनिधिसभामा सिफारिस गरिएको छ। त्यस्तै, समाजवादीले जाजरकोटबाट समेत उम्मेदवारको नाम सिफारिस गरेको छ। अन्य जिल्लाबाट कांग्रेस र समाजवादीले नाम सिफारिस गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.