|

हेटौंडा : विरोध खतिवडा जसले बिनाअवरोध ४ वटा निर्वाचन जिते।

कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेदेखि हालसम्म खतिवडाले ४ वटा निर्वाचनमा उम्मेदवार बनेका छन्। उनले आफ्नो हालसम्मको लडेका चारवटै निर्वाचनमा जित हात पारे। २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी भएका उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए।

२०६४ चैत २८ र २०७० मंसिर ४ गते सम्पन्न पहिलो र दोस्रो संविधानसभा (संसद्)को चुनावमा भने  टिकट नपाउँदा उनी चुनावी मैदानमा होमिन पाएनन्। यसअघि नेकपा एमालेबाट निर्वाचन जित्दै आएका खतिवडा पहिलोपटक फरक पार्टीको झण्डा लिएर चुनावी मैदानमा जाने तयारीमा छन्।

शिक्षक आन्दोलनका चर्चित नेता बद्रीप्रसाद खतिवडाका छोरा विरोध एमालेबाट छुट्टिएर बनेको स्थायी कमिटीका सदस्य छन्। एमालेबाट ४ पटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका उनले एमाले त्याग्नेबित्तिकै मन्त्री बन्ने मौका पाएका थिए। मन्त्री बन्नकै लागि उनले एमाले त्यागेर समाजवादी रोजेको भन्दै गृहजिल्ला मकवानपुरमा विरोध पनि भएको थियो।

माधवकुमार नेपालले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्दा जिल्लाबाट खतिवडासँगै अन्य नेता पनि गए। तर,खतिवडा हेभिवेट भएकाले पनि उनको चर्चा र विरोध धेरै भयो। चारपटकसम्म एमालेबाट मकवानपुरको एउटै निर्वाचन क्षेत्रमा लगातार जित्दै आएका उनी पुनः सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा होमिने तयारीमा छन्।

फरक पार्टीलाई लिएर गठबन्धनबाट पुनः चुनाव जित्ने उनको दाउ छ तर एमाले छाडेर नयाँ दलमा सामेल भएका कारण आसन्न निर्वाचन उनका लागि चुनौती र अवसर दुवै बन्न सक्ने देखिन्छ।

यस्ता छन् उनका अवरोध

मकवानपुरको क्षेत्र नम्बर २ मा खतिवडासँगै गठबन्धनको अन्य दलको पनि दावी छ। नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारी र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि सोही निर्वाचन क्षेत्रबाट उठ्न चाहन्छन्। २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ मा खतिवडाले कांग्रेस सहमहामन्त्री डिनालाई पराजित गरेका थिए। २०७४ को निर्वाचनमा माओवादी र एमालेबीच एकता भई नेकपा बनेको थियो। सोही नेकपाबाट निर्वाचनमा भाग लिँदा आफूले खतिवडाका लागि दाबी  छोडेको माओवादीका नेता बिडारीको भनाइ छ।

अघिल्लो निर्वाचनमा एउटै पार्टीबाट उम्मेदवार बन्दा आफूले खतिवडाका लागि छाडेकाले अहिले खतिवडाले आफ्नो लागि क्षेत्र नम्बर २ छोड्नुपर्ने उनको दावी छ। ‘अघिल्लो चुनावमा मैले उहाँकै लागि भनेर पछि हटेको थिएँ। अब उहाँले मलाई पालो दिएर पछि हट्नुपर्छ। हामीबीच आलोपालो हुनुपर्छ’, बिडारीले भने।

उनी खतिवडाको व्यवस्थापन गठबन्धनले गर्ने भन्दै २ नम्बर क्षेत्र माओवादीबाट आफूले पाउनुपर्ने बताउँछन्। उता कांग्रेस सहमहामन्त्री उपाध्याय पनि सकेसम्म सोही निर्वाचन क्षेत्रबाट उठ्ने नसकेको खण्डमा १ नम्बरबाट उठ्ने योजनामा छिन्। पाएसम्म उनी पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव उठ्ने दाउमा छिन्। तर गठबन्धनमा भागबण्डा मिलाउन गठित कार्यदलले अघिल्लो निर्वाचनमा जुन दलले जहाँ चुनाव जितेको छ, सो निर्वाचन क्षेत्र सोही पार्टीलाई दिने खाका बनाएको छ।

यही अनुसार गठबन्धनमा भागबण्डा मिलेमा बिडारी र उपाध्याय दावी पछि हट्नुपर्छ भने खतिवडाले पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने मौका पाउनेछन्।

एकीकृत समाजवादीका तर्फबाट मकवानपुरमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने उनी एकल दाबेदार हुन्। त्यसैले उक्त निर्वाचन क्षेत्र समाजवादीको भागवमा परे स्वतः उनी उम्मेदवार बन्ने निश्चित छ। उनी पाँचौँपटक त्यस क्षेत्रको सांसद बन्ने दाउमा छन्।

पछिल्लो समय उनलाई चुनाव जित्न त्यति सहज भने देखिँदैन। जिल्लामा एकीकृत समाजवादीको अवस्था सन्तोषजनक नदेखिँदा उनलाई आगामी चुनाव चुनौतीपूर्ण हुने देखिन्छ। एकीकृत समाजवादी मकवानपुरका अनुसार हाल उक्त पार्टीमा करिब ५-६ हजार जनाको हाराहारीमा मात्र संगठित सदस्य छन्।

मकवानपुर–२ मा थाहा नगरपालिका, मनहरी, कैलास, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका पश्चिम तर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फको ५, ६, ७ र ८ नम्बर वडा पर्दछन्। गत स्थानीय तहको निर्वाचनमा पनि एकीकृत समाजवादीले त्यस क्षेत्रको कुनै पनि पालिकामा आफ्नो नेतृत्वलाई जिताउन सकेन। जसका कारण एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा थप समस्या हुने देखिन्छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मात्र एकीकृत समाजवादीको नेतृत्व छ।

२०७९ को स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रको सहयोगमा हेटौंडाको मेयर र एउटा वडामा मात्र समाजवादीले जितेको थियो। अन्य स्थानीय तहमा एकीकृत समाजवादीले नेतृत्व लिन सकेन। मकवानपुरको मनहरी गापा र इन्द्रसरोवर गापामा एकीकृत समाजवादीका उम्मेदवार पराजित भए।

मकवानपुर–२ मा पछिल्लो समय कांग्रेसको प्रभाव बढ्दै गएको दावी गरिँदै आएको छ। २०७४ को निर्वाचन ताका कांग्रेसको कमजोर क्षेत्रको रूपमा रहेको मकवानपुर–२ मा एमालेको भने राम्रै प्रभाव छ। त्यस क्षेत्रमा माओवादी केन्द्रको भने उपस्थिति सन्तोषजनक रहेको बताइन्छ। पछिल्लो समय संघीय सरकारको मन्त्रीसमेत भइसकेका खतिवडाको त्यस क्षेत्रमा व्यक्तिगत उपस्थिति पनि कमजोर बन्दै गएको विश्लेषण गरिन्छ। खतिवडालाई आगामी निर्वाचनमा त्यस क्षेत्रमा चुनाव जित्न काँग्रेस र माओवादी केन्द्रको साथ अनिवार्य देखिन्छ। गठबन्धनले प्रतिबद्ध भएर साथ नदिएको अवस्थामा उनी संकटमा पर्ने देखिन्छ।

खतिवडाकी पत्नी मुनु सिग्देल पनि चुनावी मैदानमा उत्रिने तयारीमा छिन्। सिग्देल हाल बागमती प्रदेशसभा सदस्य छिन्। सिग्देल २०७४ मा एमालेले समानुपातिक सूचीबाट बागमती प्रदेशसभा सदस्य बनेकी थिइन्। एमालेमा विद्रोह गर्नुपूर्व उनी नेकपा एमाले मकवानपुरकी अध्यक्ष थिइन्। उनी पनि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आबद्ध भएकी हुन्। हाल उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य छिन् भने एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक पनि हुन्।

सिग्देलको राजनीतिक क्षमता, पार्टीमा गरेको योगदानका सम्बन्धमा कुनै प्रश्न उठाउन मिल्दैन तर सिग्देलको पनि निर्वाचन क्षेत्र मकवानपुर नै रहेकाले एउटै दलबाट श्रीमानलाई प्रतिनिधिसभा र श्रीमतीलाई प्रदेशसभामा उम्मेदवार बनाउँदा ‘परिवारवाद’ को आरोप लाग्ने सम्भावना पनि देखिन्छ। सिग्देल प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस समेत भइसकेकी छन्। कमजोर संगठनात्मक संरचना र पार्टीमा मतदाताको न्यून झुकावका बीच सिग्देलको प्रदेशसभातर्फ चुनाव लड्ने तयारीले खतिवडालाई थप समस्या हुने देखिन्छ।

विगतको चुनावलाई हेर्दा..

खतिवडा चारपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी भएका उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए।

संविधानसभाको दुवै निर्वाचनमा भने उनी उम्मेदवार बन्न पाएनन्। खतिवडा २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट जितेका थिए। सो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गरेका थिए। खतिवडासँग हारेकी डिनाले ११ हजार ५७६ मत पाएकी थिइन्।

त्यस यता खतिवडाले प्रतिस्पर्धा गरेका हरेक निर्वाचनमा सफलता प्राप्त गरेका छन्। उनी मकवानपुर–२ बाटै उम्मेदवार बन्दै आएका छन्। २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी १६ हजार १४४ मत पाएर निर्वाचित भए। उनीसँग राप्रपाका कमल थापा, कांग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए। खतिवडाका निकटतम प्रतिद्वन्दी राप्रपाका थापाले ११ हजार ८७८ मत पाउँदा कांग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत पाएका थिए। २०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बने। सो निर्वाचनमा खतिवडाले राप्रपाका दीपक सिंहलाई हराएका थिए।

खतिवडाले १८ हजार २८१ मतसहित चुनाव जित्दा राप्रपाका सिंह १५ हजार ९०१ मतमा सीमित भए। त्यस्तै कांग्रेसका रामचन्द्र अर्याल ‘माइकल’ तेस्रो भए। माइकलले ११ हजार ८०९ मत ल्याएका थिए भने मालेका हिरण्यलाल श्रेष्ठले १ हजार ८०८ मत ल्याएका थिए। सो निर्वाचनमा १ हजार २३१ मत बदर भएको थियो।

गणतन्त्र स्थापनापछि २०६४ मा संविधानसभा निर्वाचनमा खतिवडा उम्मेदवार बन्न पाएनन्। दोस्रो संविधानसभा निर्वाचनमा पनि उनलाई पार्टीले उम्मेदवार बनाएन। सो निर्वाचनमा मकवानपुर–२ बाट एमालेका सुभाषसिंह ठकुरी उम्मेदवार बने। २०७२ सालमा देशमा नयाँ संविधान जारी भयो। मकवानपुरका साविकका ४ निर्वाचन क्षेत्रलाई समेटेर दुईवटा निर्वाचन क्षेत्र कायम गरियो।

मकवानपुर–१ र ३ लाई मिलाएर क्षेत्र नम्बर १ कायम गरियो भने २ र ४ मिलाएर २ नम्बर क्षेत्र कायम गरियो। २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आह्वान गरियो। लगातार ३ पटक निर्वाचन जितेर २ वटा निर्वाचनमा अवसर नपाएका खतिवडाले आफ्नो सक्रियता बढाए। २०७४ को निर्वाचनमा भने उनले अवसर पाए।

उनी मकवानपुर–२ बाटै एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बने। खतिवडा २०७४ को निर्वाचनमा पुनः निर्वाचित भए। यो उनको चौथो जित थियो। उनी ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए। उनले यो पटक पनि कांग्रेसकी उम्मेदवार डिनालाई पराजित गरेका थिए। खतिवडासँग ३ वटा चुनावमा प्रतिस्पर्धा गरेकी डिनाले सो निर्वाचनमा ३४ हजार ९० मत प्राप्त गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.