|
तस्वीर: कथा घेरा

काठमाडौं : इचङ्गुको खेतमा जन्मेको भक्त प्रसाद भ्यागुतोलाई जब यो खेतभन्दा पर पनि केही छ भन्ने कुरा थाहा लाग्छ उसलाई पर के के छ ? कस्तो छ ? भन्ने प्रश्नले लखेट्न थाल्छ।

त्यही प्रश्नको उत्तर खोज्ने क्रममा उसमा नेपाल भ्रमण गर्ने इच्छा जाग्छ। त्यसपछि भक्त प्रसाद इचङ्गुको खेतका डिल नाघेर नेपाल भ्रमणमा निस्कन्छ। जिज्ञासा र उर्जाले भरिएको भक्त प्रसादको सोही रोमाञ्चक, साहसी र लोभलाग्दो नेपाल यात्रा नाटक ‘धुमधामको घुमघाम’मार्फत कौसी थिएटरमा देखाइँदै छ।

नाटकको केन्द्रीय पात्र भ्यागुतो भए पनि नाटकले भ्यागुताको मात्र कथा भनेको छैन। भक्त प्रसादको माध्यमबाट उ जस्तै आफ्ना आफ्ना खेतका डिल नाघेर बाहिर निस्किन चाहने मान्छेलगायत सम्पूर्ण जीवहरूको कथा नाटकले भनेको छ।

नाटक हेरिरहँदा केही दर्शकलाई आफू र भक्त प्रसाद ठ्याक्कै उस्तै लाग्न सक्छ, केहीले आफैँले कल्पना गरेको आफूलाई भक्त प्रसादमा देख्न सक्छन् भने केहीले ‘ओहो ! भक्त प्रसाद जस्तो हुन पाए’ भनेर नाटक हेरिसकेपछि सोच्न सक्छन्।

भक्त प्रसादले जस्तै भ्रमण गर्न चाहेर पनि खेतको डिलमै अड्किरहेकाहरूलाई भक्त प्रसादले आफ्ना लागि पनि घुमिदिएको जस्तो लाग्न सक्छ। ऊ पुग्ने ठाउँ, भेटिने अरु पात्र, उसले देखेका, सुनेका, बुझेका र महसुस गरेका कुराहरू दर्शक आफैले महसुस गरे जस्तो लाग्न सक्छ।

भक्त प्रसाद असनको भीड छिचोल्दै तराईसम्म पुग्छ। चितवन राष्ट्रिय निकुञ्ज देख्छ, त्यसपछि पोखरा, मुस्ताङ हुँदै डोल्पा पुग्छ र घर फर्किन्छ। यो क्रममा उसले धेरै जनावरको दुःख देख्छ, खुशी हुने बहाना देख्छ, उनीहरूकाे गीत सुन्छ, आफ्ना गीत सुनाउँछ, फरक फरक ठाउँकाे नियम बुझ्छ, त्रिशूली, मर्स्याङ्दी, काली गण्डकी, नारायणी जस्ता नदी चिन्छ, पोखराको रमझम देख्छ, काली गण्डकीको खोँच देख्छ, शालिग्राम चिन्छ, मुस्ताङ किन त्यस्तो ? मुक्तिनाथ किन विशेष ? भनेर पनि बुझ्छ।

भक्त प्रसादले अरुका आँखाले पनि संसार हेर्नुपर्ने कुरा बुझ्दा दर्शकलाई पनि उसले जस्तै डायरीमा त्यो कुरा टिपौँ टिपौँ जस्तो लाग्न सक्छ। पेम्बाको अपत्यारिलो सत्यवाला कुराले भक्त प्रसादलाई भित्र छुँदा दर्शकलाई पनि च्वास्स पार्न सक्छ। आनी डोमाबाट चेतनशील र अचेनतशील प्राणीका कुरा सुनेर भक्त प्रसाद घोत्लिँदा दर्शकलाई पनि भित्र कुनै ज्योती बल्न सुरु भए जस्तो लाग्न सक्छ।

महिनाैँकाे यात्रा पछि घर फर्किंदा भक्त प्रसाद रित्तै फर्किन्न। फरक फरक परिवेश र पात्रहरूबाट उसले फरक फरक कथाहरू टिप्छ। सामान्य घुमघाममा निस्केको भक्त प्रसाद आफ्ना लागि वैज्ञानिक बन्ने नयाँ इच्छा र अमूल्य अनुभव तथा आफ्नाहरूका लागि धेरै कथाहरू लिएर फर्किन्छ।

दर्शकले पनि नाटकको घण्टी बज्नुभन्दा अगाडि र नाटक सकिइसकेपछिको आफूमै भिन्नता पाउन सक्छन्। खेतबाट निस्कने हिम्मत आउन सक्छ, आफ्नाे वरिपरि देखिइराख्ने सीमा रेखा हराउन सक्छ। जुन दर्शकका लागि भक्त प्रसादकाे काेसेली मान्न सकिन्छ।

नाटकमा आकाश नेपालीले भक्त प्रसाद भ्यागुताको भूमिका निर्वाह गरेका छन्। त्यस्तै आशीष काफ्ले, ऋषिकेश बस्याल, कविराज राई, गणेश प्र. पौडेल, विनिता लामा गुरुङ, मारुती सापकोटा, नवीनचन्द्र अर्याल, निशान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लको पनि अभिनय रहेको छ।

‘धुमधामको घुमघाम’ २५ वर्षअघि प्रकाशित कनकमणि दीक्षितको बालकथामा आधारित नाटक हो। कथा घेरा र रातो बंगला स्कुलको संयुक्त प्रस्तुती रहेको नाटक आकांक्षा कार्कीले निर्देशन गरेकी हुन्। जसको नाट्य रुपान्तरण आयुष निरौलाले गरेका हुन्।

नाटकको कथा, पटकथा, निर्देशन र अभिनयसँगै संगीत पनि उत्कृष्ट छ। नाटकका प्रयोग भएका प्रप्स, पात्रहरूको भेषभुषा र प्रकाशले नाटकलाई अझ प्रभावशाली बनाउन मदत गरेको छ।

यसअघि भदौ १० देखि १३ गतेसम्म रातो बंगला स्कुलमा मञ्चन भएको नाटक १७ गतेदेखि असोज ३ गतेसम्म मञ्चन हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.