खेल्न मात्र हैन, विद्यालयको प्रशिक्षक समेत हुन पाउँदैनन् उनी

|

इलाम : नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापा सहित ५ जना खेलाडी र फिजियोलाई म्याच फिक्सिङको आरोपमा नेपाल प्रहरीले २०७२ असोज २७ गते पक्राउ गर्‍यो। १ महिनापछि उनीहरू धरौटीमा रिहा भए। उनीहरूमाथि सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो।

त्यसलगत्तै विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघले उनीहरूलाई फुटबल सम्बन्धी गतिविधि गर्नबाट प्रतिबन्ध लगाएको थियो। नेपालमा भने म्याच फिक्सिङ सम्बन्धी कानुन नभएका कारण उनीहरूमाथि राज्य विप्लवको मुद्दा लगाइएको थियो।

उनीहरूलाई २०७५ जेठमा विशेष अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो। विशेष अदालतको सो फैसलाविरुद्ध सरकारी पक्ष २०७५ मंसिरमा सर्वोच्च अदालत पुगेको थियो। २०७७ असार २ गते राज्य विप्लव ठहर नभएपछि सागर सहितका खेलाडीहरूले सफाइ पाएका थिए। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिएको थियो।

अदालतबाट सफाइ पाए पनि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने उनीहरूलाई फुटबलमा आजीवन प्रतिबन्ध लगाएको छ। त्यो नहटेसम्म उनीहरूले फुटबल खेल्न पाउने छैनन्।

तर फिफा र एएफसीको प्रतिबन्धलाई बेवास्ता गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मेवार व्यक्तिहरूकै आयोजनामा भइरहेको फुटबल प्रतियोगितामा सागर थापा देखिए कप्तानको आर्मब्यान्ड सहित। एन्फाका निवर्तमान सहायक महासचिव वसन्त अर्यालको संयोजकत्वमा विराटनगरस्थित शहीद रंगशालामा जारी मुस्ताङ विराट भेट्रान्स फुटबल प्रतियोगितामा सागर सहभागी थिए।

थापा हाटखोला भेट्रान्स क्लब विराटनगरमा आबद्ध भएर प्रतियोगितामा सहभागी भएका थिए। अर्यालकै निम्तोमा थापा विराटनगर आएका हुन्। उनको टोली प्रतियोगिताको पहिलो सेमिफाइनलमा जहदा भेट्रान्सविरुद्ध टाइब्रेकरमा पराजित बन्दै बाहिरिएको छ

 त्यति मात्र हैन, हाटखोलाविरुद्धको सेमिफाइनल खेलमा जिल्ला फुटबल संघ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी समेत जहदा एफसीबाट मैदानमा उत्रिए। सञ्जीवकै निर्णायक टाइब्रेकर प्रहारमा जहदाले फाइनलमा समेत स्थान बनायो।

सागर प्रतिबन्धमा परेका खेलाडी हुन् भनेर जान्दाजान्दै पनि बुढाथोकी खेलाडीको रूपमा मैदानमा देखिए। उनले कुनै प्रतिवादसम्म गरेनन्। उल्टै सागरको बचाउ गर्नतर्फ लागे। ‘आधिकारिक प्रतियोगिता हैन, त्यही भएर सागर खेलेको हो। अनौपचारिक रूपमा प्राविधिक सहयोग फुटबल संघले गरेको छ’, बुढाथोकीले भने

अर्को तथ्य प्रतियोगिता आयोजनाका लागि मेघा स्पोर्टस्ले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फासँग स्वीकृति समेत लिएको छैन। एन्फा महासचिव किरण राई विराटनगरमा भइरहेको भेट्रान फुटबलबारे आफूलाई जानकारी नभएको बताए।

उनले भने, ‘प्रतियोगिताको बारेमा जानकारी भएन। आयोजनाका लागि हामीसँग स्वीकृति समेत लिएको छैन। त्यहाँ केही अप्रिय घटना भए आयोजक स्वयं जिम्मेवार हुनुपर्छ।’ सागर सहितका खेलाडीमाथि एएफसी, स्पोर्टस् राडार (एएफसीसँग सहकार्य गरिरहेको कम्पनी) र यूएईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स) को इन्टिग्रिटी युनिटले एक वर्ष अनुसन्धान गरेपछि आजीवन प्रतिबन्ध लगाएको थियो।

फिफा र एएफसी अन्तर्गतको एन्फाका जिम्मेवार व्यक्तिहरू नियमको धज्जी उडाउँदै प्रतिबन्धमा परेका खेलाडीलाई खुलेआम प्रतियोगिता खेल्न दिइरहेका छन्।

संयोजक अर्यालले भावनात्मक तर्क राख्दै सागरको बचाउ गरेका छन्। ‘सागरले यही क्षेत्रबाट फुटबल सुरु गरेको हो। आफ्नै क्षेत्रमा खेल्न उसको इच्छा भएपछि हामीले बोलाएर सहभागी गराएका हौँ’, अर्यालले भने, ‘उनलाई सर्वोच्च अदालतले सफाइ दिइसकेको छ।’

थापाले फुटबल करियरको सुरुवात विराटनगरको मोतीराम क्लबबाट गरेका थिए। हाटखोला भेट्रान क्लब उनका लागि घरेलु टोली सरह हो। प्रतियोगितामा जिल्ला फुटबल संघका पूर्व महासचिव प्रकाश मास्के म्यान कमिशनर रहेका छन्। जिल्ला फुटबल संघका वर्तमान अध्यक्ष सञ्जीव बुढाथोकी आफैँ प्रत्यक्ष संलग्न रहेका छन्। एन्फासँग अनुमति नलिएको प्रतियोगिता भए पनि एन्फा मातहतमा रहेका रेफ्री, जिल्ला फुटबल संघका पदाधिकारीहरूको प्रत्यक्ष संलग्नता प्रतियोगितामा छ। खेल सुरु हुनुअघि आयोजकले फिफा धुन समेत बजाउने गरेका छन्।

खेल्न मात्र हैन, सागर विद्यालयका प्रशिक्षक समेत हुन पाउँदैनन् : मिश्र

फुटबल विश्लेषक एवं एन्फा लिग निर्देशक सञ्जीव मिश्र एन्फो संलग्न प्रतियोगितामा सागर थापा लगायत प्रतिबन्धमा परेका खेलाडी र प्रशिक्षक सहभागी हुन नपाउने बताउँछन्।

‘एन्फाका रेफ्रीहरूले सागर लगायत प्रतिबन्धमा परेका खेलाडी सहभागी प्रतियोगिता खेलाउन मिल्दैन’, मिश्रले भने, ‘गत वर्ष काठमाडौँमा भेट्रान प्रतियोगितामा विवाद हुँदा काठमाडौँ जिल्ला फुटबल संघले सागर (सागर थापा) ले खेल्न पाउने नपाउने भनेर एएफसीमा पत्र पठाएको थियो। एएफसीले जवाफमा खेल्न हैन, उनीहरूले स्कुलमा बच्चालाई प्रशिक्षण दिन समेत पाउँदैनन् भन्यो। त्यो किसिमको प्रतिबन्ध छ।’

सागर थापा सम्मिलित प्रतियोगिता एन्फाका पदाधिकारीले आयोजना र रेफ्रीले खेलाउन पाउँदैनन्। मिश्रकै तर्कलाई आधार मान्ने हो भने मोरङ फुटबल संघका पदाधिकारी र एन्फाका पूर्व सहायक महासचिव वसन्त अर्यालले सागरलाई सहभागी गराएको प्रतियोगिताले फिफा र एएफसीको समेत ध्यानाकर्षण हुन सक्छ।

सन्दीपको नियुक्तिमा एएफसीको ध्यानाकर्षण

गत महिना प्रदेश खेलकुद बोर्डमा पूर्व डिफेन्डर सन्दीप राईको नियुक्तिलाई लिएर एएफसीले एन्फालाई स्पष्टीकरण सोधेको थियो। ‘१ नम्बर प्रदेशमा सन्दीप राईलाई बोर्ड सदस्यमा मनोनीत गरेको सम्बन्धमा एन्फालाई एएफसीले स्पष्टीकरण सोधेको थियो’, मिश्रले भने, ‘आजीवन प्रतिबन्धनमा परेको व्यक्तिलाई कसरी मनोनीत गरेको भनेर सोधेको थियो। एन्फाबाट हाम्रो हैन सरकारीको तवरबाट गरेको भनेर जवाफ पठाएका थियौँ।’

पछिल्लो समय प्रशिक्षक अब्दुल्ला अल्मुताइरीका कारण ७ हजार जरिवाना भोगेको नेपाली फुटबलमा फिफा र एएफसीको प्रतिबन्धनलाई समेत अवज्ञा गर्दा प्रतिबन्धको खतरा समेत देखिन्छ। फिफा र एएफसीले आफ्नो नियम पालना नगर्ने टोलीलाई जरिवाना र प्रतिबन्ध समेत लगाउँदै आएको छ। एएफसीले अल्मुताइरी प्रकरणमा आगामी दिनमा यस्ता घटना दोहोर्‍याएमा कडा कारबाही गरिने भन्दै सचेत समेत गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.