काठमाडौं : ३ वर्षअघि महामारीकै रूप लिएको डेंगु यस वर्ष पनि ७५ जिल्लामा फैलिसकेको छ। गत असारदेखि बढ्न थालेको डेंगु संक्रमणले अस्पतालमा बिरामीको चाप बढ्दो छ। रुपन्देही, काठमाडौँ र ललितपुरमा निकै उच्च दरमा डेंगु संक्रमण फैलिरहेको छ।
हाल ललितपुर काठमाडौं लगायत देशभर ७५ जिल्लामा तिव्र रुपमा देखिएको डेंगु संक्रमणको विवरणले महामारीको संकेत देखाइ रहेको छ। तर सरकारले १८ वर्षदेखि डेंगु नियन्यत्रको लागि भन्दै बजेट छुट्याउने गरेको भए पनि पछिल्लो केही वर्षको विवरण हेर्दा सरकारले डेंगु नियन्त्रणमा असफल भएको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सरकारले एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रण लागि भन्दै प्रत्येक वर्ष लामखुट्टेको लार्भा खोजी गरेर मार्ने भनेर रकम विनियोजन गर्ने गरेको छ। तर प्रत्येक वर्ष डेंगु नियन्त्रणबाहिर जान्छ।
लामखुट्टे मार्नको लागि देशभरका ६३ जिल्लामा झन्डै तीन करोड रुपियाँ विनियोजन गरेको छ। महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार ६३ जिल्लाका १३९ स्थानीयतहमा दुई करोड र ७० लाख संघ र प्रदेशको लागि वर्षेनी बजेट छुट्याउने गरेको बताए।
'हाल ६३ जिल्लाका १३९ स्थानीय तह र संघ प्रदेश गरेर झन्डै तीन करोड डेंगु नियन्त्रण गर्न छुट्याइको छ, तर यो बजेट पनि प्रयाप्त छैन’,प्याकुरेलले भने।
किन प्रत्येक वर्ष डेंगु नियन्त्रण बाहिर जान्छ?
महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलका अनुसार सरकारले हरेक वर्ष विगत तीन/चार वर्षको संक्रमणको विवरण हेरेर नियन्त्रको लागि बजेट छुट्याउने भए पनि कहिले संक्रमण देखिने कहिले नदेखिने हुँदा सहजै संक्रमण फैलिने बताए।
प्याकुरेलका अनुसार यो वर्ष डेंगु धेरै देखिएको ठाँउमा अर्को वर्ष त्यहाँ खासै संक्रमण नदेखिने हुँदा सम्भावित जोखिम हेरेर मात्रै वजेट छुट्याइने उनले बताए।
‘हामीले डेंगु नियन्त्रणको लागि सधै विगत तीन चार बर्षमा संक्रमण तिव्ररुपमा फैलिएको क्षेत्रको विवरणलाई हेरेर बजेट छुट्याउने गर्छौँ। तर डेंगु संक्रमणको फैलने प्रकृती कस्तो हुन्छ भने अहिले व्यापक रुपमा फैलिएको संक्रमण अर्को वर्ष त्यहाँ नदेखिन सक्छ। त्यसैले संक्रमणको नियन्त्रणको लागि कार्यक्रम बनाउन गाह्रो हुन्छ। तर हामीले सम्भावित जोखिम हेरेर कार्यक्रम बनाउने हो’, प्याकुरेलले भने।
वाग्मती प्रदेशमा धेरै डेंगु संक्रमित
महाशाखाको पछिल्लो विवरण अनुसार हाल देशभर ५ हजार २९ जना डेंगुका बिरामी पुगेका छन। जसमा सबैभन्दा धेरै ललितपुरमा १८ सय रहेका छन भने काठमाडौंमा ९ सय पुगेका छन्। मकवानपुरमा ५९८ जना, रुपन्देहीमा ४३९ जना, धादिङमा १११ जना संक्रमित भेटिएका छन।
यस्तै, बाग्मती प्रदेशमा यो वर्ष सबैभन्दा धेरै डेंगुका बिरामी भेटिएका छन्। हालसम्म यस प्रदेशमा ३ हजार ७२७ रहेका छन, लुम्बिनी प्रदेशमा ७७०, प्रदेश एकमा २२१ गण्डकी प्रदेशमा १०१ कर्णाली प्रदेशमा ३६ र सुदूरप्रश्चिम प्रदेशमा ९५ जना डेंगुका बिरामी भेटिएका छन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।