|

बागलुङ : दैनिक हजारौँ मानिस आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार। बजार साना छन् तर व्यापार‚ व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ। भर्खर–भर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुनै बाँकी छ। भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षित रूपमा विकास भए।

तीनवटै बजारमा तीव्र गतिमा बस्ती विस्तार भइरहेको छ। दिनदिनै अव्यवस्थित रूपमा भएको बस्ती बिस्तारले बजार व्यवस्थापनमा चुनौती समेत थपिँदै गएको छ। बढी चुनौती त पार्किङमा छ। मध्यपहाडी लोकमार्गले जोडिएपछि सहरका रूपमा विकास भएका हटिया र बुर्तिबाङमा ठूला–ठूला घर भवन निर्माण भइरहेका छन्।यसले गर्दा खुला ठाउँ कत्ति पनि छैन।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने तथा रोकिने बुर्तिबाङ र गलकोटमा व्यवस्थित बसपार्क छैन। बुर्तिबाङ बजारमा बसपार्क भए पनि गलकोटमा छैन।

ढोरपाटन नगरपालिकाको केन्द्र समेत रहेको बुर्तिबाङमा बसपार्क भए पनि निकै साँघुरो छ। साँघुरो बसपार्कमा २० वटाभन्दा बढी गाडी रोक्न मिल्दैन। त्यसले गर्दा चालकहरूले जथाभावी रूपमा गाडी रोक्दा बजार नै अस्तव्यस्त बनेका छन्। त्यसमाथि पनि व्यवसायीहले सडकपेटीमै सामान राख्दा पैदल यात्रुलाई झनै समस्या थपिएको छ।

'बजार साँघुरो छ, गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिँड्ने?, बसपार्क पनि यति सानो छ, व्यापारीहरूले पनि सडकमै ल्याएर सामान राखेका छन्', स्थानीय जगत घर्तीले भने, 'एकातिर गाडीले बाटो छेकेको छ, अर्कोतिर व्यापारीका सामानले, पैदल यात्रु कहाँबाट हिँड्ने ? यहाँका मुख्य निकायले ध्यान दिनुपर्ने हो तर मौन देखिन्छन्।'

उनले १२ वर्ष अगाडिसम्म बुर्तिबाङ बजारमा भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताए। 'आजभन्दा १२ वर्ष अगाडि बुर्तिबाङ बजार सुनसान थियो, थोरै घर थिए, अहिले जताततै भरिए, खाली ठाउँ कतै पनि छैन', उनले भने, 'विकास हुनु राम्रो हो तर यसरी अस्तव्यस्त विकासले नागरिकले दुःख पाउँछन्।'

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले अहिले सञ्चालनमा आएको बसपार्क निकै साँघुरो हुँदा बजार व्यवस्थापनमा समस्या भएको बताए। नयाँ सहरी विकास आयोजनासँग सहकार्य गरेर वडा नम्बर १ को खप्तरीबाङमा खरिद भएको जग्गामा व्यवस्थित बसपार्क निर्माण गरिने उपप्रमुख कायतले बताए।

'बसपार्क निर्माणका लागि दुई वर्षअगाडि नै वडा नम्बर १ को खप्तरीबाङमा जग्गा खरिद भइसकेको छ। अहिले सञ्चालनमा रहेको बसपार्क निकै साँघुरो छ, यहाँ धेरै गाडी राख्न मिल्दैन, यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ। यसको व्यवस्थापनमा नगरपालिका गम्भीर भएर लागेको छ',उपप्रमुख कायतले भने, 'नयाँ सहरी विकास आयोजनाले पनि बसपार्कका लागि जग्गा खोजिरहेको छ, अब आयोजनासँग समन्वय गरेर बसपार्क निर्माण गर्नेर अहिले भएको बसपार्कलाई कार्यक्रम स्थल बनाउने र अन्य गतिविधिका लागि प्रयोग गर्ने गरी योजना बनाएका छौँ।'

उपप्रमुख कायतले लोकमार्ग कालोपत्रे भएपछि यातायातको चाप निकै बढेको हुँदा बजार व्यवस्थापनमा समस्या परेको बताए। बुर्तिबाङ बजार नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार भएको हुँदा ढोरपाटन जाने पर्यटकका कारणले पनि यहाँ गाडी व्यवस्थापनमा समस्या भएको उनीको भनाइ छ।

अस्तव्यस्त सवारीसाधनको पार्किङले बजारलाई नै कुरूप बनाएको भन्दै केही समयमा यो समस्याको समाधान गर्ने बताउँछन्।

उनले भने, 'अहिले सेवा सुविधाको हिसाबले बुर्तिबाङ विकास भयो, सडक राम्रो भयो, जताततै घर भरिए, खाली ठाउँ भएन। त्यसले गर्दा समस्या आएको हो, यो समस्याको समाधानका लागि हामी प्रयत्न गरिरहेका छौँ।'

बुर्तिबाङ बजार निसीखोला, भूजीखोला र तमाखोलाको संगम स्थल हो। जिल्लाकै दोस्रो ठूला व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङ तीनवटै क्षेत्रका बासिन्दा किनमेलका लागि बुर्तिबाङ झर्ने गर्छन्। अझ अहिले त मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाको किनमेल गर्ने ठाउँ बुर्तिबाङ बजार बनेको छ। बुर्तिबाङ बजारदेखि हरेक दिन दजनौँ गाडी देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवल लगायतका ठाउँ र पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन्।

मध्य बागलुङमा पर्ने गलकोटको हटिया बजार पनि एक दशक अगाडिसम्म सुनसान थियो। मध्यपहाडी लोकमार्गले जोडिएपछि यो पनि बजारमा परिणत भयो। दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो छ। यहाँ पनि गाडी र मान्छेको चाप उस्तै छ। त्यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ। गलकोटमा लोकमार्गमा सञ्चालन हुने तथा बजारदेखि ठूला सहर र ग्रामीण क्षेत्रमा चल्ने गाडीले बजार अस्तव्यस्त बनाएको छ।

सवारीसाधनको चाँप बढेपछि गलकोट क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि व्यवस्थित बसपार्कको आवश्यक परेको स्थानीय थम्मन थापाले बताए। गलकोटमा एक दशक अघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरूले भरिएको उनले बताए। बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबीसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको थापा बताउँछन्।

'तीव्र बजारीकरणका कारण गलकोटमा बसपार्कको अत्यावश्यक छ, सानो ठाउँ छ, धेरै मान्छे र सवारीसाधन छन्, बजारमा जता हेर्‍यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ', उनले भने, 'खुला ठाउँ भएको भए गाडी व्यवस्थापन गर्न पनि सजिलो, किनमेल गर्न बजार आउने मान्छेलाई फुटपाथमा हिँड्न पनि सजिलो हुन्थ्यो, अहिले त मान्छे उहीँ, गाडी उहीँ, यसले गर्दा दुर्घटनाको जोखिम त निकै बढायो।'

उनले कुनै समय ठूलो कार्यक्रम गर्दा मान्छेहरू राख्न नसक्ने होटल अभाव हुने गलकोटमा अहिले सुविधा सम्पन्न होटल रेष्टुराँ बनिरहेको भन्दै बाहिरी मान्छे समेत यहाँ घुम्न आउने गरेको बताए। यहाँ जनसंख्या बढ्नु र बाहिरी मान्छेको आगमन समेत बढ्दा बजार व्यवस्थापनमा थप चुनौती थपिएको थापाले बताए।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोटमा ठूला बजार विस्तार भएको हुँदा बसपार्क अत्यावश्यक परेको बताए। बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिरहेको उनीको भनाइ छ। जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको प्रमुख गैरे बताउँछन्।

'जनघनत्व बढी भयो, सवारीसाधन पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन। बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ', नगरप्रमुख गैरेले भने, 'हामीले निकै प्रयास गरेका छौँ, जग्गा व्यवस्थापन हुनासाथ प्रदेश र संघ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गछौँ।'

अहिले बजार क्षेत्रको सडकलाई एकतर्फी रूपमा सञ्चालन गरेर समस्या सामाधान गर्ने प्रयास गरिरहेको उनले बताए। गैरेले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारीसाधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताए।

यता जिल्ला सदरमुकाम बागलुङ बजारमा भने बसपार्क नभएका होइनन्। यहाँ दुईवटा बसपार्क छन्। वडा नम्बर ३ मा चिप्लेटी बसपार्क र वडा नम्बर ४ उपल्लाचौरमा नयाँ आधुनिक बसपार्क निर्माण भएको छ। चिप्लेटी बसपार्क साँघुरो भएको हुँदा उपल्लाचौरमा नौ करोड लागतमा बसपार्क निर्माण गरिएको हो तर निर्माण भएको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन।

नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क सञ्चालनमा आउन सकेको छैन। करिब २० वर्षअघि बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए। एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ।

विसं. २०७५ मा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम तीनपटक म्याद थपेर काम सकिएको हो। बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ र ग्यारेज निर्माण भएका छन्। नगर विकास कोषले रु. नौ करोड चार लाख ऋण दिएपछि निर्माण सुरु भएको थियो। हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन। उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दूरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो।

निर्माण भएको बसपार्क रित्तो छ। यता बजारमा भने सवारीको चापले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ। बजारको मुख्य सडक जिपपार्कदेखि ट्राफिकचोकसम्म दैनिक साना ठूला सवारीसाधनले जाम हुने गरेको छ। सवारीसाधनलाई एकतर्फी भए पनि निरन्तर सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए।

उनले बजार साँघुरो र त्यसमाथि ग्रामीण क्षेत्रबाट आउने गाडी र बजारदेखि लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए। उनले पार्किङका लागि बागलुङ नगरपालिकासँग छलफल गरिरहेको बताए।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उपल्लाचौरमा बनेको नयाँ बसपार्क सञ्चालनका लागि कार्यदल बनाएको भन्दै यहाँ भएका समस्या समाधान गरी छिटै सञ्चालनमा ल्याउने बताए। उनले निर्माण भएको बसपार्क रित्तो हुने तर बजारमा सवारीसाधनको भीड हुने गरेको भन्दै केही समयमै यसलाई सञ्चालनमा ल्याउने दाबी गरे।

'बसपार्क सञ्चालनमा केही समस्या रहेछन्, त्यसको समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले कार्यदल गठन गरेको छ', नगरप्रमुख श्रेष्ठले भने, 'कार्यदलले यहाँ भएको समस्या समाधान गर्नबित्तिकै बसपार्क सञ्चालनमा ल्याउँछौँ, माथिको बसपार्क सञ्चालनमा आउनेबित्तिकै बजारमा सवारीसाधनहरूको चाप स्वतः कम हुन्छ, सवारीसाधनको चाप कम हुनासाथ बजार व्यवस्थापनमा सजिलो हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.