|

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दैलेखमा क्रियाशील राजनीतिक दलहरूले अहिले गाउँ केन्द्रित अभियानलाई तीव्रता दिएका छन्।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित छन्। 

यसअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेखका दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको (एमाले) लाई यस पटक मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन भारी बन्ने देखिन्छ।

चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा यसअघि सम्पन्न निर्वाचनमा ३ वटा प्रदेश सभामा एमाले र १ प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो। प्रदेश सभाको निर्वाचनमा यहाँ एमाले र माओवादी (केन्द्र)को चुनावी गठबन्धन रहेको थियो। 

११ वटा स्थानीय तह रहेको दैलेखमा वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले यहाँका दुई नगरपालिका र दुई गाउँपालिका गरी चार वटा स्थानीय तहमा जित हात पारेको छ। अन्य दुई स्थानीय तहमा माओवादी र पाँच स्थानीय तह नेपाली कांग्रेसले जितेको छ। 

स्थानीय तह निर्वाचनमा गठबन्धनको केन्द्रीय निर्देशन अनुरूप दैलेखमा पाँच दलीय गठबन्धनले सार्थकता भने पाउन सकेको थिएन। माओवादी (केन्द्रले) प्रमुख र समाजवादीले उपप्रमुख जितेको नौमूले गाउँपालिकामा दुई दलीय गठबन्धन रहेको थियो। उक्त गाउँपालिकामा कांग्रेस र एमाले एक्ला–एक्लै निर्वाचनमा होमिएका थिए। 

नारायण नगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि यहाँ प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भए। दुल्लु नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नगर प्रमुखमा विजयी भएका थिए। गठबन्धनका तर्फबाट माओवादीले उपप्रमुख पाएको दुल्लुमा एकल निर्वाचनमा गएको एमालेका उम्मेदवार विजयी भए। 

यहाँका तीन वटा स्थानीय तहमा वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनताका पाँच दल भित्रका विभिन्न दलहरूले गरेको गठबन्धनले खासै उपलब्धि दिन सकेन। विगतदेखि नै एमालेको पकड मानिने दैलेखमा मंसिर ४ मा हुने संघ र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पछि पार्न मुस्किल देखिन्छ। 

क्षेत्र न १ : स्थानीय तहको अङ्कगणित 

११ स्थानीय तह रहेको दैलेखमा चार स्थानीय तहमा एमाले, पाँच स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा माओवादी (केन्द्र)का उम्मेदवार विजयी भएका छन्। दैलेख क्षेत्र नं १ मा पर्ने छ वटा स्थानीय तह मध्ये तिन स्थानीय तहमा एमालेले जित हात पारेको छ। अन्य दुई स्थानीय तहमा माओवादी र एक स्थानीय तहमा कांग्रेसले विजयी भएको छ। 

दैलेख क्षेत्र नं १ का छ स्थानीय तहको मतपणिरामलाई केलाउने हो भने यहाँ गठबन्धन भन्दा एमाले करिब ९ हजार ३ सय ९८ मतले पछि देखिन्छ। गुराँस गाउँपालिकामा गठबन्धनका दलले ४ हजार ५ सय ८ मत रहेको छ भने एमालेको ४ हजार ६ सय ८१ रहेको छ।

डुंगेश्वरमा एमालेले ३ हजार ४ सय ६ मत रहेको छ भने गठबन्धन दलहरूको ३ हजार ३ सय ३६ मत रहेको छ।  

नारायण नगरपालिकामा एमालेभन्दा पाँच दलीय गठबन्धन पछि रहेको छ। स्थानीय तहको मत परिणामलाई हेर्दा यहाँ एमालेले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले ५ हजार ३ सय ८२ मत प्राप्त गरेका छन्। नौमूले गाउँपालिकामा एमाले भन्दा गठबन्धनका दलहरू झन्डै ४ हजार मतले अघि छन्। नौमूलेमा साजवादी÷माओवादीको ३ हजार २ सय र कांग्रेसको २ हजार ५ सय ४४ मत रहेको छ भने एमालेको १ हजार ९ सय २० मत रहेको छ।  

भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत ५ हजार ७६ देखिन्छ। एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा १ हजार ९ सय ३३ मत प्राप्त गरेको छ। महाबु गाउँपालिकामा पनि गठबन्धनका दलहरू भन्दा एमाले कमजोर छ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा महाबुमा कांग्रेसले २ हजार ९ सय ७९, समाजवादीले २ हजार २ सय ६८ र एमालेले २ हजार ५ सय १९ मत प्राप्त गरेको छ। 

क्षेत्र नं. २ : स्थानीय तहको अङ्कगणित 

दैलेखको क्षेत्र नं २ मा एमाले र कांग्रेसको कडा प्रतिष्पर्धा देखिन्छ। पाँच वटा स्थानीय तह रहेको दैलेख क्षेत्र नं २ मा चार वटा स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठविस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ।

२०६४ सालबाट दैलेखको क्षेत्र नं २ संघिय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँच दलिए गठबन्धन भारी पर्नेे देखिन्छ। क्षेत्र नं २ का पाँच स्थानीय तहमा स्थानीय निर्वाचनमा विभिन्न पार्टीले पाएका मत परिणामलाई केलाउँदा एमाले र गठबन्धनको कडा परदिषपर्धा छ। २०६१ सालमा माओवादी विरुद्ध दुल्लु विद्रोहका कारण क्षेत्र नं २ मा माओबादिको जनाधार कमजोर छ। एमाले विभाजन पछि बनेको समाजवादीको पनि यहाँ कमजोर जनाधार रहेको छ। 

पाँच वटा स्थानीय तह रहेको क्षेत्र नं २ मा स्थानीय निर्वाचनमा दलहरूले पाएका मत केदाउदा क्षेत्र नं २ मा एमाले गठबन्धनका दलहरू भन्दा ३ हजार ८ सय ५ मतले पछि देखिन्छ। स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिकामा गठबन्धनका दलहरूले ७ हजार ९ सय १ मत प्राप्त गरेका छन्। दुल्लुमा एमालेले ७ हजार १ सय ६० मत पाएको छ। 
भैरवी गाउँपालिकामा गठबन्धनका दलहरू कांग्रेस र माओवादी भन्दा एमाले १ हजार ४ सय १० मतले पछि देखिन्छ। भैरवीमा कांग्रेसले स्थानीय तहको निर्वाचनमा ३ हजार ९ सय ७६ मत प्राप्त गरेको छ। माओवादीले १ हजार ३ सय ९३ मत प्राप्त गर्दा यहाँ समाजवादीले १ मत मात्र प्राप्त गरेको छ। भैरवीमा एमालेले ३ हजार ९ सय ६० मत प्राप्त गरेको देखिन्छ। 

चामुण्डा विन्द्रासैनी नगरपालिकामा स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूले ४ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। चामुण्डामा कांग्रेसले ४ हजार ७०, माओवादीले २ सय र समाजवादीले १ सय ३५ मत प्राप्त गरेका छन् भने एमालेले चामुण्डामा ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ।

यस्तै, ठाटिकाध गाउँपालिकामा एमाले भन्दा गठबन्धन दल कांग्रेस र माओवादीका उम्मेदवारले १ हजार ४ सय ९३ मत बढी पाए छन्। ठाटिकाधमा कांग्रेसले २ हजार ५ सय ७१, माओवादीले १ हजार ६ सय १७ मत प्राप्त गरेको छ भने एमालेले २ हजार ६ सय ९५ मत प्राप्त गरेको छ। 

स्थानीय तह निर्वाचनमा एमालेले जित हात पारेको यहाँको आठविस नगरपालिकामा गठबन्धनको प्रमुख घटक कांग्रेसका उम्मेदवारले ५ हजार १ सय ३७ मत प्राप्त गरेका देखिन्छ।

उक्त्त  नगरपालिकामा एमालेका उम्मेदवारले ५ हजार ३ सय ८५ मत प्राप्त गरेका छन्। आठविस नगरपालिकामा कांग्रेस भन्दा एमाले २ सय ४८ मतले अघि देखिन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.