तत्काल सम्भावना देखिएन तर, एमालेसँग सहकार्यका लागि खुला छौँ

|

चुनावको मिति नजिकिएसँगै निर्वाचनको रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। चुनावी माहोल बनाउन मात्रै नभएर सत्ता गठबन्धनलाई सिट बाँडफाँडको विषय पनि झन् झन् पेचिलो बनिरहेको छ।  

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनबाट जान सिट बाँडफाँडको गृहकार्यमा जुटिरहेका छन्। तर, सिट मिलाउन सकस छ। सबै दलहरूको आकांक्षा ठूलो भएकाले शीर्ष तहमै सिट मिलाउन हम्मेहम्मे परेको छ। 

गठबन्धनमा सिट बाँडफाँटको समस्याको गाँठो के हो? चुनावपछि भावी प्रधानमन्त्री को? गठबन्धनको चुनौती र आगामी भविष्यलगायतका विषयमा केन्द्रित रहेर थाहाखबरले नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मासँग गरेको कुराकानी– 

गठबन्धनमा सिट बाँडफाँड निकै सकसपूर्ण किन बन्दै गइरहेको छ?

सबै दलहरूले बढीभन्दा बढी सिट दाबी गरेको कारणले नै अहिले सिट बाँडफाँडमा समस्या भएकै कारणले गृहकार्य लम्बिएको छ। दलहरूभित्र आन्तरिक व्यवस्थापनको कुरा पनि छ। गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसभित्र शेरबहादुरजीलाई पार्टीभित्रको सबै पक्षलाई मिलाउनुपर्ने समस्या छ। बाहिर गठबन्धन साथीहरूलाई पनि मिलाउनै पर्ने समस्या छ।

यो समस्याको बीचमा देउवाजी हुनुहुन्छ। दलभित्रको धेरै आकांक्षीहरूलाई सम्बोधन मिलाएर लिएर जानुपर्ने। अर्कोतिर गठबन्धनका दलहरूलाई पनि सम्मानजनक हिसाबले मिलाएर जानुपर्ने समस्याले पनि अप्ठ्यारो भएको हुनुपर्छ। अन्य दलहरू एकीकृत समाजवादीमा पनि धेरै आकांक्षी छन्। त्यसलाई समाधान गर्नुपर्छ। यता माओवादी पार्टीमा भने त्यस्तो धेरै समस्या भएजस्तो मलाई लाग्दैन। 

दलहरूलाई सिट बाँडफाँडका लागि त यति धेरै समस्या छ। तर, निर्वाचनमा मत सहजै ‘ट्रान्सफर’ होला त? 

सतप्रतिशत हुन्छ भन्ने छैन। गएको स्थानीय तहको निर्वाचनमा पनि थोरैमात्र तलमाथि परेको छ। अहिले पनि संघको निर्वाचनमा भन्दा संघको निर्वाचनजस्तो हुँदैन। स्थानीय निर्वाचनमा नजिकको मान्छे हेर्ने हुन्छ। तर, अहिले त्यस्तो हुन्छ जस्तो लाग्दैन। 

विगतमा गठबन्धन गरेको दल र अहिलेको गठबन्धनमा सैद्धान्तिक धरातल त फरक छ नि!

लोकतान्त्रिक आन्दोलनमा केही दललाई छाडेर हेर्दा सबै लोकतान्त्रिक आन्दोलनको सहयात्री हुन्। सबै दलले आआफ्नो ठाउँबाट भूमिका खेलेका छन्। सैद्धान्तिक संविधान त्यसको रक्षा र कार्यान्वयनमा लोकतान्त्रिक संस्थागत विकास र राजनीतिक स्थिरता नै अहिलेको प्रमुख एजेण्डा हुन्। त्यसमा राजनीतिक दलहरू एकैठाउँमा भएका छौँ। त्यसैले धेरै ठूलो खाडल देख्दैनौँ। 

सिट बाँडफाँटमा सबैलाई सम्मानजनक ढंगले गर्न गठबन्धन सफल होला र! शीर्ष नेताहरूबाटै आइरहेको असन्तुष्टिलाई कसरी लिनुहुन्छ? 

हुन्छ। त्यो अनिवार्य छ। स्थानीय तहको ७५३ तहमा त मिलाएर आएका छौँ। संघमा १५६ प्रदेशमा ३३० सिट मिलाउन त्यस्तो धेरै समस्या हुन्छ जस्तो लाग्दैन। त्यस्तो किसिमको अभिव्यक्ति एकदुई सिट तलमाथि पार्न स्वाभाविक रूपमा गरेका हुनसक्छ। अहिलेको आवश्यकता गठबन्धन नै हो। त्यसलाई जोगाएर जान्छ भन्ने मलाई लागेको छ। 

चुनावपछिको भावी प्रधानमन्त्री प्रचण्ड कि देउवा भन्ने विषय पेचिलो बनेको भन्ने चर्चा चलिरहेको छ नि!

परिर्वतनको वाहक शक्तिमा हामी पनि एउटा हौँ। नेपाली कांग्रेसले २००७ सालदेखि सत्ताको बागडोर सम्हालेर सबैभन्दा धेरै सत्ता उसैले सञ्चालन गरेको छ। अहिले नेपाल र जनताले चाहेको के हो? भन्ने कुरा महत्त्वपूर्ण हो।

जनताले व्यवस्था फेरिएपछि अवस्था फेरिएको महशुस गर्न पाएका छैनन्। अग्रगामी सोच र छलाङ आवश्यक छन्। जनताको समस्या उस्तै छन्। गाउँमा सामन्ती थिए। माओवादीले लखेट्यो। अहिले मधेशमा मिटर ब्याजीहरू उस्तैगरी फैलिरहेका छन्। कानुन र सत्ताले समेत नियन्त्रण गर्न सकेको छैन। त्यसैले फेरि अग्रगामी शक्तिले देशको नेतृत्व गर्नुपर्ने आवश्यक छ। त्यसलाई जनताले बुझेका छन्। त्यसलै हाम्रो पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ।

हामीले संविधान बनाउन त्यत्रो लडेर ल्याएको संघीयता,समानुपातिकता, धर्म निरपेक्षता कार्यान्वयन गर्न बाँकी नै छ। अहिले पनि कयौँ ऐनहरू संघीयता कार्यान्वयनका लागि अवरोध गर्न खोजिएको छ। त्यसैले अहिले परिर्वतनको लागि अग्रगामी छलाङ चाहिन्छ। 

भनेपछि प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्छ भन्ने तपाईँहरूको भनाइ हो? 

रूपान्तरणमा छलाङमा नेतृत्व गर्नुपर्ने व्यक्ति अहिलेको आवश्यकता बनेको छ। त्यो जनताले महशुस गरिराख्नुभएको छ। 

गठबन्धनले चुनाव अगाडि नै हाम्रो प्रधानमन्त्री चाहिँ यो भनेर घोषणा गरेर जानसक्ने स्थिति छ कि छैन? 

यो बारेमा छलफल होला। राष्ट्रिपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाको अध्यक्ष को बन्ने भन्ने विषयमा मोटामोटी छलफल होला। अहिले सिटकै कारणले जिम्मेवारी निर्धारण हुने हो। त्यसैले सिट बाँडफाँडमा केन्द्रित छौँ। यो छलफलको विषय हो। सिटको कुरा टुंग्याएर समानुपातिक उम्मेदवार तय भएपछि मात्रै यो कुरामा छलफल होला।

संसदीय निर्वाचनमा हाम्रो प्रधानमन्त्री यो भनेर जाने परिपाटी छ। एमालेले त केपी ओली भनेर भनिसक्यो? 

अहिलेसम्म गठबन्धनमा शेरबहादुरजी र प्रचण्डजीको नाम आएको छ। गठबन्धनका सबै नेताहरूलाई सम्मान गर्नुपर्छ। रामचन्द्रजी र माधव नेपालजी पनि हुनुहुन्छ। नेताहरू व्यवस्थापन गरेर राजनीति स्थायित्व गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने नै हो। अवस्था परिवर्तनमा छलफल आवश्यक छ। 

देउवा र प्रचण्डबीच आलोपालोको सहमति पनि हुनसक्छ? प्रचण्डले सार्वजनिक रूपमै इच्छा व्यक्त गरिराख्नुभएको छ नि! 

यो बारेमा अहिले भन्नसक्ने अवस्था छैन। पार्टीमा पनि यो विषयमा छलफल चलेको छैन। सम्मानजनक व्यवस्थापन आवश्यक छ। राजनीति गर्ने भन्ने कुरा नेतृत्व गर्ने भन्ने नै हो। प्रचण्डको इच्छालाई स्वाभाविक रूपमा लिनुपर्छ।

दलहरूबीच आपसमा संवाद हुनु स्वाभाविक हो। सत्तापक्ष र प्रतिपक्षको नेताहरूसँग छलफल हुनु पनि पर्छ। हामी पनि एमाले र कांग्रेस वा अन्य दलहरूसँग बसेर व्यक्तिगत रूपमा छलफल गर्ने गरिरहेका छौँ। तर, औपचारिक रूपमा त्यस्तो भएजस्तो लाग्दैन। 

कतिपयले एमालेले माओवादी र समाजवादीसँग मिल्दैनौँ भनेर विश्वास दिलाएर कांग्रेस एक्लै लड्छ भन्ने चर्चा चल्न थालेको छ। त्यो कतिको सत्य हाे? 

अहिलेको सन्दर्भमा देउवाजीले गठबन्धन बाहेक सोच्नुभएको छ जस्तो लाग्दैन। उहाँको पार्टीमा अन्तर्विरोध त हामीले पनि हेरिरहेका छौँ। तर, एक्लै जाँदा राम्रो परिणाम ल्याउन सक्दैनौँ भन्ने निष्कर्षसाथ अहिलेको आवश्यकता नै गठबन्धन देख्नुभएको छ। कांग्रेसका केही साथीहरू त पहिलादेखि नै गठबन्धन गरेर जान हुँदैन भन्दै हुनुहुन्थ्यो। अहिले पनि भनिराख्नुभएको छ। लोकतन्त्रमा आफ्नो मत राख्न पाइन्छ। त्यसलाई अनावश्यक रूपमा लिन हुँदैन। मैले हेर्दा गठबन्धनप्रति देउवाजी प्रतिबद्ध हुनुहुन्छ। 

गठबन्धनमा रहँदै गर्दा माओवादीले धेरै सिट पाए एमालेसँग गठबन्धन गर्नसक्छ भन्ने टिप्पणी पनि भइरहेका छन्। त्यो सम्भावना अझै छ? 

त्यो अहिलेको सन्दर्भमा मिल्छ जस्तो लाग्दैन। तर, राजनीतिमा असम्भव भन्ने केही हुँदैन नै। माओवादी केन्द्र र एमालेबीच एकताको सम्भावना नहुने भन्ने छैन। तर, अहिले हामीले यही गठबन्धनलाई नै जोड दिइराखेका छौँ। 

एकीकृत समाजवादीसँग पार्टी एकतादेखि एउटै घोषणापत्रको कुरा आएका छन्। त्यो चुनावअघि कि चुनावपछिको कुरा हुन्? 

पार्टी एकताको सम्भावना अहिल्यै छैन। माओवादी वामपन्थी एकतालाई एकताबद्ध गराएर जाने अभियान नै चलाइरहेका छौँ। अहिले मात्रै होइन पहिलादेखि नै। त्यही अभियान अनुसार नेकपा बनेको थियो। त्यो एकता जोगाउन सकेनौँ। कसको कारणले असफल भयो इतिहासले समीक्षा गर्ला। राजनीतिमा असम्भव भन्ने नहुने भएकाले भोलिका दिनमा एमालेसँग पनि खुला दिलले सहकार्य गर्न हामी तयार नै छौँ।

कुनै अवस्थाले गर्दा अहिले अलग अलग भएर चुनाव लड्नुपर्ने अवस्था भयो। त्यसैले अहिले गठबन्धन दलका वामपन्थी साथीहरूसँग पनि मिलेर जाने भन्ने सहमति छ। पार्टी एकता संयोजन समिति बनाएर जाने भनेर हामीले यसअघि नै निर्णय गरिसकेका छौँ। अहिले त्यसबारेमा छलफल अघि बढेको छैन। सबै चुनावमै केन्द्रित भएका छौँ। चुनावपछि एकता हुने सम्भावना छैन। 

गठबन्धन सरकार बनेपछि निरन्तर अलोकप्रिय निर्णय गरेको छ। त्यसले चुनावलाई असर गर्छ जस्तो तपाईँहरूलाई लाग्दैन? 

अलोकप्रिय भनेर अलि बढी प्रचार भएको छ। यो संविधान र लोकतन्त्र जोगाउन बनेको सरकार हो। यसको काँधमा मुख्य दुई जिम्मेवारी थियो। पहिलो स्थानीय तहको निर्वाचन, त्यो सफल भइसक्यो। अब दोस्रो संघ र प्रदेशको चुनावको कुरा छ। सरकारले पुराना थन्किएर बसेका विषयलाई टुंगो लगाउन खोजेकै कारणले प्रश्नहरू उठेका छन्।

भोलिका दिनमा फेरि पुनरवलोकन र छलफल होला। एमसीसी, नागरिकता विधेयक पनि पुरानै समस्या हो। सरकारले सल्टाउने प्रयास गरेको हो। प्रतिपक्षले ल्याएको विषय अघि बढाउँदा सर्वसम्मत होला भन्ने सरकारले चाहेको थियो। तर, एमालेले दोहोरो भूमिका खेलेर राजनीतिक प्रचारबाजी गरेको मात्रै हो। त्यसका लागि अब बलियो छलाङ मार्न सक्ने बलियो सरकार बनाउनुपर्छ। 

चुनावपछि पनि गठबन्धन कायमै रहन्छ? 

जनता र राष्ट्र केन्द्रित भएर रहन्छ। व्यक्ति स्वार्थ र गुट केन्द्रित भएर बिग्रिएर जान्छ। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.