नझुलाउन विद्यार्थीको माग

|

काठमाडौं : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर भाडामा बसेर अध्ययन गर्नेहरुलाई निःशुल्क इन्डक्सन चुलो दिने भनिएको समय सार्दै लगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यही भदौ पहिलो साता वितरण गर्ने भनेको थियो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रवक्ता नवराज ढकालले साउन ३० गते थाहाखबरसँग भनेका थिए, ‘वितरण गर्ने तयारी हुँदै छ,अब अर्को हप्ताबाट बाँड्न शुरु गर्छौं।’ 

तर केन्द्रले हालसम्म चुलो वितरण गरेको छैन। वितरण गर्ने समय फेरि सारिएको छ। ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख रणबहादुर थापाले वितरणको प्रक्रियामा रहेको बताए। उनले भने, ‘चुलो वितरण गर्ने तयारीमा छ, अब छिट्टै वितरण गर्छौं।’

सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर भाडामा बसेर सरकारी वा सामुदायिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलनसम्बन्धी सूचना जारी गरेको थियो। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत दिन भन्दै यो चुलोका लागि ०७८ फागुन २५ गतेभित्र निवेदन बुझाउन भनेको थियो। त्यहीअनुसार विद्यार्थीले आवेदन दिए।

ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख थापाका अनुसार दुर्गम क्षेत्रका लागि ८ हजार चुलो दिइने भनिएकोमा ७ हजार ६ सय जनाको आवेदन परेको छ।

लोपोन्मुख आदिवासी‚ जनजाति तथा दलित वर्गका लागि ५ हजार चुलो दिइने भनिएकोमा करिब ८ हजार विद्यार्थीको आवेदन परेको छ। सरकारले १३ हजार वटा चुलो वितरण गर्न करिब २ करोड बजेट विनियोजन गरेको उनले बताए। तर आवेदनकर्ता भने १५ हजार ६ सय जना रहेका छन्।

नझुलाउन विद्यार्थीको माग

आवेदन दिएको ७ महिना लाग्दा पनि सरकारले चुलो वितरण नगरपछि भ्रम छरेको भन्दै विद्यार्थीहरू गुनासो गर्न थालेका छन्। अखिल युथ फोर्स आरआर क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले विद्यार्थीलाई यसरी भ्रम नछर्न आग्रह गर्दै तत्काल चुलो वितरण गर्न माग गरे।

उनले भने, ‘सरकारले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चुलो दिने भनेर घोषण गर्‍याे, वितरण भने अहिलेसम्म गरेन। किन रोकियो? नदिने भएपछि यस्तो किन भ्रम छर्न पर्‍याे? यसरी झुलाउन पाइँदैन।’

​उनका अनुसार आरआर क्याम्पसबाट मात्रै करिब २ सय विद्यार्थीले चुलोका लागि आवेदन दिएका छन्। उनीहरूले पनि सरकारले दिने नै भए छिटो बाँड्न माग गरेका छन्।

पुरानो नबाँड्दै फेरि नयाँ आवेदन खुला

सरकारले ०७८ सालमा मागेको आवेदनको चुलो वितरण नगर्दै फेरि ०७९/८० को लागि चुलोको लागि आवेदन खुला गरेको छ। ऊर्जा केन्द्रले आव ०७९/८० को लागि केन्द्रमार्फत कार्यान्वयन हुने जैविक ऊर्जा प्रणालीसम्बन्धी विभिन्न कार्यक्रमका लागि माग संकलनसम्बन्धी सूचना भदौ २० गते जारी गरिसकेको छ।

जसमा काठमाडौं बाहिरबाट उपत्यका आएर घरभाडा लिई स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्युतीय चुलोका लागि आवेदन माग गरिएको छ। उक्त चुलोको लागि विद्यार्थीहरूले अन्तिम मिति असोज ९ गतेभित्र सम्ममा कार्यालयमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.