|

रौतहट : रौतहटको मौलापुर नगरपालिका वडा नं—३ मा नक्कली बुबा बनाई जन्मदर्ता दिएको खुलेको छ।

मौलापुर नगरपालिका वडा नं–३ का अध्यक्ष महेश महतोले एक स्थानीयलाई नक्कली बुबा बनाई बारा जिल्ला घर भएकी एक महिलालाई जन्मदर्ता प्रमाणपत्र दिएको खुलासा भएको हो।

बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं–५ बस्ने खोभारी महराकी छोरी चाँदनी महराकी बिहे कलैया उपमहानगरपालिका वडा नं–२ बस्ने जयनारायण महरासँग भएको प्रमाण छ। तर मौलापुर नगरपालिका वडा नं–३ बस्ने बिनोद महराले चाँदनी महराको नक्कली बुबा बनी सम्बन्धित वडा कार्यालयबाट जन्मदर्ता बनाएको प्रमाण सार्वजनिक भएको छ।

महराले गत १५ गते नक्कली बुबा बनी वडा कार्यालयबाट जन्मदर्ता बनाएको तथ्य सार्वजनिक भएको हो। सो घटनाको विषयमा वडाअध्यक्ष महतोसँग बुझ्दा गाउँको छोरी ठानी जन्मदर्ता बनाएको बताए।

उनले भने, ‘जन्मदर्ता बनाएको ५/७ दिनपछि चाँदनी विनोदको छोरी नरहेको पत्ता लाग्यो।’ त्यससछि विनोद महरालाई फकाएर आफूले बनाएर दिएको जन्मदर्ता फिर्ता दिएको र जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा बुझाएको वडाअध्यक्ष महतोले बताए।

वडाअध्यक्ष महतोले आफूबाट गल्ती भएको स्वीकार गरेका हुन्। यता विनोद महराले पनि आफू नक्कली बुबा बनी चाँदनीकी जन्मदर्ता बनाएको स्विकारेका छन्।

मौलापुर नगरपालिकाको वडा नं ३ का अध्यक्ष महतोले आर्थिक प्रलोभनमा फर्जी जन्मदर्ता प्रमाणपत्र बनाएको स्थानीयको बुझाइ रहेको छ। जिल्ला र बुबा फरक भएको कुरा थाहा हुँदाहुँदै उनले फर्जी जन्मदर्ता बनाएर दिएवापत रकम लिएको स्थानीयहरूको भनाइ छ।

जिल्ला प्रशासनमा ज्ञापनपत्र

फर्जी जन्मदर्ता प्रमाणपत्र बनाउने नक्कली बुबा विनोद महरा र वडाअध्यक्ष महेश महतोलाई कारबाही गर्न वडा नं–३ का स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्।

बारा जिल्ला घर भएकी चाँदनी महराकी नक्कली बुबा बिनोद महरा र फर्जी जन्मदर्ता बनाएका वडाध्यक्ष महेश महतोमाथि तुरुन्त कारबाही गर्न मागसहित स्थानीयले जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन्।

वडाअध्यक्ष महतोले पदको आडमा घुस लिई नागरिकता र विवाह दर्ताको सिफारिश गर्ने गरेको स्थानीयको आरोप छ। नागरिकता र विवाह दर्ताको सिफारिश गर्नसमेत वडाध्यक्ष महतोले २५ सय घुस लिने गरेको स्थानीयको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.