एकअर्काबीच निरन्तर संवादसँगै बेग्लाबेग्लै तयारी पनि

|

काठमाडौं : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मंसिर ४ गते हुने निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भए पनि काम अघि बढ्न सकेको छैन। गठबन्धनका शीर्ष नेताहरू महिनौँदेखि सिट बाँडफाँटमा अल्झिएका कारणले घोषणापत्रको काम अघि बढ्न नसकेको हो। 

चुनावपछि पार्टी एकता र अहिले कार्यगत एकता गरेर अघि बढ्ने शीर्ष तहमा सहमति भए पनि गृहकार्य न्यून देखिएको छ। वामपन्थी घटकहरूलाई एकताबद्ध गर्न भन्दै भदौ १ गते एकीकृत समाजवादीले माओवादीसँग एकताको लागि संयोजन समिति बनाउने निर्णय गरेपछि प्रक्रिया अघि बढेको थियो। 

एमालेबाट विद्रोह गरेको एक वर्ष नबित्दै माओवादीसँग मिसिन लागेको भन्दै समाजवादीका कार्यकर्ता असन्तुष्ट बनेका छन् भने चुनावको मुखमा पार्टी छाड्न केही नेता कार्यकर्ताको लहर नै लागिरहेको छ। 

भदौ ६ गते भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच ललितपुरमा भएको छलफलपछि एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउने सहमति भएको थियो। 

त्यसबारे थप प्रगति नभएको नेताहरूले बताउँदै आइरहेका छन् तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभएकाले कार्यगत एकता हुने दाबी गरे।

‘आसन्न निर्वाचनमा दुई पार्टीको एउटै घोषणापत्रसहित चुनावी तालमेल हुन्छ। विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन‚’ उनले शुक्रबार पोखरा पुगेर भनेका थिए।     

उनले आफू वाम गठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहेको प्रष्ट पारे। त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एकीकृत समाजवादीसँग एउटै घोषणापत्र लिएर जानेबारे छलफल भइरहेको बताउँदै आइरहेका छन्।

‘हामी एकीकृत समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ। घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ। चुनाव चिह्न भने आ–आफ्नै हुनेछ‚’ प्रचण्डको भनाइ थियो। 

अहिले माओवादीसँग एकीकृत समाजवादी मात्रै नभएर डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम पनि जोडिएका छन्। उनीहरूले माओवादीकै गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने सहमति भइसकेको छ। 

उनीहरूले चुनावपछि नेकपा समाजवादी केन्द्र निर्माणको प्रयास गरेका थिए तर बाबुरामले नेकपा अगाडि राख्न रूची नदेखाएपछि असफल भएको थियो। 

उनीहरूले एमाले बाहेकको कम्युनिष्ट एकता गर्ने प्रयास निरन्तर गरिरहेका छन् तर केही नेताहरूले एमालेलाई पनि सँगै लिएर जानुपर्ने जोड दिइरहेको कारणले कुरा मिल्न सकेन। 

कहाँ पुग्यो? 

समाजवादीसँग एउटै घोषणापत्र बनाएर जानेबारे छलफल चलिरहेको माओवादी नेता हरिबोल गजुरेल बताउँछन्।

उनी भन्छन्, ‘हामीले एउटै घोषणापत्र बनाएर जानेबारे छलफल गरिरहेका छौँ। दुवै पक्षबाट छलफल चलिरहेको छ। त्यो सम्भावना छ।’

उनले चुनावपछि पार्टी एकता गर्न समय नपुग्ने भएकाले संयोजन समिति बनाएर जानेबारे गृहकार्य भइरहेको बताए। 

‘हामीले वाम एकताको विषयमा हामी खुला नै छौँ। तर अहिले हामीले माधवजीहरूसँग एकता गर्ने निर्णय भइसकेको छ। अहिले बाबुराम र वामदेवजी पनि जोडिनुभएको छ‚’ उनले भने। 

छुट्टाछुट्टै तयारी 

आगामी निर्वाचनमा माओवादी र समाजवादीबीच एउटै घोषणापत्र लिएर जाने सहमति गरेपनि दुवै पार्टीले आ-आफ्नो तर्फबाट घोषणापत्र तयारी समिति गठन गरेर काम अगाडि बढाइसकेका छन्। 

माओवादीले भदौ ४ गते बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको थियो।

समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन्। सचिवहरू लीलामणि पोखरेल, गणेश साह रहेका छन्। पदाधिकारी बाहिरबाट हरि रोका, परशुराम रम्तेल अमृता थापा, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीम ढुंगाना, जगत सिम्खडा सदस्य रहेका छन्।

यस्तै, एकीकृत समाजवादीको साउन २५ गतेको सचिवालय बैठकले ३ उपमहासचिवलाई घोषणापत्र मस्यौदा तयार पार्न जिम्मेवारी दिएको थियो। समाजवादीबाट उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल घाेषणापत्र मस्याैदा समितिमा छन्। 

समाजवादीको ड्राफ्ट तयार

पार्टीले घोषणापत्र मस्यौदा तयार गरेर जिम्मेवारी दिएपछि आफ्नो तर्फबाट घोषणापत्रको ड्राफ्ट तयार भइसकेको उपमहासचिव प्रकाश ज्वाला बताउँछन्। 

उनी भन्छन्, ‘चुनावी तालमेल त हुने नै भइहाल्यो। हामीले आफ्नो पार्टीको ड्राफ्ट तयार गरिसकेको छौँ। एउटै घोषणापत्र लिनेबारे छलफल भइरहेको छ। सहमति बने हामी मर्ज गरेर अगाडि बढ्छौँ।’

एउटै घोषणापत्र लिएर जाने सम्भावना प्रवल रहेको उनले बताए। उनले माओवादीसँग चुनावअघि एकता संयोजन समिति बनाउनेबारे गृहकार्य भइरहेको समेत बताए। 

‘हामी कम्युनिष्ट एकता गर्नुपर्छ भनेर लागिरहेका छौँ। त्यसको लागि माओवादीसँग पार्टी एकताको तयारी पनि भइरहेको छ। त्यसैले चुनावअघि नै एकता संयोजन समिति बनाउनेबारे छलफल भइरहेको छ‚’ उनले भने, ‘त्यसका लागि चुनावअघि कार्यगत एकता हुन्छ।’ 

एउटै घोषणापत्र र एकता संयोजन समिति गठनका लागि दुवै तर्फका शीर्ष नेताहरू बसेर टुंगो लगाउने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.