१० जनाको दरबन्दी ६ जना मात्रै कार्यरत

|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ को प्रहरी चौकीका प्रहरी ३ वर्षदेखि सहकारी संस्थाको जीर्ण भवनमा बसिरहेका छन्।

प्रहरी चौकी निर्माणाधीन रहेकाले सो जीर्ण भवनमा बस्न प्रहरी बाध्य भएका हुन्। चन्द्रपुर नगरपालिकाले बनाइदिने भनेर ३ वर्षअघि शिलान्यास गरेको चौकी भवनको अहिलेसम्म जगमात्र उठाइएको छ।

२०७६ सालमा पुरानो चौकी भवन भत्काएर पूर्व नगर उपप्रमुख रामरति चौधरीले नयाँ भवनको शिलान्यास गरेकी थिइन्। नगरपालिकाले पर्याप्त बजेट विनियोजन नगरेकाले उक्त चौकीको भवन अलपत्र अवस्थामा रहेको छ।

प्रहरी चौकी समयमा निर्माण नहुँदा प्रहरी पुरानो जीर्ण भवनमा बस्न बाध्य छन्। हाल भएको प्रहरी चौकीमा ४ कोठे पानी चुहिने भवन र एउटा जीर्ण भान्साघर छ।

१० जनाको दरबन्दी रहेको यस चौकीमा ६ जना मात्र कार्यरत छन्। स्थानको अभावले चौकीको प्रशासनिक कामसमेत बाहिर बेन्चमा गर्ने गरेको चौकीका असई टेकबहादुर लामाले बताए।

बर्खामा भवनमा पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुने गरेको छ। भान्साघर झनै जीर्ण छ। भान्सामा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ। चौकीमा स्नानकक्ष, शौचालयको समस्या पनि उस्तै छ।

कसैलाई पक्राउ गरेर ल्याउनु परे राति चौकीमा थुनुवा राख्न सक्ने अवस्था नभएर तुरुन्त इलाका प्रहरी कार्यालय पुर्‍याउने गरेको असई लामाले बताए। राति पानी परेको अवस्थामा आवासगृहमा सुत्न नपाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको सो चौकीमा कार्यरत प्रहरीको भनाई रहेको छ।

वरिपरि झाडी, फोहोर भएर वेलावेला विषालु सर्प ब्यारेकमै आउने गरेको प्रहरीहरू बताउँछन्। चौकी निर्माणका लागि पटक पटक आग्रह गरिए पनि स्थानीय सरकारले चासो नदिएको चौकीका असई लामाको भनाइ रहेको छ।

प्रहरी भवन निर्माण लागि पटक पटक ताकेता गरिए पनि सम्बन्धित निकायले सुनुवाई नगरेको स्थानीय युवा नेता प्रह्लाद पौडेलले बताए।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले जथाभावी बजेट विनियोजन गरेका कारण प्रहरी चौकी निर्माण ढिलाई भएको वडा नं ८ का अध्यक्ष जितेन्द्र चौधरीले बताए। आफू वडाध्यक्ष भएपछि चौकी भवन निर्माणलाई अग्र स्थानमा राखेको र एक वर्षभित्रै चौकी निर्माण गरिसक्ने अध्यक्ष चौधरीको भनाई रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.