अहिलेको लामखुट्टे नै ‘स्मार्ट’ खालको हुँदा संक्रमण झन् फैलने जोखिम

|

काठमाडौं : पछिल्लो समय काठमाडौं र ललितपुरसहित देशभर ७५ जिल्लामा फैलिएको डेंगु संक्रमणले महामारीकै रुप लिन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झन्डै १० हजार (९ हजार ८३५) डेंगु संक्रमित भेटिँदा ७ जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन हाल काठमाडौं उपत्यकामा घरैपिच्छे डेंगुका बिरामी रहेको हुनसक्ने बताउँछन्।

‘फोहोरहरूलाई राम्रोसँग व्यवस्थापन गर्न सके अहिलेको अवस्था आउने थिएन, अहिले बिरामीको अवस्था हेर्दा त घरघरमा डेंगुका बिरामी रहेका छन् जस्तो देखिन्छ‚’ उनले भने।

अहिलेका लामखुट्टे नै स्मार्ट 

डा पुनका अनुसार हाल हाम्रो समुदायमा देखिने लामखुट्टे नै स्मार्ट खालको हुँदा संक्रमण झन् फैलने जोखिम रहेको छ। ‘ पहिले पहिले देखिने जस्तो लामखुट्टे अहिलेको छैन, अहिले त लामखुट्टे हाम्रो अफिसको टेबलदेखि सबै ठाउँमा भेटिन्छ। अहिलेको लामखुट्टे नै स्मार्ट खालको छ, यसरी  दिउँसो देखिने लामखुट्टे त्यसको आनीबानी हाम्रा लागि चुनौतीपूर्ण हुन्छ‚’ उनले भने।

डेंगु नियन्त्रण गर्न सरकारको रणनीति फितलो

तर अहिलेको डेंगु संक्रमण गत वर्षहरूमा देखिने समयमा भन्दा अगाडि नै देखिएको हुँदा अझै संक्रमण फैलने जोखिम रहेको डा पुनको भनाइ छ।

डा पुनले भने‚ ‘अहिले संक्रमणको अवस्था भनेको उत्कर्षतिर पुग्न लागेको स्थिर अवस्था हो, यसले गर्दा अझै केही हप्ता डेंगु अझै बढ्न सक्छ।‘

यता डेंगु संक्रमण बढ्दै गएको समयमा सरकार भने डेंगु संक्रमण गराउने लामखुट्टे खोज्ने र नष्ट गर्ने मुख्य रणनीतिमा मात्रै अल्झिएको छ।

छोटो समयमा डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको अवस्थामा सरकारले रणनीतिक हिसाबले डेंगु नियन्त्रणका लागि लामखुट्टे खोज्ने र नष्ट गर्ने बाहेक अन्य उपाय अहिलेसम्म अपनाएको छैन।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीका अनुसार अहिले सरकार डेंगु संक्रमण गराउने लामखुट्टे खोज्ने र नष्ट गर्ने नीतिमा मात्रै लागेको बताए।

उनका अनुसार त्यसको लागि मन्त्रालयले हाल डेंगु नियन्त्रणको लागि तीनवटै तहका सरकारसँग समन्वय गरेर, समुदाय स्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाइएको छ।

‘डेंगु संक्रमण बढ्दै गएको अवस्थामा अहिलेको हाम्रो मुख्य नीति भनेको लामखुट्टे खोज्ने र नष्ट गर्ने नीति नै पहिलो हो‚’ डा अधिकारीले भने।

यसका लागि स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको समेत उनले बताए।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरू ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीका अनुसार डेंगु नियन्त्रणका लागि संक्रमण तीव्र गतिमा फैलिरहेका स्थानीय तहमा स्थानीय सरकारले गर्नुपर्ने सामुदायिक कार्यक्रम नगर्दा पनि संक्रमण फैलिरहेको छ।

उनले भने‚ 'संक्रमण बढ्दै छ तर संक्रमण फैलिरहेका स्थानीय तहका सरकारले समुदायस्तरमा संक्रमण नियन्त्रणका लागि जे जति कार्यक्रम गर्नुपर्ने हो त्यो गरेको पाइएको छैन।'

लामखुट्टे मार्ने अभियानले मात्रै डेंगु नियन्त्रण हुन्छ त भन्ने प्रश्नमा डा अधिकारीले थाहाखबरसँग भने‚ ‘डेंगु फैलने कारण नै लामखुट्टेको टोकाइ भएकाले हाम्रो घरछेउमा रहेका लामखुट्टे उत्पत्ति हुने स्थानमा सरसफाइ गर्ने‚ भएका लामखुट्टे खोजेर नष्ट गर्न सकियो भने डेंगु नियन्त्रण गर्न सकिन्छ। अर्को कुरा यसको लागि हरेक स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले अहिले हामी खोज नष्ट गर्ने अभियानमा लागेका हौँ‚‘ डा अधिकारीले भने।

अहिले तीव्र गतिमा फैलिएको डेंगु संक्रमण अझ केही समय बढ्ने भएकाले सतर्क रहन चिकित्सकको सुझाव छ।

नेपालमा विसं २०६१ सालमा पहिलो पटक डेंगु संक्रमण पुष्टि भएको थियो भने सन् २०१९ मा प्रकोपकै रुपमा देखिएको थियो। त्यस वेला १७ हजार ९९२ जनामा डेंगु संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो।

तर अहिले डेढ महिनामा ७ जनाले डेंगुकै कारणले ज्यान गुमाइसकेका छन्।

डेंगुका बिरामी करिब १० हजार

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार हाल हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिसकेको छ। त्यसमध्ये १०  जिल्ला (ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन) मा डेंगु संक्रमितको संख्या धेरै छ।

इडिसिडीको पछिल्लो विवरणअनुसार गत साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ।

यसमध्ये सबैभन्दा धेरै ललितपुरमा ३ हजार ६२२, काठमाडौंमा २ हजार ४१४, मकवानपुरमा ६६३, रुपन्देहीमा ५७०, दाङमा ३५८, भक्तपुरमा १७६, धादिङमा १३७, तेह्रथुममा ११०, काभ्रेपलाञ्चोकमा १०५ र चितवनमा ९० जना बिरामी छन्। यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु देखिएको छ।

सिटामोलको उत्पादन बढाउने तयारीमा औषधि लिमिटेड

डेंगु संक्रमण बढ्दै जाँदा बजारमा सिटामोलको अभाव हुन थालेपछि नेपाल औषधि लिमिटेडले नियमितभन्दा बढी मात्रामा सिटामोलको उत्पादन बढाउने तयारी गरेको छ।

लिमिटेडका सूचना अधिकारी टीकाराम अर्यालले डेंगु बढ्दै गएपछि बजारमा सिटामोलको माग नियमित समयमा भन्दा बढी आउन थालेपछि उत्पादन बढाउन कच्चा पदार्थ आयात गर्न थालेको बताए।

उनका अनुसार हप्ता दिनभित्र कच्चा पदार्थ आइपुग्ने र त्यसपछि सिटामोलको उत्पादन बढाइनेछए। उनका अनुसार करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्न पुग्ने गरि कच्चा पदार्थ ल्याउन लागिएको छ।

अर्यालले भने‚ 'सामान्य अवस्थामा पनि हरेक महिना ५० लाख ट्याब्लेट् जति सिटामोल बजारमा जान्छ तर अहिले डेंगु ज्वरो बढेको भएर होला सिटामोलको माग नियमित समयमा भन्दा अलि बढी छ‚ जसले गर्दा हामीले उत्पादन बढाउन लागेका छौँ।'

नेपालमा वार्षिक १० करोड ट्याबलेट सिटामोलको माग रहेको अनुमान गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.