दैनिक ४३ करोड लिटर माग‚ आपूर्ति १५ करोड लिटर मात्रै

|

काठमाडौं : मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा नआएको तीन महिना बितेको छ। वर्षात् शुरु भएसँगै जेठ १७ गतेबाट उपत्यकामा ल्याउन बन्द गरिएको थियो। 

सरकारले गत वर्षजस्तै आयोजनामा क्षति नपुगोस् भनी पानी ल्याउन बन्द गरेसँगै यतिखेर उपत्यकामा पानीको समस्या निम्तिएको छ। शहरका बासिन्दा ट्यांकरको पानी किनेर उपयोग गर्न बाध्य छन्। अबको यो दशैँअघि मेलम्ची पानी आउँछ कि आउदैन भन्दै उनीहरू चिन्तित हुन थालेका छन्। 

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भने दशैँअघि मेलम्ची पानी उपत्यकाभित्र ल्याउन नसकिने बताए। उनले भने, ‘आयोजनाको हेडबक्स वरिपरि बाढीले क्षति पुगेको छ। अहिले त्यहाँ जाने बाटो पनि छैन, पानीको बहाव बढिरहेकै छ। त्यसैले दशैँअघि पानी ल्याउन सकिदैन।’

उनका अनुसार आयोजनाको सुरुङभित्र छिर्ने पानीको गेट बन्द गरिएको छ तर उक्त वरिपरि इन्द्रावती खोलाबाट आएको बाढीले त्यस ठाउँसम्म जाने बाटो अहिले अवरुद्ध छ। ‘गेट बन्द गरिएकाले सुरुङभित्र माटो छिरेको छैन होला भन्ने आशा छ,अहिले पनि पानी परिरहेको छ, गएर हेर्न सकिने अवस्था पनि छैन’‚ उनले भने।

आयोजना सुरु भएको दुई दशकपछि अर्थात् २०७८ चैत्र १५ गते काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण थालिएको थियो तर २ महिना पनि राम्रोसँग खान पाएनन् उपत्यकावासीले। ०७८ सालको गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति पुगेको ९ महिनापछि मर्मत गरी पुनः पानी ल्याएर पूर्ण क्षमताको दैनिक १७ करोड लिटर पानी वितरण गरियो। 

फेरि यो वर्षात्‌मा पानी बन्द गरियो। अब पुनः कहिले मेलम्ची पानी आउँछ भनी यकिन भन्न नसकिने आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी पन्तले भने, ‘अब कहिलेसम्म पानी ल्याउन सकिन्छ भनी अहिले भन्न सकिँदैन। पानी परिरहेको छ,अब मनसुन सकिएर खोलाको स्थिति अनुसार पानी आउला।’ 

दैनिक ४३ करोड माग तर १५ करोड लिटर मात्रै पूर्ति

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार उसका दुई लाख ३० हजार ग्राहक छन्। उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। अहिले मेलम्चीको पानी नआएपछि अहिले यहीको स्रोतबाट दैनिक १५ देखि १६ करोड लिटरमात्र पूर्ति भएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन्।

‘हिउँदका वेला चाहिँ धेरै नै पानीको हाहाकार हुन्छ,अहिले भने पानी परिरहेको छ। धेरै जनाले आकाशे पानी प्रयोग गर्ने हुँदा पहिला जस्तो धेरै पानी समस्याको गुनासो आएको छैन’, उनले भने। यहीका स्रोतहरूबाट उत्पादन भएको पानी मिलाएर पुगेसम्म उपत्यकावासीलाई वितरण गर्दै आएको उनले बताए।

के हुँदै छ यांग्री र लार्के आयोजना ?

मेलम्ची खानेपानीपछि सिन्धुपाल्चोककै यांग्री र लार्के खोलाबाट उपत्यकामा पानी ल्याउने सरकारको योजना छ। हालसम्म भनेजस्तो आयोजनाको काम अगाडि बढ्न सकेको छैन। आयोजनाका सूचना अधिकारी पन्तले आयोजनाको प्रवेश निर्माणको काम भइरहेको जानकारी दिए।

उनले भने, ‘अरू काम भने एशियाली विकास बैंक (एडीबी)ले अध्ययन गरिरहेको छ,प्रतिवेदन आएपछि थप काम बढाउने नबढाउने भन्न निर्णय हुन्छ।’ यांग्रीबाट दैनिक १७, लार्केबाट पनि १७ करोड गरी मेलम्चीसहित उपत्यकाभित्र कुल दैनिक ५१ करोड लिटर खानेपानी ल्याउने सरकारको योजना छ।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.