दीपक चोपरा उल्लेख गर्नुहुन्छ– व्यक्तिले वर्तमानको सोचबाट माथि उठ्न सके मात्र असीमित क्षमताको पहिचान गर्न सक्दछ।
त्यही असीमित क्षमताको पहिचान नै सफलताको राज हो। दीपक चोपराको भनाइबाट लाग्दछ कि कोही पनि व्यक्ति सफल छैन अर्थात् सफल तब बन्दछ जब उसले आफ्नो असीमित क्षमताको पहिचान गर्न सक्दछ।
हुन पनि हो आज प्रत्येक व्यक्तिको जीवनमा अपूर्णता छ त्यसैले त्यो पूरा गर्नको लागि आपाधापीमा दौडिरहेको छ। एकछिन फुर्सद छैन। कमाएको धन, पद, सम्मान र राजनीतिक उचाइले अझै पुगेको छैन अरू अरू पाउनु छ।
जसको जीवन आफैंमा अपूर्ण छ उसले अरूलाई के दिन सक्ला? त्यसैले त हो मानिसलाई एकले अर्कोलाई विश्वास गर्नै सक्दैन। खाली, खोक्रो, रित्तो व्यक्तिलाई कुन आधारमा विश्वास गर्नु?
ओशो भन्नुहुन्छ–व्यक्ति बाहिरबाट त पूर्ण हुँदै हुँदैन। पूर्णताको महसुस गर्न त उसले आफ्नो आन्तरिक सम्पदाको महसुस गर्न सक्नुपर्दछ। बाहिरको राजनीति र व्यापारले भित्रको सम्पदा किन्न सकिन्न। साम वाल्टन भन्नुहुन्छ–उत्कृष्ट नेताहरू भनेका ती हुन् जसले आफ्ना नागरिक र कार्यकर्ताको आत्मसम्मान बढाउन आफूले उनीहरूलाई बाटो छोडिदिन्छन्। यदि नेतृत्वहरू आफैँमा विश्वस्त छन् भने मात्र तिनले नागरिकमाथि विश्वास गर्न सक्दछन्।
वास्तवमा प्रत्येक व्यक्तिले आफू को हो, आफूले आफैँलाई कसरी मद्धत गर्न र खुसी राख्न सक्छु त्यो अनुभवमा उतार्न नसक्दासम्म उसले भन्ने समाजसेवा, राष्ट्रसेवा, राजनीतिक सेवा सबै अरूलाई विश्वस्त पार्न खोज्ने बाहाना मात्र हुन्। जो आफैँमा खुसी छैन, पूर्ण छैन उसले कहाँबाट के ल्याएर घर, परिवार, समाज र राष्ट्रमा योगदान दिन सक्ला त? वास्तवमै मननीय छ।
जोसँग जे छ त्यहीँ बाँड्न सक्छ, जसको जत्रो च्यादर छ त्यति नै फैलाउन सक्छ। तर माथि उल्लेखित देशनाले जुन अभिव्यक्ति दिन खोजिएको छ त्यो शब्दमा मात्र अवश्य होइन जीवनको आफ्नो अनुभूतिको आधारमा दिनुभएको छ। र, मनुष्यमा रहेको आन्तरिक सम्पदाको उजागर गर्न सचेतना पनि दिनुभएको छ।
प्रसंग, प्रदेशसभा र संघीय निर्वाचन फेरि नजिक आउँदै छ। नयाँ नेतृत्व चयन र तिनले समाजमा केही विकसित सोचका साथमा भौतिक विकास पनि गर्लान् कि भन्ने अपेक्षा हुनु स्वाभाविक पनि छ।
नेतृत्व नयाँ व्यक्ति पुरानै?
प्रत्येक पटकको निर्वाचनको उद्देश्य हो नयाँ नेतृत्वको चुनाव गरौँ र विकासका आयामलाई विगतमा भन्दा नयाँ तरिकाले अगाडि बढाऊँ। तर, हामीकहाँ दशकौंदेखि प्रत्येक राजनीतिक दलमा एउटा व्यक्तिले अर्कोलाई नेतृत्व हस्तान्तरण गर्नै चाहन्न।
अनि जनता र विशेषगरी राजनीतिक नेतृत्वका कार्यकर्ताहरूले अनेक तिकडम, साम,दाम, दण्ड,भेद सबै अपनाएर आफ्नै नेतृत्व पटक पटक दोहोरिनुपर्दछ भनेर खेल खेलिरहेका हुन्छन्। एउटा परिस्थितिमा आएर नागरिकले पनि आफ्नो स्व–मतको अधिकार प्रयोग गर्न छोडेर कसैको भनाइ र आडमा मत दिएर पुरानै नेतृत्वको चयन गर्दछन्।
अनि चाहिने नयाँ नेतृत्व, नयाँ आयामको विकास? जो पहिलेदेखि नै जति पाएपनि, जति खाएपनि, जति आफ्नालाई अवसर दिलाएपनि, गर्नेसम्म गरेर पनि अपूर्ण छ, फेरि राजनीतिकैमार्फत उसलाई अरू अरू चाहना छ।
अब कसरी अपेक्षा गर्न सकिन्छ उसले नयाँ विकास दिन्छ भनेर? विगतका प्रशस्त अनुभवले छर्लंग पारेको तथ्य हो। जसलाई आफैँमा डर छ मेरो सम्पत्ति, सम्मान, आफन्त सबै छुट्लान भन्ने उसले कुन मनस्थितिले शान्ति र प्रेमपूर्ण समाज निर्माण गर्न सक्ला? चाहना एकातिर रोजाइ अर्कोतिर भएपछि कसरी नयाँ चिज प्राप्त गर्न सकिन्छ?
नेतृत्व लिन खोज्ने व्यक्ति होउन् या निर्वाचित गराउने नागरिक सबैमा चेतनाको उच्चतम अनुभव र पहिचान नभएसम्म बाहिरी सोच र प्रचारप्रसारले आत्मसम्मानयुक्त विकासको फल भोग्न पाइने छैन।
सोचाइमा गरिवी, स्वार्थीपन, आफ्नो मात्र दुनो सोझ्याउने प्रवृति र पात्र स्वयम् परिवर्तित नभइन्जेल जतिनै निर्वाचन आए पनि, जतिपटक तिनै नेतृत्वलाई चुनेर सत्तामा पुर्याए पनि खोजेको विकास प्राप्त हुँदैन। कतिवटा निर्वाचनमा तिनै नेतृत्व चुन्दै पश्चाताप गर्दै जीवन बिताउने?
अब नेतृत्व लिने र नेतृत्व तहमा पुर्याउने दुवै पक्षले सोचाईको क्षमता प्रयोग गरेर उपयुक्त पात्रको चयन गर्न ढिलो भएको छैन र?
आत्मविकासपछि मात्र हुन्छ भौतिक विकास
ओशो भन्नुहुन्छ–आजसम्म मानिसले आफ्नो जीवनमा बाहिरी ज्ञानको मात्र उपयोग गरेको छ। आत्मज्ञान पनि उसमा छ तर त्यसमा फोहोर जमेको छ। ध्यान साधनाले सफा गरेर चेतना जागृत भएपछि मात्र उसले आत्मज्ञानको बोध गर्न सक्दछ।
जबसम्म आत्मज्ञान बोध हुँदैन तबसम्म उसले शरीर, मन, भावना र तिनकै सेरोफेरोमा प्राप्त हुने चाहनाबाहेक माथि उठ्न सकेको हुँदैन।
फेरि, यी चाहना एकपटक पाएर पूर्णता मिल्ने पनि होइन। पटकपटक जीवनभर यि भौतिक चाहनाले छोडदैनन्। अब यस्तो व्यक्तिले समाजमा कसरी सेवा गर्न सक्दछ? आत्मज्ञानरूपी दिव्यताको प्रकाशले अभिभूत हुन् नसक्दासम्म व्यक्ति बाहिरी अपेक्षाले तृप्त हुँदैन।
बाहिरको कोठामा जतिसुकै उज्यालो बत्ती बलेको होस् उसको भित्र लोभलालचको अन्धकारले घेरिरहेको हुन्छ। स्वार्थरूपी बन्धनले घेरिएको व्यक्तिले स्वतन्त्रता र निर्भयता कहिल्यै महसुस गर्न सक्दैन। स्वार्थीपनको परिणाम भौतिक आर्जन र सत्ता प्राप्त गर्ला तर स्व–सत्ता, निर्भयता, निश्चलता, स्वतन्त्रता र शान्तिको अनुभूतिमा सधैं बाँच आत्मविकासविना सम्भव छैन।
भौतिक आर्जनको लागि जति कठिन परिश्रम आवश्यक पर्छ त्यो भन्दा सहज र सरल छ आत्मज्ञानमा जिउनु। तर, व्यक्ति पूर्णतः आफैंमा विश्वस्त छैन कि म मा पनि आत्मज्ञान छ? म मा पनि बेसर्त प्रेम छ? म मा पनि आन्तरिक शान्ति र आनन्दको अनुभूति गर्ने कला छ? जबसम्म आफ्नो असिमित क्षमता र प्रेमको सम्पदा महसुस गर्न सक्दैन तबसम्म उसको लोभलालच र स्वार्थीपनबाट मुक्त हुन सक्दैन।
व्यक्तिको यहि अपूर्णताको जडपन र अहंकार नै प्रमुख समस्या अनि बाधक हो घर चलाउन होस् या समाज विकासमा। जसको जीवनमा अन्तस्करणको सात्विक आचरण र प्रेम फलित भएको छैन उसले बाहिरको भौतिक संरचना बदल्छु मात्र भनेर आन्तरिक रूपान्तरणको महसुस दिलाउन सक्दैन र आफैँ पनि त्यसको स्वपान गर्न सक्दैन।
बाधा, अड्चन, धोका, द्वेष सबै बाहिरका गुण र अभ्यास हुन्। जुन दिन व्यक्ति आफ्नो अन्तस्करणमा स्थित हुन सक्दछ त्यो दिन ऊ बाहिरका सबै रिपुहरूबाट मुक्त हुन सक्दछ।
सत्यताले पूर्ण कुशल नेतृत्वको खाँचो
नेतृत्व परिवर्तन भए देश परिवर्तन हुन्छ भन्ने असम्भव प्रयास दोहोर्याई रहेका छौँ हामीले। राजनीतिक व्यक्तित्वलाई सुधार्न खोजिरहेका छौँ हामीले। महात्मा गान्धीको एउटा सुन्दर भनाइ बार–बार याद गर्न लायक छ– संसार सुध्रिएको जस्तो भए देख्न चाहन्छौ भने त्यो सुरूवात आफैँबाट गर।
व्यक्तिले आफूलाई बाहेक अरू कसैलाई परिवर्तन गर्न सक्दैन तर पनि हामी देख्छौँ कि सारा व्यक्तिहरू अरूलाई नै परिवर्तन गराउनमा जीवन व्यथित गरिरहेका छन्। राजनीतिज्ञ होऊन् या जो पनि ऊ आफैँ परिवर्तन हुनुपर्दछ। हामीले कसलाई रोज्ने रोजाइ हाम्रो हुनुपर्दछ।
हामीले रोजेपछि ऊ परिवर्तन होला यो पनि राजनीति नै हो र राजनीति आफैँमा अरूलाई बदल्ने प्रयासको व्यावहारिक रूप हो। राजनीतिको मर्म नै अरूमा दोष देख्नु र उसलाई बदल्ने प्रयास गर्नुमा छ। त्यसैकारणले त राजनीति कहिल्यै पनि जीवन विकासको उचित मार्ग हुन सक्दैन।
धर्म र साधना आत्मरुपान्तरणको विज्ञान हो भने राजनीति अरुलाई वदल्ने दुष्प्रयासको एउटा नाम। अरुलाई परिवर्तन गर्ने कोशिस भनेकै अरूप्रतिको इर्ष्या, अरुमा दोष देख्ने बानी, अरूमाथि विजय हासिल गर्ने खेलको सुरुवात हुनु हो। शोषण, दमन, कलह, वैमनस्य एवं अहंकारका सारा खेलहरु अरुलाई सुधार्ने प्रयासका नतिजाहरु हुन्।
यही सत्यलाई बुझ्ने र हृदयंगम गर्ने हो भने राष्ट्रमा पनि जीवनमा पनि शान्ति एवं आनन्दको विकास हुनसक्छ। जब आफ्नो जीवन सत्यमा आधारित हुन थाल्छ र आफूलाई सत्यको जीवित प्रतिमूर्ति बनाउन सक्दछ उसकै जीवन सत्यले भरिएको हुन्छ।
उसकै व्यक्तित्वमा सौन्दर्यता उत्रिन थाल्दछ अनि एक कुशल व्यक्तित्वकोरूपमा नेतृत्व सम्हाल्न सक्ने हुन्छ। कर्म कुशलता, इमान्दारिता र संयमताको आचरण नै कुशल व्यक्तिका गुणवत्ता हुन्। यी गुणवत्तालाई जसले आफ्नो जीवनमा लागू गर्न सकेको छ त्यहि व्यक्तिलाई नेतृत्व चुन्ने हो कि?
तपाईंको ईमेल गोप्य राखिनेछ ।