लोसपा र राप्रपासँग एमाले गठबन्धन निश्चित

|

काठमाडौं : सत्ता गठबन्धनका सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको वेलामा प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन बनाउनतिर जुटेको छ।

सत्ता गठबन्धनलाई टक्कर दिन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेशकेन्द्रित दल (लोसपा), राप्रपा नेपाल लगायतका साना दलहरूसँग गठबन्धनको गृहकार्य थालेको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुरसँग निरन्तर संवाद गरिरहेका छन्। दुवै दलको तर्फबाट कम्तिमा २०/२० सिट हाराहारीको प्रस्ताव आएपछि एमालेले आन्तरिक छलफल पनि गरिरहेको छ। 

लोसपासँग तालमेल गरेर एमालेले मधेशमा आफ्नो पकड जमाउने रणनीति बनाएको छ भने सत्ता गठबन्धन नै लागेको वेलामा ओलीलाई जित्न राप्रपासँग तालमेल गर्न ओलीलाई बाध्यता छ। 

०७४ को चुनावमा माओवादीसँग गठबन्धन हुँदासमेत ओलीले आफूलाई सुरक्षित गर्न राप्रपासँग तालमेल गरेका थिए। झापा ३ मा लिङ्देनलाई छाडेर झापा ५ मा आफूले सहयोग लिएका थिए।

०७४ को चुनावमा वाम गठबन्धनबाट ओली ५७ हजार १ सय ३९ मत ल्याएका थिए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत मात्रै ल्याएका थिए।

वाम गठबन्धन हुँदा ओलीले राप्रपाको साथमा २८ हजार ८ सय ४२ को फराकिलो मतान्तरले जितेका थिए। अहिले पनि ओलीलाई जित सुनिश्चित गर्न राप्रपासँगको तालमेल आवश्यक छ। 

राप्रपा र लोसपासँग चुनावी तालमेलको विषयमा छलफल भइरहे पनि निर्णय भइनसकेको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन्। 

उनी भन्छन्, ‘उहाँहरूसँग सकारात्मक रुपमा तालमेलको कुरा अगाडि बढिसकेको छ। केही कुरा निष्कर्षमा पुग्न बाँकी छ। अब पार्टी र द्विपक्षीय छलफलपछि निर्णय होला।’

उनले देशभक्तिपूर्ण आन्दोलनको मुद्दा मिल्नेहरूसँग चुनावी तालमेलको ढोका खुलै राखेको समेत बताए। 

एमालेसँग राप्रपा र लोसपाको गठबन्धन

एमालेसँग तालमेल गर्ने विषय निश्चित भइसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘उहाँहरूसँग हामीले विभिन्न कोणबाट छलफल गरिरहेको छौँ। तालमेल गर्ने भन्ने विषयमा दुवै पक्ष सहमति छ। अब केही दिनपछि छलफल गरेर टुंग्याउने तयारी छ।’

उनले सिट संख्याको बारेमा आन्तरिक छलफल भए पनि प्रस्ताव गरिनसकेको बताए। 

‘हामीले देशव्यापी रुपमा तालमेल गर्नुपर्छ भनेका छौँ। उहाँहरूले त्यही अनुसारको सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छौँ। सिटको बारेमा दुवै पक्षसँगको वार्तामा टुंगिन्छ‚’ उनले भने, ‘हाम्रो पार्टीमा पछिल्लो समय बढेको जनआकर्षणलाई उहाँहरूले बुझ्नुपर्छ।’

यस्तै, गठबन्धनसँगको तालमेलको सम्भावना नभएपछि एमालेसँग सुनिश्चित गरेको लोसपा नेता लक्ष्मणलाल कर्ण बताउँछन्।

उनी भन्छन्, ‘हामीले सत्ता  गठबन्धनसँग पनि कुराकानी गरेका थियौँ तर त्यहाँबाट सकारात्मक जवाफ नआएपछि एमालेसँग तालमेल गर्ने निश्चित गरेका छौँ।’

अहिले कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्नेबारे छलफल भइरहेको बताए। कति सिटमा सहमति जनाउने भन्ने विषयमा अहिलेसम्म एकिन भइनसकेको उनको भनाइ छ। 

उनले भने, ‘तालमेल गर्ने सहमति बनेको हो। थप कुरा भएको छैन। हामीले कुन क्षेत्रमा कसरी सहकार्य गर्ने भन्ने छलफल गरिरहेका छौँ। सिटका विषयमा हामीले क्षेत्रगत रुपमा अध्ययन गरिरहेका छौँ। त्यसो सकिएपछि निष्कर्ष निस्कन्छ।’

उनले चुनावमा गठबन्धन हुनु स्वाभाविक भएको बताए। ‘हामी छलफलको क्रममा छौँ। निर्वाचनमा को कहाँबाट लड्छ। कोसँग तालमेल गर्छ भन्ने कुरा त सबै दलमा भइहाल्छ। सत्ता गठबन्धन पनि त्यहीअनुसार अघि बढ्ने प्रयासमा छ‚’ उनले भनाइ छ। 

ओलीको दोहोरो कुरा 

तर राप्रपा, लोसपा र राप्रपा नेपालसहित गठबन्धनका लागि छलफल जारी रहेको वेलामा शुक्रबार जनकपुर पुगेका ओलीले आफूहरू कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने दाबी गरे। आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने उनले बताए। 

‘पाँचदलीय गठबन्धनले एमालेलाई कुनै फरक पार्दैन। एमालेप्रति जनताको आकर्षण बढ्दै गएको छ। हामी एक्लै बहुमत ल्याउछौँ‚’ उनको दाबी थियो। 

उनले माधव नेपालको पार्टीले आगामी चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरे भने माओवादी केन्द्रले यस पटकलाई जेनतेन थ्रेस होल्ड पार गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउने टिप्पणी गरे। 

गठबन्धनमा उस्तै दुःख

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाको पाँचदलीय गठबन्धन सिट बाँडफाँटमा लागेका छन्। तर सहमतिको मिलन बिन्दु भेट्न सकेको छैन। 

गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाएपछि पनि शीर्ष तहका नेताहरू निरन्तर गृहकार्यमा जुटेका छन् तर हालमा लाग्यो शून्यकै अवस्था छ। दलहरू आआफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण भागबण्डा मिल्न सकेको छैन। १६५ निर्वाचन क्षेत्रमा अझै २०० भन्दा धेरै सिटको दाबी कायमै छ। 

आधाजसो ठाउँको सिट बाँडफाँटमा सहमति बनेपछि कुनै क्षेत्रमा दुईदेखि तीन दलसम्मको दाबी कायमै छ। दलहरूको अडानकै कारणले सहजै गठबन्धनमा कस्सिएको गाँठो फुक्ने अवस्था देखिएको छैन। 

सिट बाँडफाँड सम्मानजनक ढंगले नभएर गठबन्धनबाटै बाहिरिने चेतावनी जसपा नेता रामसहाय यादव बताउँछन्। 

उनी भन्छन्, ‘हामी गठबन्धन टुटाउने पक्षमा छैनौँ। सिट बाँडफाँटको विषयलाई हामी जसरी भए पनि मिलाएर अघि बढ्ने प्रयासमा छौँ। गठबन्धन जोगाउन सबै दल सचेत छन्। तर हामीलाई सिट सम्मानजनक हुनुपर्छ भनिरहेका छौँ। 

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनको नेतृत्व गरिरहेका कांग्रेस र माओवादी केन्द्रले भूमिका खेल्नुपर्ने उनको बुझाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.