टिकट सुनिश्चित गर्न शीर्ष नेताका घरदैलोमा, दलहरू चरित्रहीन

|

काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा जुटेका छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फ २ र ३ असोजमा बन्दसूची पेश गर्ने कार्यतालिका भएकाले दलहरू उम्मेदवार छान्नमा व्यस्त भएका हुन्। 

प्रत्यक्षतर्फ २३ देखि २६ असोजसम्म उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको कार्यतालिका रहेको छ। तर प्रत्यक्षतर्फ दलहरू गठबन्धन गरेर चुनाव लड्ने तयारीमा छन्। प्रतिनिधिसभाका १६५ र सातै प्रदेशसभाका गरी ३३० सिटमा कुन दलले कहाँबाट लड्ने भन्ने टुंगो लागेको छैन। 

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमाले गठबन्धन अहिले दलहरूसँग तालमेलको खाका बनाउन व्यस्त छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँट नै टुंग्याउन हम्मेहम्मे परिरहेको बेलामा दलभित्र नेताहरूको आकांक्षाले अर्को समस्या थपिएको छ।  

दलहरूले हरेक निर्वाचनमा उम्मेदवार छान्न मापदण्ड बनाउने गरे पनि टिकट वितरणमा नेताहरूको आर्शिवादबाटै हुने गरेको टिप्पणी हुने गरेका छन्। शीर्ष तहबाट टिकट पाउनेहरू व्यापारीदेखि गुण्डागर्दी छवि बनाएका नेताहरू नै अग्र स्थानमा पर्ने गरेका छन्। 

शीर्ष नेताको निवासमा भीड 

दलहरूमा उम्मेदवारको टुंगो लगाउने तयारी हुँदै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला निवासमा नेताहरूको भीड नै लाग्ने गरेको छ। 

सभापति देउवाले आफूहरूलाई टिकट वितरणमा पेल्नसक्ने भयले शेखर पक्षले दबाब बढाइरहेको छ। उनीहरू गठबन्धन गर्दा कांग्रेसले कम सिट पाउने भएकाले नेता व्यवस्थापन गर्नमा टाउको दुखाइको विषय बनेको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार, वरिष्ठ उपाध्यक्ष नारायणकाजी निवास, उपमहासचिव द्वय जनार्दन शर्मा र वर्षमान पुन निकट नेताहरू पनि टिकटका लागि नेताको घर चहारिरहेका छन्। 

नेताहरू व्यवस्थापनमा समस्या परेपछि प्रचण्डले निर्वाचन प्रणालीप्रति नै खनिने गरेका छन्। उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरशाह पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको बताउँदै आइरहेका छन्। 

उनले पार्टीभित्र टिकट वितरणमा मुस्किल पर्ने देखेर गत मंगलबार सुदुरपश्चिम पुगेर खल्तीबाट सिफारिश भएको उम्मेदवार मान्ने नहुने बताएका थिए। 

‘पार्टीबाट नाम सिफारिश गर्दा कसैले पनि आफ्नो खल्तीबाट सिफारिश गरेको भए त्यो सिफारिश पार्टीलाई मान्य हुँदैन। पार्टीले संस्थागत रूपमा नै सिफारिश गर्नुपर्छ‚’ प्रचण्डको भनाइ थियो।

माधवको त्यो अभिव्यक्ति 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पनि पार्टीमा टिकट वितरणमा उस्तै टाउको दुखाइको विषय बनेको छ। एमालेबाट विद्रोह गरेर बनाएको नयाँ पार्टीमा नेतालाई एमालेमा फर्कनबाट रोक्ने अर्को चुनौती बनेको छ। 

पार्टीबाट टिकट नपाउनेहरू फेरि एमालेमै फर्कने डरले अध्यक्ष नेपाललाई गाँजेको छ। उनले पार्टीभित्र टिकट वितरणमा समस्या परिरहेको सार्वजनिक रूपमै अभिव्यक्त गरिसकेका छन्। 

उनले बुधबार पार्टीको एक कार्यक्रममा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताए। 

‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने को कता फेन्ट हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने हो भने आकासिएको छ। सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैन? त्यो छुट्याउने आधार हामीले बनाउन सकिरहेका छैनौं‚’ उनको भनाइ थियो। 

उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको गुनासो गरे। ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस हुने हो कि भन्ने आफूलाई लागेको बताए। 

‘नगरे पनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्। उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरू केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?‚’ अध्यक्ष नेपालको भनाइ छ। 

एमालेमा पनि कठिन 

आगामी निर्वाचन मधेशकेन्द्रित दल लोसपा र राप्रपा, राप्रपा नेपालसँग चुनावी तालमेलको गृहकार्य थालेको एमालेमा पनि टिकट पाउन नेताहरूलाई मुस्किल छ। 
सत्ता  गठबन्धनका नेताहरूको तुलनामा एमालेलाई टिकट वितरणमा केही सहज छ तर सबै नेतामा यही लागू हुँदैन। 

एमाले विभाजनको क्रममा १० बुँदे सहमतिपछि भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायत नेताहरू एमालेमै बसेको थिए। तर ती सबै नेताहरूलाई नै टिकटको पाउन सहज छैन।

टिकटका लागि अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत टिकट वितरणमा पहुँच राख्ने नेताको निवासमा जिल्ला जिल्लाबाट नेताहरू आइरहेका छन्। 

यस्तै, सत्ताको वरिपरि रमेका ठूला दलमा मात्रै नभएर साना दलहरूमा पनि टिकट वितरण चुनौतीपूर्ण छ। जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपालगायत दलहरूमा टिकट वितरणमा समस्या हुने देखिएको छ। 

विशेषतः मधेशकेन्द्रित दलहरूमा नेताहरू अदलबदल हुने प्रवृत्ति धेरै भएकाले पनि चुनावको मुखमा नेता जोगाउनै शीर्ष तहमा हम्मेहम्मे पर्ने देखिएको छ। 

नामको मात्रै मापदण्ड

दलको चुनावी मापदण्डलाई नामको मात्रै भइरहेको आम राजनीतिक वृत्तमा चर्चा छ। तर माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल त्यो कुरामा सहमत छैनन्। 

उनी भन्छन्, ‘हामीले मापदण्ड बनाएर तल्लो तहमा पठाएका थियौँ। त्यही मापदण्डअनुसार आज साँझसम्ममा हाम्रो उम्मेदवारको सूची आउँछ। त्यसलाई अध्ययन गरेर उपयुक्त व्यक्तिले टिकट पाउँछ।’

उनले तल्लो तहबाटै क्लस्टरअनुसार उम्मेदवारको सिफारिश भएको आउने बताए। उनले एकपटक समानुपातिक सांसद बनेकाहरूलाई फेरि नदोहोर्‍याउने निर्णय गरिसकेको बताए। 

‘पछिल्लो तीन निर्वाचनमा समानुपातिकबाट गएकालाई हामीले यसपटक दोहोर्‍याउँदैनौँ। उहाँहरूले प्रत्यक्षमा उठ्न चाहेमा मापदण्डअनुसार उपयुक्त भएमा लड्न पाउनुहुन्छ‚’ उनले थपे।

तर टिकटका लागि नेताहरूको घरघर धाउने गरेको पाइन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यो त परम्परागत प्रवृत्ति भइहाल्यो। भेट्न आउँछु भनेपछि हुन्न भन्न मिलेन। तर हामी टिकट वितरण गर्दा मापदण्ड नै केन्द्रित हुन्छौँ।’

यस्तै, आफूहरूले पार्टीबाट सर्कुलर गरेको मापदण्डकै आधारमा उम्मेदवार चयन हुने एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्। 

उनी भन्छन्, ‘मापदण्डका आधारमा तल्लो तहबाट क्लस्टर नै छुट्याएर उम्मेदवार सिफारिश भइरहेका छन्। त्यो केन्द्रमा आइसकेपछि अध्ययन गरेर निर्णय हुन्छ।’

शीर्ष तहबाट मापदण्ड, योग्यता, योगदान, लोकप्रियता लगायतको विषयलाई मद्देनजर गरेर टिकट वितरण हुने उनको भनाइ छ। पार्टीमा शीर्ष तहबाट आफ्नो व्यक्ति भनेर कोही सिफारिश नहुने चेतावनी दिएका थिए। 

‘दलहरू चरित्रहीन भए’

राजनीति दलहरूले राजनीतिक चरित्र गुमाएपछि अहिले टिकट वितरणमा दलहरूको मनलाग्दी हुन थालेको राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन्। 

उनी भन्छन्, ‘लोकतन्त्रको कुरा गर्ने कांग्रेसले चरित्र गुमाइसकेको छ। अहिले त्यो नारामा मात्रै सीमित रह्यो। कम्युनिष्टहरूले आफूहरूलाई समाजवादी भन्थे अहिले त्यो चरित्र रहेन। विकास र अर्थतन्त्रमा सामान्य मान्छेको कुरा गर्थे त्यो बाँकी रहेन।’

पार्टीहरूको चरित्र फेरिएपछि स्वाभाविक रूपमा दलहरूमा अराजनीतिक प्रवृत्ति मौलाएको उनको भनाइ छ। 

उनी भन्छन्, ‘अहिले जोसँग पैसा र शक्ति छ त्यहीमा नेताहरूको नजिक हुन थाले। उही जितेर आउन थाल्यो।’ 

पुरानो खालको मूल्य र मान्यता राखेर राजनीति गर्नेहरू नै नरहेको बताए। 

‘०४६ लडाइँ लडेकाहरू ९० प्रतिशत मान्छेहरू अहिले राजनीतिमा छैनन्। ६२/६३ मा आन्दोलन गर्नेहरू ७० पछि राजनीतिमा छैनन्। अहिले अराजनीतिक र पैसा कमाउनेहरू जम्मा भए। त्यसैले राजनीतिक चरित्र हरायो‚’ उनले भने, ‘त्यसविरूद्ध कहिले कुनै अवस्थामा कसले आन्दोलन गर्छ भन्नेमा छ। अहिले राजनीतिलाई व्यापारको रूपमा लिन थालियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.