|

सन् १९३० डिसेम्बर ३ मा फ्रान्सको पेरिसमा जन्मेका जिन लुक गाेदार्दको गत सेप्टेम्बर १३ मा ९१ वर्षको उमेरमा निधन भयो। समीक्षक हुँदै फिल्म लेखन तथा निर्देशनमा प्रवेश गरेका गाेदार्दलाई फ्रान्सका मात्र नभएर विश्व सिनेमाकै महान् हस्तीको रूपमा चिनिन्छ।

उनले कथन शैली, पार्श्वध्वनि तथा क्यामेरामा गरेका प्रयोगले विश्व सिनेमालाई नयाँ युगतिर दिशानिर्देश गरेको मानिन्छ।

एउटा प्रतिष्ठित परिवारमा जन्मेका गाेदार्दको सुरुवाती बाल्यकाल पेरिसमै बित्यो। दोस्रो विश्वयुद्धताका परिवारसँग स्वीट्जरल्याण्ड गएका उनी फर्केपछि पेरिसमै आए। बीचमा उनका बुबाआमाको सम्बन्धविच्छेद भयो। बाल्यकालमै विश्वयुद्ध र परिवारभित्रको लडाइँ देखेका उनी सन् १९५० देखि फिल्म क्षेत्रसँग नजिक भए।

समीक्षकको रूपमा परिचय बनाएका गाेदार्दले सन् १९६० मा ब्रथलेस मार्फत एउटा फिल्म लेखक तथा निर्देशकको रूपमा ‘डेब्यू’ गरे। ब्रेथलेसले फ्रान्सेली सिनेमामा नयाँ तरङ्ग मात्र ल्याएन महत्त्वपूर्ण भूमिकासहित सिंगो विश्वलाई फ्रान्सेली सिनेमाप्रति आकर्षित गर्‍यो, एउटा प्रभावशाली फिल्म निर्देशकको रूपमा ​गाेदार्द उदाए, फिल्मका मुख्य कलाकार जिन सेवर्ग र जिन पल बेलमोन्डोको करिअरमा कोसेढुंगा साबित भयो।​

ब्रेथलेसलाई विश्वका उत्कृष्ट फिल्ममध्ये गनिन्छ। ६ दशकपछि पनि फिल्म क्षेत्रमा प्रवेश गर्न चाहने, फिल्म बुझ्न चाहनेहरूले अध्ययनका लागि महत्त्वपूर्ण सामग्रीको रूपमा यो फिल्मलाई लिने गर्छन्। यसको कथावाचन शैली, दृश्यभाषा र सम्पादनले विश्व सिनेमामा तरंग ल्याएको थियो, जसले गर्दा उनलाई फिल्म ‘मेकिङ’को नयाँ व्याकरण सिर्जना गरेको जस पनि दिइन्छ।​

हाते क्यामेराबाट खिचिएको उक्त फिल्मले ठूला बजेटमा, ठूलो दल र स्टोरी बोर्डिङसहित छायाङ्कनमा जाने फिल्महरूले बनाएको मानकलाई पनि भत्काएको थियो। ब्रेथलेसको बजेट, यसको निर्माण शैली आज विश्वका धेरै कलेजहरूमा पढाइ हुन्छ।​

गोदार्द फिल्म निर्देशकभन्दा पहिले एउटा सिनेमा प्रेमी थिए। ब्रेथलेस बन्नुभन्दा अगाडिदेखि नै उनी र उनका समकालीन फिल्मकर्मीहरू समयसमयमा भेला भएर एउटै फिल्म धेरै पटक हेर्ने गर्थे। उनको फिल्मप्रतिको ज्ञान तथा विज्ञताको स्रोत उनी आफ्नो सिनेमाप्रतिको प्रेमलाई बताउँथे।​

ब्रेथलेस मात्र होइन त्यसपछि बनाएका फिल्मले पनि उस्तै चर्चा र विश्व सिनेमामा स्थान पाए। क्राइम ड्रामा जनरामा बनेको ब्रेथलेसपछि ६० को दशकमा मात्रै लामोछोटो गरेर उनका एक दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आए।

१९६१ को रोमान्टिक म्युजिकल कमेडी फिल्म अ वुमन इज अ वुमनदेखि १९६५ को साइन्स फिक्सन अल्फाविली, १९६७ को ब्ल्याक कमेडी विक इन्ड, फ्रान्स सरकारले ब्याण्ड गरेको १९६८ को जोए अफ लर्निङ उनका सुरुवाती चरणका प्रसिद्ध फिल्म हुन्।

यी बाहेक उनका लेटर टु जेन, हेइल म्यारी, न्यु वेब, फर एभर मोजार्ट, इन प्रेज अफ लभ लगायतका थुप्रै फिल्म विश्व सिनेमामै उत्कृष्ट फिल्म मध्येमा गनिन्छ। झण्डै सात दशक यस क्षेत्रमा बिताएका उनले  झण्डै चार दर्जन फिल्म निर्देशन गरे।

फिल्ममा प्रविधिसँगै कथा वाचन शैली र छायाङ्कनमा प्रयोग गरिराख्न मन पराउने गोदार्दको सन २०१४ मा गुडबाई टु ल्याङ्ग्वेज नामक फिल्म प्रदर्शनमा आयो। जुन उनको पहिलो थ्रीडी फिल्म थियो। त्यतिबेला पनि सामान्य हाते क्यामेराले छायाङ्कन गरिएको उक्त फिल्मले थ्रीडी फिल्मको लागि बनेका मानक तोडेको थियो।

सन् २०१४ को कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको उक्त फिल्मलाई धेरैले आफ्नो जीवनमा हेरेकामध्ये सबैभन्दा उत्कृष्ट थ्रीडी फिल्म बताएका थिए।​

गोदार्दको अन्तिम फिल्म को द इमेज बुक हो। उनको कलाकारविना पनि कुनै कथा भन्न सकिन्छ होला ? भन्ने प्रश्न उत्तर अन्तिम फिल्ममा खोजेका थिए। कुनै कलाकारविनै निर्माण गरिएको उक्त फिल्म सन् २०१८ को कान्स फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।

जतिबेला उनी ८७ वर्षका थिए। गोदार्दको निधनलाई विश्वभरका फिल्मकर्मीले अपूरणीय क्षतिको रूपमा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.