२० लाख मान्छेलाई सहजै ओहोरदोहोर गराउँछौँ
२० लाख मान्छेलाई सहजै ओहोरदोहोर गराउँछौँ
काठमाडौं : नेपालीको महान पर्व बडादशैं र तिहार नजिकिएसँगै रोजगारी र पढाइका लागि राजधानी काठमाडौँ आएकाहरू घर फर्कने क्रम आजबाट सुरु भएको छ।
मानिसहरू घटस्थापनाको हप्ता १० दिन अघिदेखि नै पुर्ख्यौली घर जान थालेका हुन्। दसैँ तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यातायात व्यवसायीले पनि आजैदेखि अग्रिम टिकट बुकिङ सुरु गरेका छन्।
यसपटक टिकटदेखि जानेसम्मको व्यवस्थापन कसरी भइरहेको छ? चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न, व्यवस्थित ढङ्गले यात्रुलाई घरसम्म पुर्याउने योजना के छन्? लगायतका विषयमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरसँग गरेको कुराकानीको सम्पादित अंश :
यसपटकको दशैँतिहारमा यात्रुलाई सुरक्षित घर पुर्याउने योजना के छन्?
चाडबाड आउँदा के-के गर्ने भनेर पुरानै सिस्टम छ। भौतिक मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी लगायतका सरोकारवाला मिलेर एउटा नम्स बनाएका छौँ।
हामी त्यसैअनुसार विगतदेखि नै काम गरिरहेका छौँ। तर चाड पर्वमा एकैपटक अस्वाभाविक संख्या काठमाडौँबाट बाहिरिने भएकाले त्यसलाई व्यवस्थापन गर्नका लागि हामी विगतका वर्षहरूजस्तै यस वर्ष पनि तयारीमा जुटेका छौँ।
गत दुई वर्ष त कोरोना महामारीका कारण अग्रिम टिकट खोल्नुपरेको थिएन। यस वर्ष चाहिँ हामीले करिब २० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरेका छौँ। यी सबै यात्रुलाई घर पुग्न सहज होस् भनेर अनलाइन टिकट काट्न सकिने गरी टिकट बुकिङ खोलिसकेका छौँ।
यसबाहेक अरू के-के तयारी गरिरहनुभएको छ?
विभिन्न पूर्वाधारहरूको तयारी गर्ने काम अहिले भइरहेको छ। सडक मर्मत गर्ने काम महत्वपूर्ण हो। नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो जाने सम्भावना रहेको र वर्षात अझै नसकिएकाले स्टान्टबाई डोजरहरु राख्ने, नागढुङ्गादेखि नौबिसेसम्मको बाटोमा सवारी साधन बिग्रने समस्या देखिने गरेकाले ट्रेनको व्यवस्था गर्नेसम्मका कामको तयारी गरिरहेका छौँ।
त्यसैगरी डिमान्डअनुसारको सप्लाई गर्ने योजना जस्तै आवश्यकताअनुसार गाडी उपलब्ध गराउँदै जाने योजना बनाएका छौँ। त्यसैगरी नागरिकको सुरक्षालाई लिएर रिसर्च सेन्टरहरु राख्ने, मापसे जाँचलाई कडाई पार्नेलगायतका काममा फोकस भएका छौँ।
त्यसैगरी कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने, अन्य स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा यात्रुलाई खाना-खाजा खुवाउने स्थानमासमेत भिडभाड नहुने व्यवस्था गर्न सहजीकरण गरिरहेका छौँ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरिसकेकाले यसले पनि थप सहज हुने विश्वास लिएका छौँ।
चोरी लुटपाटका घटना हुन्छन्, मनलाग्दी भाडा असुल गर्ने, कतिले घर जाने सवारीसाधन नै पाउँदैनन्, छतमा यात्रु राखेर लैजाने, यी र यस्ता समस्या समाधानका लागि के छ योजना?
बढी भाडा लियो भन्ने विगतको कुरा हो। अहिले स्वचालित भाडा निर्धारण हुने भएकाले निर्धारित भाडाभन्दा बढी लिन पाउने अवस्था अहिले छैन। छतमा बसालेर लैजाने भन्ने २–४ वर्ष अगाडीको कुरा हो। त्यो अहिले बन्देज नै छ। कहीँ कतै होला तर लङ रुटमा त्यस्तो छैन। ट्राफिक प्रहरीले कडाइका साथ त्यसो हुन दिएको छैन।
अर्को कुरा सवारी नपाएर घर जान नपाएको अहिलेसम्म मैले सुनेको छैन। अर्को अहिले बिचौलियाहरुले टिकट काट्ने, ठग्ने/ठगिने सिस्टम छैन तर सचेत चाहीँ हुनुपर्छ। सम्बन्धीत ठाउँमा पुगेर सम्बन्धीत व्यक्तिबाट मात्र टिकट काट्नुपर्छ।
अनलाइन पनि भएकाले अहिले ९९ प्रतिशत त्यो समस्या समाधान भएको छ। बरु रात्रीबसमा जानेहरुले भोजन राम्रो भएन भन्ने गुनासो आइरहेको छ। यो समस्या समाधानका लागि स्थानीय तहका सरकारहरुलाई अनुगमनको जिम्मेवारी दिनुपर्छ/लिनुपर्छ। चालक थकित हुँदा पनि दुर्घटना हुने भएकाले २ जना चालक हुनेमा हामीले कडाइ गरेका छौँ।
दुर्घटनाको सबैभन्दा ठूलो कारण भनेको बाटोको नाजुक अवस्था हो। ठेकेदारलाई ताकेता गरेर सरकारले सडकका खाल्डाखुल्डी मात्र पुर्दिएको भए यात्रुलाई सहज हुन्थ्यो।
सडककै कारण सवारी समयमै नपुग्नेलगायतका समस्या हुने भएकाले हामी सेवा दिन सक्दैनौ कि भन्ने हामीलाई पनि लागिरहेको छ। त्यसकारण मध्यवर्गीयहरु बरु २–४ हजार थपेर जहाज चढ्न थालेका छन्।
चाडपर्वको बेला भाडा महँगो पर्छ भन्ने गुनासो सुनिन्छ नि?
अरू बेला दुईतर्फी नै यात्रु हुने भएकाले १५ सय भाडा लाग्ने ठाउँमा यात्रु नपुगेका बेला एक हजारमा पनि लिइदिने चलन छ। चाडपर्वमा यताबाट जाँदा मात्र यात्रु हुने र फर्कंदा नहुने भएकाले पूरै भाडा तिर्नुपर्दा त्यसो भनिएको होला।
योपटक कति बस थपिन्छ?
हामी बल्लबल्ल कोभिडबाट तंग्रिएको अवस्था भएकाले यातायात क्षेत्र बामे सर्ने अवस्थामा भएकाले त्यति धेरै सवारी थप्न सक्ने अवस्था छैन। बढीमा एक डेढ सयभन्दा बढी थप्न सक्ने अवस्था छैन।
अनलाइनमा टिकट काट्दा एउटा सवारी चढ्दाखेरि अर्को हुन्छ नि किन हो?
सवारी जाम र विभिन्न कारणले समयमै आइनपुग्ने हुनसक्छ। क्यु फ्री पनि हुन्छ। त्यस्तोबेला भनेकै गाडी नपाइन सक्छ। यो खासगरी दशैँतिहारमा मात्र हुन्छ।
हरेक वर्ष दशैँ आउँदा यातायात व्यवसायी आन्दोलनमा किन?
पहिला सरकारले सवारी साधन पानीबाट चल्दैन भन्ने बुझ्नुपर्यो। पेट्रोलियम पदार्थको भाउ बढ्छ तर सवारी साधनको बढ्दैन। अहिले राजनीतिक आधारमा भइरहेको छ। त्यसलाई बैज्ञानिक सिस्टममा लैजानुपर्यो। स्वचालित भाडा प्रणाली सुरु गरेपछि यो समस्या समाधान भइहाल्छ नि।
यसको लागि विधि र प्रक्रियामा गएर सरकारसँग वार्ता गर्नुपर्यो नि आन्दोलन गरेर हुन्छ त ?
म सरकारसँग तपाईको सञ्चारमाध्यमबाट पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।