|

काठमाडौं : जेठ १३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा धेरै वटा कीर्तिमान बनायो।  कोरोना महामारीपछि ५१ दिन मनाएको पहिलो फिल्म ‘कबड्डी ४’ ले छक्कापञ्जा ३ लाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म पनि बन्यो। ‘कबड्डी ४’ को प्रदर्शनलाई नेपाली फिल्म उद्योगकै लागि एउटा सुखद तरंगका रूपमा हेरिएको थियो। त्यसपछि प्रदर्शनमा आएका फिल्मले भने सफलता पाउन सकेनन्। 

‘चिसो मान्छे’, ‘पानी फोटो’, ‘प्रकाश’, ‘राधा’ जस्ता फिल्मले समीक्षक र सीमित दर्शकलाई हलसम्म ताने पनि व्यावसायिक रूपमा भने सफल हुन सकेनन्। यी बाहेक ‘सम्झना बिर्सना’, ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ जस्ता व्यावसायिक भनिएका फिल्मलाई समेत हलमा हप्ता दिन टिक्न गाह्रो भइरहेका वेला फिल्म उद्योग फेरि  संकटतिर उन्मुख भइरहेको थियो। 

यस्तैमा भदौ १७ गतेदेखि फिल्म ‘झिँगेदाउ’ प्रदर्शनमा आयो। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मबाट पनि धेरैले अपेक्षा गरेका थिएनन्। शुरुका दुई दिन दर्शकको संख्या सामान्य रहेको फिल्म आइतबारदेखि एकाएक हाउसफुल हुन थाल्यो। फिल्मको शो थपिन थाल्यो। 

फिल्मले दोस्रो हप्तामा प्रवेश गर्दा ठूलो बजेटमा बनेको बलिउड फिल्म ब्रह्मास्त्र अवरोधको रूपमा खडा थियो तर दर्शकको चाप नघटेपछि हलवालाहरू पनि फिल्मलाई शो दिन बाध्य भए। दर्शकको उत्साहजनक उपस्थितिका साथ फिल्मले दोस्रो हप्ता पनि पूरा गर्‍यो। 

दुई हप्तामा चार करोडको कमाइ गर्दै फिल्म शुक्रबारदेखि तेस्राे हप्तामा प्रवेश गरेको छ। तेस्रो हप्ताको पहिलो शनिबार पनि दर्शकको उपस्थिति उत्साहजनक नै देखिएको छ। यो सँगै नेपाली फिल्म उद्योगले पनि एउटा गति पाएको छ। 

‘झिँगेदाउ’मा के छ?
भीमनिधि तिवारीको छोटो कथामा आधारित रहेर बनेको फिल्ममा पारिवारिक कथा रहेको छ। एकल आमाले हुर्काएका दुई छोरा सानो हुँदादेखि बिहे र अंशबण्डा गर्दासम्मको कथा फिल्ममा छ। नयाँ सदस्य भित्रिइसकेपछि सामान्य असमझदारीले सिर्जना हुने आन्तरिक द्वन्द्व र त्यसका असामान्य असर फिल्ममा देख्न सकिन्छ। 

‘झिँगेदाउ’ मार्फत निर्देशक देउजाले ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेका छन्। यसअघि साहित्यिक कृतिमा बनेका सबैजसो फिल्म असफल हुँदै आएकोमा याे फिल्म भने अपवाद बनेको छ। स्टार कलाकारविना सामान्य कथामा बनेर पनि फिल्म ‘झिँगेदाउ’ले याे व्यावसायिक सफलता कसरी पायो?  यो फिल्म व्यावसायिक रूपमा सफल हुनेमा धेरैले शंका गरेको र आफूलाई समेत प्रदर्शनअघि पूर्ण विश्वास नरहेको उनी बताउँछन्। 

‘धेरैलाई पुरानो मान्छे, पुरानै खालको फिल्म बनाएको छ, चल्दैन भन्ने नै लागेको थियो। लामो ग्यापपछि आउँदै छु, पहिलेका दर्शकले चिने पनि धेरै नयाँ दर्शकले चिन्नुहुन्न। नतिजा जस्तो पनि आउन सक्छ भन्ने मलाई पनि लागेको थियो’‚ उनी भन्छन्, ‘वितरक, प्रदर्शकलाई पनि विश्वास लागेको थिएन, किन लागेन पनि म बुझ्छु। यो बिजनेस पनि हो, त्यहीअनुसार अनुमान, आँकलन हुन्छ तर दर्शकले फिल्मलाई माया गरिदिनुभयो। फिल्म चल्यो। त्यसको लागि सबैप्रति आभारी छु। खुशी छु।’ 

‘हाम्रोमा चल्ने भनेको हाम्रै मौलिक कथा, मौलिक फिल्म नै हो। पछिल्लो समय चलेका भनेका लुट, कबड्डी, छक्कापञ्जा पनि हाम्रै कथामा बनेका मौलिक फिल्म हुन्। सँगसँगै एउटा इन्टरटेनमेन्ट फ्याक्टर पनि भएकाले यी फिल्म चलेका हुन्।’ कहिलेकाहीँ मौलिक कथामा बनेका राम्रो फिल्म पनि नचल्ने बताउँदै उनी भन्छन्, ‘हाम्रो फिल्ममा घर घरको एउटा मौलिक कथासँगै इन्टरटेनमेन्ट पनि थियो‚ सन्देश पनि थियो। फिल्ममा दर्शकले मनोरञ्जनसँग एउटा सन्देश पनि पाउनु भयो। त्यही कारण फिल्म चलेको हो जस्तो लाग्छ।’ 

‘शुरुका दुई दिन फिल्मले त्यस्तो राम्रो व्यापार गर्न सकेको थिएन तर माउथ पब्लिसिटी बढ्दै गएपछि आइतबार, सोमबार झन् झन् बढी हुँदै गयो।’ फिल्मको व्यावसायिक सफलताले खुशी रहेको बताउँदै उनी भन्छन्, ‘दुई हप्ता पूरा हुँदा फिल्मले करिब ४ करोडको व्यापार गर्न सफल भएको छ। यतिवेला धेरै खुशी छु, उत्साहित भएको छु अनि सबैप्रति आभारी पनि छु।’

शनिबार पनि दर्शकको उत्साहजनक उपस्थितिका साथ प्रदर्शन भइरहेको फिल्मले यो हप्तामा ६ करोडको आँकडा छुने अनुमान गरिएको छ। फिल्ममा आमाको भूमिकामा हिउँवाला गौतम देखिएकी छन् भने मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट छोराबुहारीको भूमिकामा देखिएका छन्। कुशलको यो पहिलो फिल्म हो, त्यस्तै मुकुनको दोस्रो फिल्म हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.