दुईपटक आफैँले विघटन गरेको संसदलाई ओलीले नै सफल घोषणा गरे

|

काठमाडौं : प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूबीच सवाल-जवाफ भएको छ। 

बैठकमा बोल्दै नेताहरूले एक-अर्कालाई देखाएर निरन्तर विराेध जनाएपछि चर्काे सवाल जवाफ भएकाे हाे। बैठककाे सुरुमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन भए पनि सर्वाेच्च अदालतकाे परमादेशकै कारणले संसदमा भेट भएकाे अभिव्यक्ति दिए।

देउवाले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताहरूले परमादेशको सरकार भन्नुहुन्छ। त्यही परमादेशको कारणले अहिले हाम्रो यहाँ  भेट भएको छ। त्यही कारणले सँगै बसेको काम गर्न पाएको छौँ।’ 

देउवाले संसद् विघटनको प्रसंग कोट्याएपछि लगत्तै बोलेका ओलीले संसद् विघटन गरेर गल्ती नभएकाे भन्दै आफ्नो बचाउमा उत्रिए। 

देउवालाई जवाफ दिँदै ओलीले भने, ‘निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिँदैन। यदि त्यसो भन्ने हो भने त अहिले पनि सरकारले प्रतिगमन गर्दैछ, संसद त आजबाट सकिँदैछ। चुनाव रोकेर आयु लम्ब्याउने कुरा पो प्रतिगमन हो त?’ 

असंवैधानिक ढंगबाट परमादेशमार्फत सरकार बनाउने कुरा चाहिँ प्रतिगमन भएको उनको दाबी गर्न भ्याए। 

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउनुपर्ने बताए। आफ्नो सरकारको बचाउमा उत्रेर विकासका गतिविधिकाे लहर चलाएकाे भन्दै संसद सफल भएको  उनले बताए। 

संसदले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको, राष्ट्रिय स्वाधिनताका सम्बन्धमा महत्वपूर्ण काम भएको जिकिर गरिरहे। 

ओलीले भने, ‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन। मंसिर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन्। गठबन्धनलाई जवाफ दिनेछन्। अहिले म धेरै केही भनिरहन्न। अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन।’

उनले सरकारप्रति कटाक्ष गरेर मंसिर ४ मा हुने निर्वाचनलाई देखाएर सरकार प्रतिगमनको बाटोमा लागेको भन्दै व्यंग्यसमेत गर्न भ्याए। 

‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो। त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो। प्रतिगमन कहाँबाट आउँथ्यो?  कुन संविधान पढेर बहस गर्नुहुन्छ?’ ओलीको भनाइ थियो।  

उनले संसद विघटनलाई चाेख्याउँदै सरकार प्रतिगमनकाे बाटाेमा लागेकाे अभिव्यक्तिप्रति प्रचण्ड आक्रमक बने। उनले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई ओलीले प्रतिगमनसँग जाेडैर व्याख्या गरेपछि चर्को असन्तुष्टि जनाए। 

‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्याख्या गर्नुभयो, लोकतन्त्रको व्याख्या गर्नुभयो, मलाई आश्चर्य लाग्यो जसले जे भने पनि हुने रहेछ’ प्रचण्डले ओलीप्रति आक्रमक हुँदै भने। 

सरकारबाट बहिर्गमन भएर स्थानीय तहकाे निर्वाचनमा धक्का खाँदा समेत ओलीमा अहंकार नघटेको टिप्पणी गरे। संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा देखाएकाे उनकाे भनाइ छ।

ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘प्रतिपक्ष दलको नेताले मंसिर ४ गते थाहा हुन्छ को के रहेछ भन्ने कुरा भन्नुभएको छ। म विनम्रतापूर्वक उहाँलाई स्मरण गराउन चाहन्छु, राष्ट्रियसभाको चुनाव, बार एशोसिएसन, पत्रकार महासंघको चुनाव र स्थानीय तहको चुनावले सन्देश दिएको होइन र?’

मंसिर ४ को नतिजा आफूहरू पनि पर्खिरहेको भन्दै ओलीकाे दम्भ धेरै नटिक्ने चेतावनी दिए। मंसिरमा हुने निर्वाचनमा ‘सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन’बीच राेचक प्रतिस्पर्धा हुने देखिएकाे छ।

सत्ता गठबन्धनले देशव्पापी गठबन्धन गरेर जाने भन्दै सिट बाँडफाँटमा लागेकाे छ भने एमालेले राप्रपा, राप्रपा नेपाल, मधेश केन्द्रित दल लाेसपासहित साना दलहरूसँग सहकार्यकाे लागि गृहकार्य गरिरहेकाे छ।

‘मैले दुई-दुईपटक संसद विघटन गरेर बेकार स्थायित्व र विकासलाई अवरोध गरेछु भन्नुहोला, राम्रो वातावरण बन्ला भनेको त अझै उही अहंकार’  प्रचण्डले ओलीप्रति खनिदै भने, ‘ठीकै छ ४ गते हेर्ने, तपाईं पनि हेर्नुहाेला। हामी पनि हेर्छौं। जनताको फैसला हामी सबैले स्वीकार्छाैं।’

प्रचण्डपछि बोलेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि ओलीकै कारणले साविकको नेकपा विभाजन भएको दाबी गरे। ओली सरकारले सम्झनलायक कुनै काम नगरेको टिप्पणी गर्न भ्याए। 

नेता खनालले प्रश्न गर्दै भने, ‘अल्पमतको सरकार भए पनि मनमोहन अधिकारीले ल्याएको आफ्नो गाउँ आफैं बनाउँ, ज्येष्ठ नागरिकलाई सम्मानलगायतका कार्यक्रम मार्फत् अहिले पनि उहाँलाई हामी सम्झन्छौं, त्योभन्दा दशौं बीसौं गुणा काम गर्न सक्ने खड्गप्रसाद शर्मा ओली सरकारको काम के हो त?’  

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ओलीले संविधान विरोधी काम गरेको दाबी गरे। ओलीकै कारणले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको बताए। 

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा छलफल गर्नुपर्ने वेला त्यसो हुन नसक्ने दुर्भाग्यको कुरा भएको उनको भनाइ छ।  

ओली नेतृत्वले दुईपटक संसद् विघटन गरेर इतिहासमा कायम भएको बताए। पाँच दलीय गठबन्धनले अहिलेसम्मको उपलब्धिको रक्षा गरेको दाबी गरे। 

यस्तै, सत्ता गठबन्धनकै घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि ओलीको प्रतिगमनकै कारणले गठबन्धन बनेको बताइन्। प्रतिगमनलाई रोक्न सरकार सफल भएको उनको भनाइ छ। 

दुई पटक विघटनपछि सर्वोच्च अदालतबाट पुनःस्थापित भएको संसद बैठकको अन्तिम बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप र घोचपेचमै सीमित बन्न पुगेको छ। 

त्यसो त बैठकको अन्तिममा सभामुख अग्निप्रसाद सापकोटाले पनि विश्वकै इतिहासमा दुई पटक एउटै संसद विघटनपछि पुनःस्थापना भएको पहिलो इतिहास भएको बताए। विभिन्न आरोह र अवरोहका बीच संसद्ले देश र जनताप्रति उलेख्य प्रसंशनीय काम गरेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.