|

विराटनगर : राजनीतिक  ‘करियर’ बनाउन गाउँबाट शहर पसेका केन्द्रीय नेता, कार्यकर्ता यतिवेला गाउँ पस्न थालेका छन्।

निर्वाचनताका गाउँ टेकेर आफ्ना मतदातालाई आश्वासनका फोका कसेर पुनः शहर हान्निएका नेताहरु आफूले दिएका बाचाहरु निर्धक्क फुकाउन नसकेको गुनासोका गहकिला भारी गाउँका मतदातासँग नभएका पनि होइनन्। तर पनि विकल्पमा अरु को नै छ र? भन्ने प्रश्नसहित उनै मतदाताको मुखबाट सुन्न सकिन्छ। निर्वाचन आउँदैपिच्छे एजेन्डाका भारी बिसाउन पुग्ने नेताहरू फेरि मंसिर ४ गतेका लागि भोट आफ्नो पक्षमा पार्न गाउँतिर हान्निएका छन्। 

आफू जन्मेको गाउँको माटो र त्यहाँको गाउँको अव्यवस्थित जीवनशैलीका मुद्दालाई दिएर राजनीतिक यात्राको पहिलो खुड्किला बनाएर गाउँमा समृद्धिका नाराले आफ्नो राजनीतिक जीवन समृद्धिको बाटोमा हिँडाएका धेरै उदाहरणीय नेता छन्।

गाउँको साँगुरो भूगोलबाट राजनीतिलाई ठूलो आकार दिन संघीय राजधानी पसेका उनीहरू अहिले सुविधासम्पन्न राजधानीका साँघुरा गल्लीहरूले उनीहरूको राजनीतिलाई नपत्याउँदा कोही गृहजिल्ला फर्कन बाध्य छन् त कोही निर्वाचन क्षेत्र फेर्न बाध्य भएका छन्।

यसरी संघीय राजधानीले नपत्याएकामध्ये नेकपा एमालेका सचिव योगेश भट्टराई पनि एकजना प्रतिनिधि पात्र हुन्। ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभारसमेत सम्हालिसकेका छन्। ​एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूको केन्द्रीय अध्यक्षसमेत भइसकेका उनी दुई पटक पार्टीको सचिव बनेका थिए।

उनले ०६४ र ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र ६ बाट पराजय बेहोरेका थिए। काठमाडौंलाई कर्मथलो बनाएर राजनीतिमा सुनौलो भविष्य खोज्दै पुगेका भट्टराईले काठमाडौंका जनताको माया भने पाउन सकेनन्।

अन्ततः उनलाई आफू जन्मे हुर्केको भूगोल र त्यहाँका जनताले अगाध प्रेम गरे। दुई पटक हार बेहोरेका योगेशलाई आफ्नो गृहजिल्लाका मतदाताले हार्न दिएनन्। उनले ०७४ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी केशव दहाललाई हराउँदै २९ हजार ४७९ मत ल्याएर विजयी बनेका थिए।

निर्वाचनताका वा कुनै काम विशेषले गृहजिल्ला पुग्ने भट्टराईलाई उनकै दलका कतिपय नेताले ताप्लेजुङको ‘टुरिष्ट’ नेता भन्ने पनि गरेका छन्। ०४७ मा ताप्लेजुङका जनताले रोजेका भट्टराईलाई यो पटक आफ्नै दल अर्थात एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले आउने  निर्वाचनको मैदानमा चुनौती दिइरहेका छन्। पछिल्लो समय गृहजिल्ला केन्द्रीकृत भएका भट्टराईलाई यो पटकको निर्वाचनमा जित हासिल गर्न निक्कै सकस पर्ने उनकै जिल्लावासीहरूको भनाई छ।

तेह्रथुममा जन्मेका एमालेका अर्का नेता भूगोलको राजनीतिबाट टाढा रहेर काठमाडौं बसेर राजनीतिक गरिरहेका नेता भानुभक्त ढकालले पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्न काठमाडौं छाडेर मोरङ रोजे।

०७४ को वाम गठबन्धन भएर चुनावी मैदानमा उत्रिएको समय आफ्नो मत सुरक्षित हुने भएपछि उनी मोरङ क्षेत्र ३ मा आएर निर्वाचन लडेका थिए। अघिल्लो निर्वाचनमा टुरिष्ट नेताको आरोप खेपेका उनी मोरङ क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

ढकालले नोबेल मेडिकल कलेजका सञ्चालक नेपाली काँग्रेसका सुनिलकुमार शर्मालाई हराएका थिए। उनले ४२ हजार ४ सय १ मत ल्याएर शर्मालाई पराजित गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हालिसकेका उनीमाथि कोरोनाका समयमा चिकित्सा उपकरण खरिदमा राज्यको कोष हिनामिना गरेको आरोप छ। अघिल्लो निर्वाचनमा टुरिष्ट नेताको आरोप खेपेसँगै यतिवेला उनी सुन्दरहरैंचामा घर बनाइरहेका छन्।

विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा आरम्भ  गरेर ज्ञानेन्दबहादुर कार्की भोजपुर जिल्लामा जन्मेका हुन्। ०३९ सालमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षसमेत रहेको उनी पनि राजनीतिक भविष्य उज्ज्वल बनाउन भोजपुर छोडेर काठमाडौं हान्निएका थिए।

निर्वाचनताका भूगोलको राजनीति गर्न गृहजिल्लाबाट चुनावी मैदानमा उत्रिँदा त्यहाँ ३ पटकसम्म चुनाव हारेका थिए। ​जिल्लावासीले नपत्याएको कार्कीलाई सुनसरीका जनताले प्रत्यक्ष सांसदमा पत्याएका थिए। अर्थात् उनले पहाडबाट ओरालो लागेर मधेश झरेसँगै सुनसरी क्षेत्र ४ बाट निर्वाचन जितेका थिए।

तत्कालीन समय वाम गठबन्धन हुँदा उनले  सुनसरी ४ मा ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दै प्रतिनिधिसभाको स्थान ओगट्न सफल भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत ल्याएर पराजित भएका थिए।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका कार्की ३ पटक चुनाव हारेपछि ०७० सालको दोस्रो संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए। उनी त्यसवेला अर्थमन्त्री बनेका थिए। ०६३ सालमा अन्तरिम सरकारको जलश्रोतमन्त्री समेत बनेका उनी सरकारका प्रवक्ता भए।

नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले पनि आउने निर्वाचनमा टिकट लिनका लागि नै झापामा घर किनेका छन्। काठमाडौंमा बसेर राजनीति गर्दै आएका उनले बिर्तामोडमा घर किनेका छन्। तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि खरेल महान्यायाधिवक्ता राजीनामा दिएर झापाको राजनीतिमा सक्रिय भएका हुन्।

संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा घर भए पनि काठमाडौंमा नै बस्दै आएका अर्जुन कार्की अमेरिकाका लागि पूर्व नेपाली राजदूत हुन्। संखुवासभाबाट एमालेले सिफारिश गरेका अर्जुन कार्की पनि काठमाडौं केन्द्रित राजनीति गर्दै आइरहेका छन्। कहिले काठमाडौं त कहिले चितवनको राजनीति गरेका कार्की सांसद बन्ने चाहनासहित आफ्नै गृहजिल्ला फर्किएका छन्।

०७४ को निर्वाचनमा झापा क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका राम कार्कीलाई नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाले प्रतिनिधिसभाका लागि नाम सिफारिश गरेको छ। काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २ हजार ८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका थिए।

अघिल्लो पटक वाम गठबन्धन हुँदा कार्कीले झापाबाट टिकट पाए पनि यो पटक भने कार्की आफ्नै गृहजिल्ला ओखलढुङ्गा फर्कने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.