|

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा आयोजना गर्न तनहुँवासीले माग गरेका छन्।

प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरूले यस्तो माग गरेका हुन्। खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा पनि तनहुँमा खेल नपरेकोमा उनीहरूको गुनासो छ। यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका राजेशकुमार गुरुङ दमौली पुगेका थिए।

दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेसहितको उपस्थितिमा छलफल गरेका छलफलमार्फत व्यास नगरपालिकामा रहेको निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पूर्वाधार थप गरी खेल सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ।

खेल मैदान व्यवस्थापनको लागि आवश्यक प्रबन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिबद्धता जनाएका छन्। ‘बास्केटबल खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन गर्न नगरपालिका तयार छ,’ न्यौपानेले भनेका छन्, ‘नगरपालिका खेल सञ्चालन गर्न पहिल्यैदेखि तयार भए पनि यो विषयमा केही कुरा मिलेको थिएन। अब नमलेको कुरा केही छैन, सबै मिलेको छ। आजको छलफलपछि प्रक्रिया अगाडि बढ्छ।’

गण्डकी प्रदेशका पूर्व मन्त्री चुमानले प्रकाशित खेल तालिकामा तनहुँ नपरेपछि आफूलाई अचम्म लागेको बताए। तनहुँले कम्तीमा पनि एक खेल पाउनेमा आफूहरू विश्वस्त रहेको भए पनि खेल तालिका प्रकाशित हुँदा तनहुँ नपर्दा दुःख लागेको उनको भनाई थियो।

अब महिला बास्केटबल जुनसुकै हालतमा पनि तनहुँमा नै हुनुपर्नेमा उनको जोड छ। ‘आवश्यक खर्च गर्न नगरपालिका तयार छ, यो ठूलो विषय हैन, आजबाट कुरा सोझिएको छ, आवश्यक सहयोग प्रदेश सरकार मार्फत म पनि भरथेग गर्छु।’ चुमानले भने।

छलफलपछि खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक गुरुङले तनहुँले राखेको इच्छाको बारेमा आफूले राखेप सदस्य सचिवसँग कुरा गर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.