|

सोलुखुम्बु : अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्वका हजारौँ मानिस सगरमाथा हेर्न ओइरो लाग्ने बताएका छन्।

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शैयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा मन्त्री शर्माले लगानी बोर्डमार्फत महत्वपूर्ण योजना अघि सारिएकाले आगामी दिनमा सगरमाथा हेर्न आउनेको ओइरो लाग्ने उनले दाबी गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब मुलुक आर्थिक क्रान्तिमा होमिने बताए। माओवादीकै कारणले परिवर्तन सम्भव भएको दाबी गर्दै औद्योगीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने बताए। कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएकाले अब मुलुकमा रोजगारी सिर्जना भई गरिबीको अन्त्य हुने जिकिर गरेका छन्। दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो, प्रदेश १ मा पूर्व राज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरुको सहभागिता थियो।

सो अवसरमा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.