|

नेपालको संविधान (२०७२) संघीय लोकतान्त्रिक गणतान्त्रिक संस्कृतिसम्बन्धी दूरगामी महत्त्वको ऐतिहासिक अभिलेख हो।

यो संविधान समाजवाद उन्मुख नेपालको सांस्कृतिक आधार पनि हो। अहिलेको परिवर्तित राजनीतिक परिस्थिति मात्रात्मक मात्र हो। यस उपलब्धिलाई आधेय अर्थात् उपरिढाँचा वा सतहमा मात्र भएको परिवर्तन भनिन्छ। तर  यस प्रणालीको  जग,जरा र आधारमा सामन्तवादी अपसंस्कृति जब्बर रहेको छ र यसमा अन्तर्निहित तमाम खाले अन्धविश्वासी तथा रुढीवादी सारतत्त्वलाई कलात्मक हस्तक्षेप मार्फत् रुपान्तरित गरेर मात्र प्राप्त राजनैतिक उपलब्धिलाई स्थिर,सबल र दीगो बनाउन सकिन्छ।

यिनै उद्देश्य राखेर नेपालको संविधान संविधानमा धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी समतामूलक स्वस्थ, सभ्य र भव्य समाजको निर्माण गर्ने दूरगामी महत्त्वको विषय  उल्लेख गरिएको छ। 

धार्मिक तथा सांस्कृतिक रुढीहरु सबै धर्म र सम्प्रदायमा विद्यमान रहेको पाइन्छ। तर संविधान, नियम र कानुनमा लेखेकै भरमा सांस्कृतिक रुपान्तरण हुँदैन। यसका लागि बहुआयामिक रुपमा आम जन मानसमा जमेर रहेको अन्धविश्वास र रुढीग्रस्त सोच, समझ, सिर्जना जस्ता पक्षहरुमा कलात्मक हस्तक्षेप गरेर तिनलाई विस्थापित गर्ने कोसिस हजारबार  गर्नुपर्छ।

त्यसैले सांस्कृतिक रुपान्तरण जस्ता अति संवेदनशील विषयमा गम्भीर अध्ययन र अन्वेषण गर्ने गराउने र तद्विषयमा निकट भविष्यमा  उचित दिशा निर्देश गर्ने विषयमा संस्कृति तथा पर्यटन मन्त्रालयको ध्यान जानु अपरिहार्य हुन्छ।

मानव समाजको हित,सेवा र उपकारका खातिर निश्वार्थ रुपमा सक्रिय  प्रकृति तथा प्राकृतिक सम्पदाको धर्म वा गुणका आधारमा आदि मानवले धर्म र संस्कृतिको पुनर्निमाण,पुनः सृजन र प्रवर्धन गरेको देखिन्छ। हुन पनि उन्नत तथा उदात्त चेतना र विवेकी  मानवले आफूलाई सामान्य पेटु प्राणी भन्दा पर्याप्त पृथक् पहिचान बनाउन सामाजिक सेवालाई धर्मका रुपमा अवलम्बन गर्‍यो।

व्यासले अठार पुराणको सार परोपकार पुण्य हो र परपीडन पाप वा अधर्म हो भन्ने निष्कर्ष उल्लेख गरेका हुन्। तर पनि यस क्षेत्रमा समय क्रममा चरम भेदभाव,असमानता तथा अन्धविश्वासलाई सामन्तवादले सत्ता र सरकार मार्फत् सुदृढ र सबल बनायो। यसो गर्दा सामन्तवादका नायक राजालाई देवताको अवतार सिद्ध गरेर जनविरोधी सत्तालाई दीर्घजीवी बनाउनु एक मात्र उद्देश्य रहेको देखिन्छ।

  धार्मिक तथा पौराणिक लिखित सामग्रीहरुमा उल्लिखित देवत्वकरण गरी आस्थाका रुपमा उपस्थापित पात्र,प्रस्तुति  र प्रस्तावहरु  मानव सभ्यताका महत्वपूर्ण प्रामाणिक सामग्री हुन्। हेर्दाहेर्दै २५ सय वर्ष अघिका विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमलाई आज हामी देवताका रुपमा पूजा गर्दैछौँ भने यसबाट ब्रम्हा, विष्णु, राम, कृष्ण, दुर्गा, युमा र सुम्निमा आदि पूजनीय मानेका व्यक्तित्वहरु त्यस कालखण्डका चर्चित  विशिष्ट व्यक्तित्व हुन्।

अब यसरी पनि धर्म र संस्कृतिमा अन्तर्निहित यस्ता अनेक जीवनोपयोगी पक्षहरु उजागर गर्नु पर्ने विषय हुन्।

धार्मिक तथा सांस्कृतिक रुढीहरु सबै धर्म र सम्प्रदायमा विद्यमान रहेको पाइन्छ। तर संविधान, नियम र कानुनमा लेखेकै भरमा सांस्कृतिक रुपान्तरण हुँदैन। यसका लागि बहुआयामिक रुपमा आम जन मानसमा जमेर रहेको अन्धविश्वास र रुढीग्रस्त सोच, समझ, सिर्जना जस्ता पक्षहरुमा कलात्मक हस्तक्षेप गरेर तिनलाई विस्थापित गर्ने कोसिस हजारबार  गर्नुपर्छ।

कानूनी रुपले छुवाछूत र जातिप्रथा उन्मूलन भएको ५५ वर्ष भइसके पनि त्यसमा प्रभावकारी कलात्मक तथा बहुआयामिक हस्तक्षेप नहुँदा तमाम सामन्तवादी चरम धार्मिक सांस्कृतिक रुढीवादी भेदभाव र असमानता अद्यापि  व्याप्त रहन भएको हो।

सामन्तवादले लामो समयदेखि आफ्नो वर्ग सत्ता र स्वार्थ अनुकूलको अन्धविश्वासी तथा रुढीवादी शिक्षा,दीक्षा,संस्कार संस्कृति,आचार, विचार तथा नीतिद्वारा राजकीय सत्ता मार्फत् सुसंगठित रुपमा लामो समयदेखि  प्रशिक्षित गरेको छ। यसैका प्रभावले आम जनताले आआफ्ना घरघरमा उपर्युक्र खालको संस्कार,संस्कृति र रीति लामो समयदेखि लागू गर्दै आएको छ।

यसका लागि सामन्तवादले  व्यापक रुपमा धार्मिक,सांस्कृतिक पण्डित पुरोहित तथा पौराणिक ग्रन्थहरुको प्रभावकारी उपयोग गरेको छ। त्यतिले पनि नपुगेर सुमधूर गीत,संगीत र स्वरमा जनविरोधी सारतत्त्व  निहित मनमोहक धार्मिक सांस्कृतिक  भजनको अहोरात्र श्रवण गराएर गहिरो प्रभाव पारेको देखिन्छ। यसरी गोयबल्स शैलीमा धर्म र संस्कृतिका नाममा सबै खालका अन्धविश्वासी कुरुप पक्षहरुलाई हजार बार प्रचार गरेर असत्यलाई सत्य सावित गर्न सफल भएको देखिन्छ।

यसरी आम जनतालाई स्वैच्छिक रुपमा सामन्तवादी अपसंस्कृतिको पक्षपोषक,पृष्ठपोषक तथा कट्टर समर्थक बनाइएको पाइन्छ। वैदिक सनातनलगायत सबै धर्म र संस्कृतिभित्र विद्यमान  मानतावादी र जीवनोपयोगी अनेक स्वस्थ्य धार्मिक तथा सांस्कृतिक पक्षहरुलाई ओझेल पारेर आम जनतालाई भ्रमित पारिएको छ।

अहिले पनि धार्मिक कार्यक्रमका नाममा उपर्युक्त खालका सन्देश, प्रवचन र भजन कीर्तन अलिकति पनि समय सापेक्ष सुधार नगरी बारबार  सञ्चार माध्यमबाट प्रशारण गरिएको देखिन्छ।

यसका प्रभावले आम सर्वसाधारण जनता जीवन जगत् सम्बन्धी तमाम खाले सामन्तवादी धार्मिक सांस्कृतिक अन्ध विश्वासमा दृढ विश्वस्त भएका हुन्। 

त्यसैले उनीहरु जहाँ पनि डटेर अन्धविश्वासको पक्षपोषण गर्छन्। यसरी सामन्तवादले बहुत होसियारी, चलाख तथा बठ्याइँपूर्वक वर्गीय स्वार्थ अनुकूलको धर्म र संस्कृतिका नाममा अपसंस्कृतिको सञ्जाल फिँजाएको छ । जननेता मदन भण्डारीले भन्ने गरेको कलात्मक हस्तक्षेपको अर्थ पनि आम जनतालाई बहुआयामिक रुपमा प्रशिक्षित गरी तिनलाई सचेत, सजग, सबल तथा संगठित बनाइ उनीहरुलाई नै परम्परागत धर्म,संस्कार संस्कृतिको सुधारात्मक  महाअभियानमा सक्रिय तथा नेतृत्वदायी भूमिकामा उभ्याउनु हो। यसरी मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको जग र जरा  बलियो बनाउन सकिन्छ।

तर धेरैजसो उपल्ला तहका नेता,मन्त्री र माननीयहरु धर्मिक सांस्कृतिक समारोहमा गएर मन्तव्य व्यक्त गर्दा संविधानतः सांस्कृतिक रुपान्तरणको विषयसम्म उठान गर्दैनन्। तिनले कार्यक्रममा आफू आमन्त्रित  धर्म र सम्प्रदायको बखान मात्र गरेको पाइन्छ।

त्यसैले धेरैजसो नेताहरुमा समाजको गुणात्मक रुपान्तरणमा संस्कृतिक क्षेत्रको महत्व बोध गर्ने कुरामा नै न्यून चेत रहेको अनुभव हुन्छ। धेरैजसो उपल्ला तहका नेताहरु आत्मकेन्द्रित तथा सामन्तवादी सांस्कृतिक विरासदमा रमाएको आभास हुन थालेको छ। यस्ता कुराले प्राप्त उपलब्धि नै धरापमा पर्न सक्छ।

पश्चिमाहरुले धर्म निरपेक्षका नाममा राष्ट्रको प्रमुख वा प्रधानमन्त्री बन्नका लागि क्रिश्चियन धर्मावलम्बी हुनै पर्ने र उसले पदबहाली गर्दा बाइबल ग्रन्थमा हात राखेर कसम खानै पर्ने खालको प्रावधान राखे तर नेपालको संविधान २०७२ मा सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर धर्म निरपेक्षको नेपाली मौलिक व्याख्या गरेको छ।

संविधानले गाईलाई राष्ट्रिय जनावर घोषित गर्दै यसको बध अवैध तथा दण्डनीय करार गरेको छ। यस खालका मौलिक व्याख्यालाई  सुपाच्य रुपमा उल्लेख गरेर यस क्षेत्रमा छर्न खोजिएका तमाम भ्रमजाललाई  नेतृत्व एवं  यस क्षेत्रका अगुवाहरुले निस्तेज गर्न सक्नुपर्छ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्र सामन्तवादी धर्म र संस्कृतिको बलियो जगमाथि टुक्रुक्क बसेको अवस्था हो। लगभग दुई तिहाइको ओली सरकार नै पनि पुरानै सोच,समझ र संस्कारमा हुर्किएको कर्मचारी संयन्त्र वा ब्युरोके्रसीका भरमा पर्नु परेको स्थिति छ। यसलाई समेत परिवर्तित परिस्थिति अनुकूल प्रशिक्षित गर्नु अपरिहार्य देखिन्छ। अझ  सामन्तवादी अप संस्कृति नेपाली राजनैतिक तथा राजकीय उच्च र उच्चतम तहका नेताहरुमा कुटकुट भरिएको कुरा  प्रधानमन्त्री के.पी.शर्मा ओलीले एक प्रसंगमा बताउनु भएको थियो।  अमुक बाम वरिष्ठ नेता आफ्नो घरको मूल ढोकामा भोटेताल्चा लगाएर बुइँगलमा अतिगोप्य रुपमा प्रधानमन्त्री प्राप्त गर्न पण्डित पुरोहित मार्फत् पूजापाठमा संलग्न भएको आफैँले देखेको प्रधानमन्त्रीले बताउनु भएको थियो।  यही प्रसंगलाई आधार बनाएर ओलीले नेपालमा दार्शनिक कम तर अधिकांश  पोलिटिकल कम्युनिष्ट नेताहरु रहेको बताउनु भएको थियो। 

  सामन्तवादले आफ्नो अन्धविश्वासी तथा चरम रुढीवादी धर्म र संस्कृतिमार्फत् प्रशिक्षित गरी आम श्रमजीवी जनताको शोषण तथा उत्पीडनमा आधारित राजनीतिक सरकार, सत्ता र व्यवस्थालाई  सुदृढ बनाएको छ। तर लोकतान्त्रिक तथा समाजवाद उन्मुख राजनीतिक पार्टीहरु धर्म र संस्कृतिका तमाम जनमुखी तथा जीवनोपयोगी पक्षहरु उजागर गरी प्राप्त उपलब्धिको जगेर्ना गर्न किन ध्यान दिँदैनन् ? माल पाएर पनि चाल नपाउनु भनेझैँ हुन भएन।

त्यसैले मार्क्सवादी सैद्धान्तिक सतही ज्ञानले मात्र कुनै पनि नेता शुद्धबुद्ध हुन सक्तैन। तनको मैलो साबुनले धोएर जान्छ तर मन र मस्तिष्कमा बसौँदेखि कटकटिएर जमेको बसेको धार्मिक तथा सांस्कृतिक पश्चगामी मयल सफा गर्न अनवरत अध्ययन,मनन,चिन्तन,मन्थन,विचार, विमर्श अपरिहार्य हुन्छ। दर्शन ढुङ्गासरह जब्बर बनेको यो मयल एक प्रहारले होइन हजार प्रहारबाट मात्र घट्न र हटन सक्छ।

 प्रगतिशील क्षेत्रका वरिष्ठ  लेखक, बुद्धिजीवी तथा चिन्तकहरुमा सामन्तवादी धार्मिक सांस्कृतिक अवशेष टिठलाग्दो रुपमा देखिन्छ। तिनले सरकारका सकारात्मक कामलाई स्वीकार समर्थन गर्ने र नकारलाई निस्तेज बनाउन सिर्जनात्मक भूमिका खेल्ने दोहोरो दायित्व निर्वाह गरेको प्रायः  देखिन्न।

लामो समय सत्ता र सरकारको विरोधी मानसिकताका कारण पनि यसो भएको हुनसक्छ तर प्रगतिशील स्रष्टाहरु सत्ता र सरकारका सदा विरोधी वा प्रतिपक्षी होइनन् यी  सकारात्मक वपा सिर्जनात्मक प्रतिपक्षी हुन्  भन्ने बेलैमा बुझ्नु जाती हुन्छ। निरपेक्ष मूल्याङ्न गरेर आफ्नै उपलब्धि र प्राप्तिलाई कसैले खिज्याउनु हुँदैन।

 यही कुरालाई ध्यानमा राखेर उहिल्यै कार्ल माक्र्सले परिवर्तित राजनैतिक अवस्थामा लामो समय पुरानै शाषक तथा शासन व्यवस्थाको विचार र संस्कृति नेता,बुद्धिजीवी तथा स्रष्टाहरुमा हाबी हुने हुनाले यसमा समयमै गम्भीर हुन आग्रह गरेका थिए। नभन्दै कतिपय सत्तापक्षीय उपल्ला तहका नेताहरु

सामन्तवादी सांस्कृतिक अहङ्कारग्रस्त सोचाइका सिकार बनेका छन् तिनले ओली सरकारले अढाइ वर्षमा भूकम्प पीडित तथा हावाहुरीबाट विस्थापित सर्वसाधारण जनताको गरी जम्मा ५ लाख सुरक्षित आवास वा घर निर्माण गरेको लगायत अनेक सकारलाई देख्न सक्तैनन्। र आम जनतामा चरम निराशा फैलाउन उद्यत देखिन्छन्।

कुनै पनि कुरालाई सापेक्षतामा पनि हेर्न मूल्याङ्कन गर्न नसक्नु सामन्तवादी सोचकै परिणाम हो। यस मामिलामा नेकपा नेता केशव बडाल प्राप्त उपलब्धि र सरकारका सकारात्मक कामहरुको जमेर समर्थन र नकारको डटेर विरोध गरिरहेका छन्। 

निषेधको निषेध नियमअनुसार सांस्कृतिक रुपान्तरणको ठोस तथा व्यावहारिक विकल्प प्रदान गर्ने कुरामा खासै ध्यान नदिई बौद्धिक,वैचारिक तथा साहित्यिक विलासमा मात्र अझै लेखक संघ तथा जनसांस्कृतिक संघ केन्द्रित हुनु अचम्मको विषय हो।

  सामन्तवादले आफ्नो अन्धविश्वासी तथा चरम रुढीवादी धर्म र संस्कृतिमार्फत् प्रशिक्षित गरी आम श्रमजीवी जनताको शोषण तथा उत्पीडनमा आधारित राजनीतिक सरकार, सत्ता र व्यवस्थालाई  सुदृढ बनाएको छ। तर लोकतान्त्रिक तथा समाजवाद उन्मुख राजनीतिक पार्टीहरु धर्म र संस्कृतिका तमाम जनमुखी तथा जीवनोपयोगी पक्षहरु उजागर गरी प्राप्त उपलब्धिको जगेर्ना गर्न किन ध्यान दिँदैनन् ? माल पाएर पनि चाल नपाउनु भनेझैँ हुन भएन।

संविधानले निर्देश गरेअनुसार परिवर्तित परिस्थितिअनुसार सांस्कृतिक रुपान्तरणको विषयमा जनस्तरमा व्यापक छलफल,अन्तरक्रिया,अध्ययन तथा यसका ठोस विकल्प समेत प्रस्तावित गर्न सकियो भने मात्र प्राप्त उपलब्धिलाई संरक्षण  गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.