|

सुर्खेत : दुर्गम तथा पिछडिएको पगरी गुथाइएको जाजरकोटमा तीनवटा ठूला सडक निर्माण कार्य जारी रहेको छ।

भेरी करिडोरअन्तर्गत छिन्चु– जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्विनी – रारा सडकको निर्माण कार्य जारी रहेको छ। यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ।

जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ। मध्य पहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको काम समेत जारी रहेको छ।

यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ट्याक औपनको काम सम्पन्न भएको निर्माण कम्पनी सिंह एण्ड ब्रोदर्सका विश्वास उप्रेतीले जानकारी दिए।

ब्रोदर्सले लिएको ठेक्का मध्य जाजरकोट कुदुदेखि स्याउलीबजार सम्माको १७ किलोमिटरमा पिचको काम सम्पन्न भइसकेको छ। त्यस्तै स्याउलीदेखि कार्कीगाउँ सम्माको १७ किलोमिटरमा पिचको काम जारी रहेको छ। कार्कीगाउँबाट थलह सम्माको २० किलोमिटरमा समेत काम जारी रहेको छ।

मन्ताभीर फोडेर कामलाई तीव्रता दिइएको उप्रेतीले जानकारी दिए। थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको पिचको काम सकिएको छ। थलह बजारमा रहेको नदीमा पुल निर्माण नहुँदा निर्माणका सामग्री लिन समस्या भइरहेको निर्माण कम्पनीले बताएका छन्।

यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ।

त्यस्तै, भेरी करिडोरअन्तर्गत जाजरकोट– डोल्पा सडक खण्डको पासागाड रिम्ना सडक खण्डको पिच यही अर्थिक वर्षभित्र पूरा गरिने यती बिल्ड्रस प्रालि सातदोबाटो ललितपुरका गोरखबहादुर केसीले जानकारी दिए। १७ किलोमिटर लम्बाइ रहको यो सडकलाई दुई खण्डमा विभाजन गरेर पिच गर्न लागिएको उनले बताए।

३६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने भन्दै रिम्ना –तल्लु सम्माको कामसमेत सुरु भएको छ। ४० किलोमिटर लम्बाई रहेको उक्त सडकमा पिच गर्नका लागि १ अर्बमा ठेक्का भएको थियो। १ अर्बमा श्रेष्ठ कन्टक्सनको ठेक्का लिएको रिम्नादेखि जाजरकोट तल्लु सम्माको सडकमा श्रेष्ठबाट यती बिल्ड्रस प्रालि ललितपुर सातदोवाटोले नै काम गर्ने जिम्मेवारी लिएको केसीले जानकारी दिए।

यो सडकसमेत यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दाबी छ। भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिव्रिज पुलहरु निर्माण कार्य पूरा भएर सवारी साधनहरु आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश बस्यालले जानकारी दिए।

डोल्पा खण्डकै रुपगाडमा मात्र बेलिब्रिज पुल निर्माण हुन बाँकी रहेको छ। त्यस्तै जाजरकोट र रुकुम पश्चिमको बीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा सकिएलगत्तै सुरु हुने उनले जानकारी दिए। जाजरकोटमा रहेको नलगाड नदीमा बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भइसकेको छ।

त्यस्तै, लुम्बिनी –रारा सडक खण्डको काम समेत जारी रहेको छ।  सडक निर्माण छिटो भएमा जलविद्युत आयोजनामा सहयोग पुग्ने

भेरी करिडोरको काम जति छिटो सकिन्छ, त्यति जाजरकोट र डोल्पामा निर्माण कार्य जारी रहेका जलविद्युत आयोजनाको कामले समेत तीव्रता पाउने देखिन्छ। नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट यही सडक खण्डको बीचमा पर्दछन्।

भेरी करिडोर सडकको छेउमै रहेको नलगाड नगरपालिका –७ स्थित दल्लीमा नलगाड जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण हुनेछ।

त्यस्तै, ताक्सुगाड जलविद्युत् आयोजना ९७ मेगावाटसमेत भेरी करिडोरभित्र नै पर्दछ। जगदुल्ला जलविद्युत आयोजना मेगावाट ९ बन्दै गरेको डिपिआरले १२१ बन्ने सम्भावना मेगावाटसमेत यही सडकको बीचमा पर्दछ। जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिबेणीबाट मुड्केचुला–४ इल  विद्युत उत्पादन गृहस्थल र  जगदुल्ला गाउँपालिका –१ हुरीकोट सम्मा सडक त्रिबेणीबाट नै लिनुपर्ने अवस्था रहेको छ।

 जगदुल्ला जलविद्युत आयोजना यही आर्थिक वर्ष भित्र निर्माणको चरणमा जाने जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो। त्रिवेणीबाट हुरीकोट सम्मको ४५ किलोमिटर सडक रहेको छ। १५ किलोमिटर आइइ बाँकी रहेका कारण सडक निर्माण रोकिएको छ। यो सडकमा कडा चट्टान भएका कारण विस्फोट गरेर मात्र चट्टान फोर्न सकिन्छ।

४५ किलोमिटर मध्य ३० किलोमिटरको कच्ची कटानको काम सकिएको र बाँकी १५ किलोमिटर सडक मात्र कच्ची कटान गर्न बाँकी रहेको छ। १५ किलोमिटर सडक निर्माण गर्नका लागि आइइ बाँकी भएकाले काम गर्न समस्या भएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त कामलाई सहजीकरण गर्नुपर्ने दायित्व रहेको छ। त्रिबेणी स्थित भेरी नदीको पुल निर्माण कार्यसमेत ढिला हुँदा समस्या भएको छ। अब वर्षायाम सकिनबित्तिकै उक्त काम सुरु हुने सापकोटाले जानकारी दिए। यहाँ अन्य साना पुलहरु ७ वटा निर्माण गर्न बाँकी रहेको छ। यी सबै पुलहरु कम्पनीले नै निर्माण गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.