|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘प्रेम गीत ३’ यतिवेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ।

चलचित्र विकास बोर्डको ११ बजेपछि पनि फिल्म हल खुला राख्न अनुमति लिनुपर्ने र ‘प्रेम गीत ३’ को हिन्दी डबले विदेशी फिल्म सरह कर तिर्नुपर्ने दुई निर्णयका कारण सुरु भएको विवाद उत्कर्षमा पुगेको हो।

फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले फिल्मको हिन्दी डबलाई विदेशी फिल्मलाई सरह व्यवहार गर्ने बोर्डको निर्णयमा त आपत्ति जनाएका छन् नै साथै ११ बजेभित्र हल बन्द गर्नुपर्ने नियम पनि ‘प्रेम गीत ३’ लाई नै लक्षित गरेर अहिलेदेखि लागू गरिएको बताउँदै आएका छन्।

फिल्म प्रचार प्रसारको क्रममा भारतका विभिन्न शहर भ्रमण गरिरहेको निर्देशक तथा कलाकारको टोली नेपाल आएर बाँकी भ्रमणको लागि फेरि भारत फर्किएको छ।

छोटो नेपाल बसाइका क्रममा भएका थोरै मिडिया अन्तरक्रियामा सन्तोष र प्रदीपले दिएको अभिव्यक्तिले नेपाली सिने जगतमा ठूलै तरङ्ग ल्याएको छ। नेपाल र नेपाली फिल्मको लागि ‘प्रेम गीत ३’ को योगदान मूल्याङ्कन नभएको र विकास बोर्ड अध्यक्षले स्वविवेक प्रयोग नगरेर अहितकारी निर्णय गरेको भन्दै भुवन केसीको राजीनामा माग्नुले सबैभन्दा ठूलो तरङ्ग ल्याएको थियो।

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘प्रेम गीत ३’ को हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति दिएका थिए। जसको चर्को आलोचना पनि भइरहेको छ।

सामाजिक सञ्जाल यतिवेला ‘प्रेम गीत ३’ ले भरिएको छ। निर्माता तथा निर्देशक सेनले आफूहरू एकातिर र सिंगो उद्योग अर्कोतिर रहेको टिप्पणी बताएका छन्। ‘प्रेम गीत ३’ ले नेपाली फिल्मको बजार बिस्तार गरेको कुरा सबैले स्विकारे पनि हिन्दी डबको प्रसंगलाई लिएर भने फिल्मकर्मीहरू दुई खेमामा बाँडिएको देखिएको छ।

छविराज ओझा, प्रदिप कुमार उदय लगायतका निर्माताले खुलेर सेनको समर्थन गरेका छन्। मंगलबार विहान अभिनेत्री करिश्मा मानन्धरले सेनको यो कदमलाई स्वागत गर्दै बोर्ड आवश्यक सहयोग गर्नुपर्ने बताएकी छन् भने मंगलबार मात्रै कलाकार तथा निर्माता दीपकराज गिरीले ‘प्रेम गीत ३’ ले नेपाली बजारलाई बिस्तारित गरेको र यसका लागि सम्पूर्ण टिम बधाईको पात्र रहेको तर, अधिकार माग्नेले पनि मिल्ने सम्म माग्नुपर्ने र दिनेले पनि मिलेसम्म सहयोग गर्नुपर्ने बताएका थिए। 

त्यसपछि सेनले अभिनेता सरोज खनालको एउटा भिडियो सेयर गर्दै आफ्नो फिल्ममा नलिएका कारण मनपरी अभिव्यक्ति दिएको आरोप लगाएका थिए। उक्त भिडियोमा खनालले प्रेम गीतको छायांकनका बेलामा सेनले नै प्रदीपले अभिनय गर्न सक्नेमा आशंका गरेको र आफ्नो पहलमा प्रदीपलाई विश्वास गरेको जिकिर गरेका थिए। साथै भुवनको राजीनामा मागेको प्रसंगमा आजकलका कलाकार विषय वस्तु त्यसको असरलाई ध्यान नदिइ आक्रोशमा आउने गरेको उनको भनाइ थियो। 

त्यसको तीन घण्टा पछि गिरीले फेरि स्टाटस लेख्दै सेनलाई ‘गाली गरेरै फिल्म चलाउने हो?’ भनेर प्रश्न गरेका थिए। ‘प्रेम गीत ३’ को विवादका कारण फिल्म उद्योगलाई नै नकरात्मक असर पर्ने कुराको जिकिर गर्दै उनले लेखेका थिए, ‘आफ्ना  मान्छे लगाएर सामान्य दर्शकलाई पनि  उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर, सबैलाई सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने? अनि आफू मात्रै राज गर्ने हो? घर नै नरहे कहाँ बस्छौ साथी? जे जे गर्यौ महान काम गर्यौ, तर  हिन्दी भाषाकोमा नियम अनुसार कर तिर‘ बरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा एक्स्ट्रा छुट माग  सक्किगो त।’

झण्डै ५० देशमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म सबै देशमा हिन्दी र नेपाली दुवै भाषामा प्रदर्शन हुँदै छ। विश्व भरीको नेपाली भाषा र नेपाल भित्रको हिन्दी र नेपाली दुवै भाषाको अधिकार आफूहरूसँगै रहेकाले यसको हिन्दी डबलाई पनि नेपाली फिल्म सरह मान्यता दिनुपर्ने निर्माण टोलीको माग छ। 

नेपाललाई विदेशमा चिनाएको, पर्यटकीय ठाउँको प्रचार गरेको, युरोपभन्दा राम्रो विकल्प नेपाल हुन सक्छ भनेर प्रचार त्यो गरेबापत सम्मान गर्नुको सट्टा विदेशी फिल्म भनेर १५ प्रतिशत कर लगाएकोमा निर्माण टोली असन्तुष्ट छ।  

आफूहरूका लागि १५ प्रतिशत कर ठूलाे कुरा नरहेको तर चुप बस्दा विदेशी फिल्मको ट्याग लाग्ने भएकाले बोल्नुपरेको अभिनेता खड्काले बताएका छन्। एक टेलिभिजन अन्तरवार्तामा उनले भनेका छन्, ‘मौन रहेपछि हो भन्ने अर्थ लाग्छ, हिन्दी फिल्मले सरह कर नै तिरिदिएपछि त हामीले यो हिन्दी फिल्म नै हो भनेर स्विकारेको हुने भयो।’

भाषाले मात्र कुनै पनि सिनेमा स्वदेशी या विदेशी भनेर निर्धारण नहुने भाषाविद् शरच्चन्द्र वस्ती बताउँछन्। उनी भन्छन्, ‘सिनेमा भनेको जसले बनाउँदै हुनुहुन्छ उहाँको भावना हो। उहाँले एकभन्दा बढी भाषामा सिनेमा बनाउन चाहनुहुन्छ भने त्यसमा आपत्ती जनाउनुपर्ने कुरा केही छैन। हिन्दी भाषालाई मात्रै नहेरौँ, नेपाली र अंग्रेजीमा कसैले चाह्यो भने, नेपाली र स्पेनिस, नेपाली र इटालियन, नेपाली र फ्रेन्च अथवा एकै पटक चार पाँच वटा भाषामा नेपाली फिल्म डब भयो भने नेपाली कला अझै धेरै मान्छेसम्म पुग्ने भयो।’

सिनेमामा रहने निर्देशन, अभिनय, छायांकन लगायतका कलाका अन्य पक्षभन्दा भाषा अगाडी नहुने र भाषा भनेको धेरै जनासम्म पुग्नको लागि एउटा माध्यम मात्र रहेको उनको भनाइ छ। तर, धेरै भाषामा डब भएर धेरै जनासम्म पुगिरहँदा विश्वले एउटा राम्रा सिनेमा हेरोस् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछन्। 

विकास बोर्डको सल्लाहकार समlतिका सदस्य विधान कार्की भने फिल्ममा कर लाग्नुको कारण भाषा नभएर यसको डबिङ प्रक्रिया रहेको बताउँछन्। उनी भन्छन्, ‘भाषाका कारण पनि होइन, विदेशी फिल्म भनेको पनि होइन, जुन प्रक्रियाबाट फिल्म आयो त्यसले गर्दा विदेशी फिल्मले सरह कर तिर्नुपर्ने भएको हो। अहिले सबै मिलिसक्यो सबैकुरा स्मुद छ। नेपाली र हिन्दी दुवै भाषामा फिल्म प्रदर्शनमा आउँछ।’ तर, समयमा आवश्यक कागजी प्रक्रिया गरेको भए फिल्मलाई कर छुट गर्न सकिने सम्भावना रहेको पनि उनी जिकिर गर्छन्। 

आवश्यक कागजात नपुगेको र प्रक्रिया नमिलेको भए समयमा निर्माता संघले आफूहरूलाई सुझाव दिनुपर्ने निर्माण टोलीको भनाइ छ। फिल्म हिन्दी डबमा पनि आउँदैछ भन्ने थाहा भएपछि यो यो कागज पुर्याएर आउनुपर्छ भनेर संघले नभनेको निर्माता सेन बताउँछन्। भने, संघका अध्यक्ष खड्को भनाइ पनि त्यस्तै छ। फिल्म यसरी प्रदर्शन गर्न चाहेको हो भने के के आवश्यक पर्छ भनेर निर्माण टोलीले संघसँग सल्लाह नगरेको अध्यक्ष खड्काको भनाइ छ। 

नेपाली फिल्म उद्योगले वर्षौदेखि देखेको सपना ‘प्रेम गीत ३’ ले साकार गर्दै छ। जुन सिंगो उद्योगको लागि सफलता हो। ‘प्रेम गीत ३’ ले नेपाली फिल्म उद्योगको बजार फराकिलो मात्रै बनाएको छैन फिल्म छायांकनको लागि नेपाल उत्कृष्ट गन्तव्य हुनसक्छ भनेर प्रचार पनि गरेको छ। यसले फिल्म उद्योगलाई मात्र नभएर देशलाई नै फाइदा हुनेछ। 

एउटा इतिहास बनाइसकेको र धेरै सम्भावना बोकेको फिल्म प्रदर्शनको मुखमा आएर यसरी विवादमा तानिनु पनि उद्योगकै लागि हानिकारक हो। फिल्मका निर्माण टोलीले सम्बन्धित संघ र व्यक्तिलाई लगाएको आरोप यदि सत्य होइन भने(जुन सबैले नकारेका पनि छन्) सबै विवाद अहिलेसम्म अभ्यास नभएको काम पहिलो पटक अभ्यासमा आउन लाग्दा देखिने सामान्य खटपटका कारण उब्जिएको हाे। जसलाई निर्माण टोली, सबै निर्माता, संघ र बोर्डले मनन गरेर समयमा आवश्यक कदम चाल्नु पर्ने  देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.