|

सर्लाही : सर्लाहीको परवानिपुर देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको एउटा म्याजिक गाडी मंगलबार दिउँसो फूलजोर खोलामा आएको बाढीले बगाएको छ।​

डिसहोमका कर्मचारी मर्मतको काम गर्दै हिँडिरहेका बेला लालबन्दी नगरपालिका १५ परवानीपुर देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले उनीहरु सवार बा १९ च ९६६० नम्बरको म्याजिक बगाएको हो।

माथि चुरे डाँडातिर ठूलो पानी पर्नासाथ खहरे खोलामा दिउँसो ३ बजेतिर एक्कासी बाढी आएको थियो।

डिसहोमको म्याजिक झण्डै दुईसय मिटर जति बगाएर घारिबथान र देउरालीका मानिसले शव जलाउने चिताघर नजिकै पुर्‍याएको घारिबथानका स्थानीय चन्द्र कार्कीले बताए। खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका कार्कीले बताए।

लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने सो स्थानमा पुल नहुँदा स्थानीय खोला बाढीमा हेलिएरै वारपार गर्न बाध्य छन्।

अरु बेला पानी नै नहुने भएपनि बर्खाको बेला त्यहाँ पानी पर्नासाथ ठूलो बाढी आउने गरेको छ। सर्वसाधारणले जसोतसो खोला तरेपनि सवारी साधन वारपार गराउन भने समस्या हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.