|

नेपाली कलाको मन्दिर, कलाकारहरूको महत्वपूर्ण तीर्थस्थल अर्थात् नेपाल कला परिषद, बबरमहल जानु थियो। अचेल यात्राअघि अलि गहिरिएर सोच्न खोज्छु। यात्रा गर्नुको अर्थ हो, मूलत: डिजल, पेट्रोलको खपत गर्नु।

अहिले खनिज तेलको मूल्य अकाशिएको छ, सँगसँगै चुलिएको छ वस्तु तथा सेवाहरूको बजार भाउ अनि ओरालो लाग्दो छ मध्यम र निम्न-मध्यमवर्गको जीवनस्तर।

बजार भाउ नअक्कासियोस् पनि किन? आखिर खनिज तेल नै त हो नेपालको मात्र नभइ विश्वकै अर्थतन्त्र संचालन गर्ने मुख्य इन्धन।

नेपालमा मुदास्फितिले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणलाई पछारिदिएको छ भनिँदैछ। हामीले झेलिरहेको मुद्रास्फिति (८ प्रतिशत) ६ वर्षकै सबैभन्दा उच्च हो। यसको अर्थ हो नेपाली रूपियाँको क्रयशक्ति झनै घटेको छ। भनौँ न, पहिले १००० रूपियाँमा जति वस्तु तथा सेवा प्राप्त गर्न सकिन्थ्यो, अहिले त्यहि परिमाणमा प्राप्त गर्न सकिँदैन।

एउटा बौद्धिक श्रमिकको गार्हस्थ अर्थतन्त्र यस्तो विषम परिस्थितिबाट प्रभावित नहुने कुरै भएन।

त्यसो त बौद्धिक श्रमलाई नेपाली समाज काम नै ठान्दैन। हो पनि। गफको खेती, विचारको खेतीले कसको पेट भरिएको छ र?

त्यसैले त नेपाली लोक अक्सर गाउँछ: पढी गुनी के छ काम, हलो जोते मामै माम।

घोक्रो सुक्ने गरी गाएर पनि के गर्नु र? देशभरिका बाँझा खेतबारीहरूले लोक मर्माहत हुने गरी व्यंग्य गरिरहेकै छन्। यसैबीच इण्डियाले चामल, गहुँ लगायतका खाद्यवस्तुहरूको निर्यातमा कडाइ गर्दै लगेको छ। गरीखानेहरूलाई यसको असर पर्ने नै छ, ठगीखानेहरू र सरकारलाई त के नै फरक पर्ला र?      

बौद्धिक शोषणका कुरा गर्दा करिब डेढ महिना अघि गरिएको एक सुप्रसिद्ध वन्यजन्तुविदसँगको संवादको सम्झना भयो। उनको गुनासो थियो, एउटा ठुलो संचारगृहका पत्रकारले मसँग पटकपटक संवाद गरे। मुख्यत: ती संवादका आधारमा संचार सामग्री निर्माण गरेर राम्रै आम्दानी गरे होलान्। पारिश्रमिकको त कुरै छाडौँ, क्रेडिट पनि दिएनन् उनले मलाई। 

रत्नपार्क आइपुग्दा काला बादलले गर्दा शहर अँधेरियो, दिउँसै रात पर्ला जस्तो भयो। मेघाच्छन्न आकाशमुनि टुँडिखेल वरिपरिका रूखहरू झनै सुन्दर देखिए। मान्छेको कलाकारिता हेर्न हिँडेको मान्छे प्रकृतिको कलाकारिता देखेर दङ्ग नपर्ने कुरै भएन। क्यामराको रिल नसिद्धियुञ्जेल तस्वीरहरू लिन दुइपांग्रेलाई छेउ लगाइयो।

लाज मानेर सुनिरह्यो अकिञ्चन। क्रेडिट दिन त समस्या थिएन तर खल्ती त उसको पनि रित्तै थियो!

हुन पनि नेपालका ज्यादै कम टिभी/ युट्युब च्यानलहरूले मात्र संवादका लागि बोलाइएका अतिथिहरूलाई उनीहरूको समय र विचारका लागि केही पारिश्रमिक दिने गरेका छन्।

सबैले आर्थिक क्षमताले नभ्याएर त्यसो गरेका पक्कै होइनन्। बौद्धिकहरूलाई सित्तैमा कज्याउन पाउँदा मालिकहरूलाई वर्णनातीत आनन्दानुभूति हुन्छ सायद। 

परजीवीहरूको कमी छैन नेपालको बौद्धिक उद्योगमा। नेपाली समाजका लागि बौद्धिकहरू दुहुना गाइ हुन्। रगत तर्तरी चुहिँदासम्म गाइको थुन निथार्ने, दुध चुहिन छाडेपछि छु मतलब?

बौद्धिक श्रमको कुरा गर्दा प्रकाशित लेखहरूको पारिश्रमिक पाइने पनि कुनै निश्चितता हुँदोरहेनछ, करिब २ दशकपछि बल्ल बुझिँदैछ गाँठी कुरो। यो ढिलो बुझ्ने रोग त शत्रुलाई पनि नलागोस्। साह्रै दु:ख दिन्छ यसले।

एक अग्रणी संचारगृहसँगको अनुभव यस्तै रह्यो। अह्राइएका/खटाइएका 'लेखकहरू' हुँदा रहेछन् उसका बिट रिपोर्टर (तोकिएको क्षेत्र समेट्ने पत्रकार) जस्तै। प्रकाशन गृहका हर्ताकर्ताले अह्राएको, उसको स्वार्थ सिद्ध हुने काम नगरेर फगत् लोकहितका लागि लेख्दा हुन् त ती? लेखकहरू हुन् कि चारण, भाटहरू हुन् ती?

स्पष्ट के छ भने खास गरी ठुलाठुला, नफामा चलिरहेका संचारगृहहरूका ठुलाठुला स्वार्थहरू हुन्छन्, तिनलाई भरथेग गरिरहेका स्वार्थ समूहहरूका स्वार्थ सर्वोपरि हुन्छन्। त्यसैले तिनीहरू कहिल्यै पनि साँचो अर्थमा निष्पक्ष हुन सक्दैनन्।

नागरिक पत्रकारिता हो अलि निष्पक्ष हुन सक्ने भनेको, संस्थापनविरोधी हुन सक्ने भनेको तर त्यसका लागि त लोक शुल्क तिर्न तयार हुनुपर्‍यो,  सेवाग्राहीहरूको संख्या लाखौँमा हुनुपर्यो। नेपालमा कम्तीमा पनि अहिले त त्यस्तो अवस्था देखिँदैन।

छिमेकमा पत्रकारिताको अवस्था झन दयालाग्दो छ। नरेन्द्र मोदी सरकारको संरक्षणप्राप्त गोदी मिडियाको बोलाबाला छ त्यहाँ। संस्थापनविरोधी एनडीटिवी, द वायर आदि सरकारको कोपभाजनमा परेका छन्। 

एनडीटिवी त भारतीय जनता पार्टी नजिक मानिएका खर्बपति व्यवसायी गौतम अडानीको पोल्टामा जानै लाग्यो भन्ने किसिमका समाचारहरू आइरहेका छन्।    

नेपालकै कुरा गर्दा अर्को 'ठुल्दाइ' प्रकाशनको भगिनी प्रकाशन पनि ‘आफ्ना लागि उपयुक्त हुने’, आफ्नो दृष्टिकोणको पक्षपोषण हुने किसिमका लेखहरूमात्र छाप्दोरहेछ, संयोगवश विद्युतीय पत्राचारका क्रममा चाल पाइयो। विचार पृष्ठको संपादकीयले मात्र प्रकाशनगृहको दृष्टिकोण बोल्नुपर्ने होइन र? के स्तम्भकारहरूले पनि संचारगृहको दृष्टिकोणमा हो मा हो मिलाउनुपर्ने हो?

यदि त्यसो हो भने संचारगृहको अन्धकारमय कोठा अर्थात् डार्क रूममै अन्धकासुरको जन्म हुनेछ जसले लोकतन्त्र र मानवाधिकारको अन्त्य गर्नेछ। द वशिङ्गटन पोष्टको ट्यागलाइन नै छ: डिमाक्रसी डाइज इन डाकनेश।

अर्थात् अन्धकारमा लोकतन्त्र मर्छ।  

यस्तै, विषयहरूमा घोत्लिँदा समय बितेको पत्तै भएन। कला परिषद् जाऊँ कि नजाऊँ भइरहेको बेला मार्टिन लुथर किङ जुनियरलाई सम्झेँ: इफ यु कान्ट फ्लाइ द्यन रन, इफ यु कान्ट रन द्यन वक, इफ यु कान्ट वक द्यन क्रल, बट व्हटएभ यु डु यु ह्याव टु किप मुविङ फवर्ड।

अर्थ: उड्न सक्तैनौ भने दौड, दौडन सक्तैनौ भने हिँड, हिँडन सक्तैनौ भने घिस्रिऊ। जे गरेर भए पनि अघि बढिरहू।

उनले सम्झाएपछि नहिँडी सुख? बालाजुबाट सोह्रखुट्टेसम्म त मौसम ठिकै थियो। त्यसपछि आकाशमा काला बादल मडारिन थाले। अनि त के थियो र? दुइ पाङ्ग्रे, चार पाङ्ग्रे, तिनपाङ्ग्रे लगायतका सवारी साधनहरू बेहतास कुद्न थालिहाले।

रत्नपार्क आइपुग्दा काला बादलले गर्दा शहर अँधेरियो, दिउँसै रात पर्ला जस्तो भयो। मेघाच्छन्न आकाशमुनि टुँडिखेल वरिपरिका रूखहरू झनै सुन्दर देखिए। मान्छेको कलाकारिता हेर्न हिँडेको मान्छे प्रकृतिको कलाकारिता देखेर दङ्ग नपर्ने कुरै भएन। क्यामराको रिल नसिद्धियुञ्जेल तस्वीरहरू लिन दुइपांग्रेलाई छेउ लगाइयो।

तर एकैछिनमा ट्रफिक प्रहरी जवान आइपुगे। लौ पर्यो बित्त्याँस, चर्कै शुल्क तिर्नुपर्ने पो हो कि भन्ने डर लागेको थियो, उनले धेरै नअल्मलिनुस्, अघि बढ्नुस भने।

आज्ञा शिरोपर गर्दै कुदियो कला परिषदतिर। अकिञ्चन कुद्नुको अर्थ हो, रिक्साभन्दा थोरै बढी गतिमा अर्थात् प्रति घण्टा करिब २५/३० को गतिमा बाइक चलाउनु।

परिषद प्राङ्गणमा बाइक राखेपछि दोमन भयो: मान्छेको कला हेरूँ कि प्रकृतिको छटा?

पहिले पानी पर्नु ठिक अघिको शहरका छटाहरूको आनन्द लिने निर्णय गरियो।  

यसैबीच एउटा स्कुटी सडक छेवैमा टक्क रोकियो। त्यसमा सवार चालकको प्रश्न तेर्सियो: फलानो पार्टी प्यालेस कहाँनेरि  छ?

नेपाल कला परिषदको छेवैमा, अकिञ्चन उत्तर दिँदो भयो। 

चालकले परिषद भवन जाने बाटो नै खोजेकी रहिछन्। आमजनलाई कला परिषद भन्दा पार्टी प्यालेसकै अवस्थिति थाहा हुने संभावना भएकोले त्यसरी प्रश्न तेर्स्याएकी रहिछन्।

पार्टी प्यालेसको छेवैमा छ परिषद भवन भनी प्यालेसको बाटो देखाइदिएपछि उनी बाटो लागिन्।

काला बादलमा चाँदीका घेरा खोज्दाखोज्दा थाकिसकेपछि अकिञ्चन परिषदतिर लाग्यो। 

यस्तै छ साहित्य, कला, सङ्गीतको अवस्था। साहित्य, कला, सङ्गीतका साधकहरूसँगको औपचारिक/अनौपचारिक संवादका क्रममा यी विधाहरूप्रति सरकारको सौतेनी व्यवहारप्रतिको चित्तदुखाइ प्रकट भइ नै रहन्छ।

त्यहाँ कलाकार एस के द्योलाको सत्यम् शिवम् सुन्दरम् शिर्षकको कला प्रदर्शनी चलिरहेको थियो। त्यतैउतै केहि काल बरालिँदा उनै प्रश्नकर्ता देखिइन् कलापारखीहरूको प्रतिक्रिया लिइरहेकी, परिषदमै आयोजित अन्य कुनै कला प्रवचनमा सहभागी भइरहेकी। कुनै संचारगृहसँग आबद्ध संवाददाता थिइन् शायद उनी।      

परिषद भवनमा ‘भिडका साथ’ चलिरहेका ती कला प्रदर्शनीहरू बारे कुनै बेला चर्चा गरूँला।

अहिले चाहिँ मरूस्थलमा ‘ग्राउण्डेड’ एउटा डुङ्गामाथि केहि शब्द खर्चन्छु। 

नेपाल कला परिषद, बबरमहलको पश्चिमोत्तर कुनामा एउटा डुङ्गा खै कति वर्ष देखि हो ‘ग्राउण्डेड’ छ । नजिक गएर हेर्दा त्यसको गर्भमा नानाथरी विसर्जित वस्तुहरू देख्न सकिन्छ। नेपाली कलाप्रति सरकारको उदासिनता झल्काउने एउटा सशक्त प्रतिष्ठापन कलाकृति हो उक्त डुङ्गा।

प्रतिष्ठापन कलाको अर्को नमूना हो कमलादीस्थित साहित्य मन्दिर अर्थात् प्रज्ञा प्रतिष्ठान। त्यस भवनको अग्रभागमा ज्ञानकी अधिष्ठात्री देवी अर्थात् सरस्वती वीणा बजाइरहेकी छिन्। तर धनकी अधिष्ठात्री देवी लक्ष्मीको छनछनाछनछनको कर्णकटु आवाजबिच वीणाको झंकार सुन्ने फूर्सद सरकारलाई छैन, राज्यलाई छैन। बाँचुन्जेल साहित्यकारहरूको, विद्वानहरूको कदर हुने कुरै भएन, मरणपश्चात् केहि क्षण प्रतिष्ठानको प्राङ्गणमा स्थान पाए अहोभाग्य! अझ नेताका/मन्त्रीका गोहीका आँसु पनि चुहिए भने त मृतात्माले जन्ममरणको अन्त्यहीन जस्तै लाग्ने चक्रबाट मुक्ति नै पाउँछन् कि?

शेरको गर्जन सुनिने दरबार अर्थात् सिंहदरबार प्राङ्गणमै छ प्रतिष्ठापन कलाको अर्को अप्रतीम नमूना जुन लोकमा नेपाली गीतसङ्गीतको मन्दिर अर्थात् रेडियो नेपालका नामले सुप्रसिद्ध छ। सिंहगर्जनका बिच सङ्गीत कता हराउँछ हराउँछ। तर शेर दहाडन बिर्सेको/छोडेको बेला त्यहाँबाट कहिलेकाहिँ मुटु हल्लाउने गरी शोकधुन बज्ने गर्छ। त्यसो त सरकारी स्वामित्वमा रहेको उक्त संचारगृहले देशविदेशका खबर पनि ‘फुक्ने’ गर्छ। तर जेठ १९, २०५८ को छेक पारेर त्यहाँबाट केहि काल अनवरत शोकधुन मात्र बजिदिँदा, समाचार चाहिँ नबजिदिँदा नेपाली लोक संत्रस्त भएको थियो। गीतकार, सङ्गीतकार, गायकहरूको मृत्यु हुँदा रेडियो नेपाल शोकमा चुर्लुम्म डुब्ने गर्छ। ती मरणशील मनुवाहरू बाँचुन्जेल तिनीहरू कसरी बाँचिरहेका छन् भनी सोधखोज गर्ने फूर्सद रेडियो नेपाललाई पटक्कै हुँदैन।

यस्तै छ साहित्य, कला, सङ्गीतको अवस्था। साहित्य, कला, सङ्गीतका साधकहरूसँगको औपचारिक/अनौपचारिक संवादका क्रममा यी विधाहरूप्रति सरकारको सौतेनी व्यवहारप्रतिको चित्तदुखाइ प्रकट भइ नै रहन्छ।

तर स्थानीय, प्रदेश र केन्द्र सरकारहरूलाई नै खान पुगेको छैन, दिन कसरी पुगोस् त्यो पनि कला, संस्कृति, साहित्य जस्तो ‘अनुत्पादक’ क्षेत्रलाई? यस्तो अवस्थामा यी ३ विधालाई के गर्ने त ख्वामित? 

कला परिषद प्राङ्गणमा रहेको पुरानो डुङ्गामा कला, साहित्य, सङ्गीत विसर्जन गरी तिनै विधा समेट्ने एउटा बेजोडको प्रतिष्ठापन कला सिर्जना गरिदिने कि?

‘राष्ट्रसेवकहरू’लाई तलब खुवाउने जस्तो पवित्रतम कार्य गर्न समेत हम्मे परिरहेको बेला यस्तो भूतोSन भविष्यति कलाकृति सिर्जनार्थ बजेट जुटाउन सकिएला त हजुर?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.